काभ्रे । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यमिक विद्यालय विश्वव्यापीरुपमा फैलिएको कोरोनाको महामारी पछिका दिनहरुमा शैक्षिक क्षेत्रदेखि लिएर विद्यालयका विविध गतिविधिहरु मार्फत दिनप्रतिदिन प्रगति उन्मुख भइरहेको छ ।

जिल्लाका सामुदायिक विद्यालयहरुमध्ये प्राविधिक धार अन्तर्गत पशुविज्ञान अध्यापन गरिने एक मात्र विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्म ११ सय विद्यार्थीहरु रहेका छन् । जिल्लाबाट गत बर्ष छनौट भएका दुईवटा विद्यालयमध्य यस विद्यालयमा “पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन, मौरीपालन, कुखुरा पालन व्यवसायसमेत सञ्चालन गरिएको छ । यसरी नै जनक उद्योग कोषमार्फत विद्यार्थीहरूको समूह परिचालन गरी विद्यालयमा व्यवसायिक रुपमा तरकारी,फलफूल, धान, मकै खेती समेत गरिएको छ ।

यस विद्यालयले कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई “एक विद्यार्थी एक बाख्रापालन कार्यक्रम”अन्तर्गत गतसाता तीस वटा बाख्राका पाठाहरु समेत वितरण गरेको छ। यसरी विद्यालयले शिक्षण सिकाइ क्रियाकलापको अतिरिक्त विद्यार्थीहरुलाई स्वरोजगार बन्न उत्प्रेरित गरेको विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले बताए ।

नेपाल सरकारबाट नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत छनौट भइसकेको यस विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या एक सय पचास रहेको छ भने कक्षा ११ र १२ मा होटेल व्यवस्थापन, कम्प्युटर विज्ञान, गणित विषय अध्यापन गर्दै आएको छ। आगामी शैक्षिक सत्रबाट यस विद्यालयमा विज्ञान संकाय समेत थप गरिने योजना रहेको विद्यालयका बिज्ञान शिक्षक युवराज भट्टराईले जानकारी दिए ।

विद्यालयमा नेपाली सेनाले सिनियर डिभिजन अन्तर्गत गतवर्षदेखि छतीस जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलमा आबद्ध गराई प्रशिक्षणसमेत दिँदै आएको छ । गत वर्ष छतीस जना विद्यार्थी दीक्षित भइसकेका छन् भने यो शैक्षिक वर्षमा त्यति नै संख्यामा विद्यार्थीहरुले प्रशिक्षण प्राप्त गरिरहेका छन् ।

यस विद्यालयले गतसाता सञ्चालन भएको जिल्लास्तरीय बिज्ञान प्रदर्शनीमा नमोबुद्ध नगरपालिकाको प्रतिनिधित्व गरी प्रथम स्थान हासिल गर्नसमेत सफल भएको थियो। आगामी हप्ता सञ्चालन हुने सञ्चालन हुने प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा यस विद्यालयले काभ्रे जिल्लाको प्रतिनिधित्व गर्दैछ ।


तपाईको प्रतिक्रिया