सहकारी संस्था दर्ता गर्न सजिलै हुन्छ तर सञ्चालन कसरी गर्ने र तौर तरीकाका बिषयमा अन्यौल भएका कारण केहि सहकारीमा निकै टाउको दुखाई भइरहेको देखिन्छ । सामान्य घरको व्यवस्थापनमा समेत निकै मिहेनत गर्नुपर्ने हुन्छ भने सहकारीमा आवद्ध शेयर सदस्यहरुको आकांक्षा पुरागर्न निकै कसरत गर्नुपर्ने देखिन्छ ।

त्यस माथि पनि नमूनाको रुपमा प्रतिष्पर्धात्मक रुपमा सहकारी संस्था सञ्चालन गर्नु भनेको चूनौतीको पहाडको सामाना गर्नु जतिकै हो । सहकारी राम्रोसँग सञ्चालन गर्नका लागि विविध आधार तथा पक्षहरुसँग तालमेल मिलाएर अगाडी बढ्दा समृद्ध सहकारी निर्माण गर्न सजिलो हुन्छ ।

१. कुशल नेतृत्व
सहकारी सञ्चालनका लागि संस्थामा भएका नेतृत्वका ठूलो भूमिका हुन्छ । सहकारीमा नेतृत्वले गरेका कार्यहरुको सबै सदस्य तथा सम्वन्धित निकायहरुले मुक्त कण्ठले प्रशंसा गर्नु नै कुशल नेतृत्व हो । संस्थामा भएका शेयर सदस्य तथा कार्यहरुलाई संस्थागत रुपमा विकास गर्दै लैजानु नेतृत्वको कार्य पनि हो । अधिाकंश कार्यहरु कर्मचारीको भरमा मात्र निहित रहि सम्पादनलाई निरन्तरता दिइ कार्यहरु भैरहेको पाईन्छ ।

बार्षिक हुने साधारण सभामा मात्र संस्थाका प्रगती प्रतिवेदन पढ्नका लागि नेतृत्व उपस्थित हुने परमपरा जहिले सम्म रहन्छ तवसम्म सहकारीमा कुशल नेतृत्व छ भनेर भन्न सक्ने आधार नै देखिदैन । संस्थामा भैरहेका हरेक क्रियाकलापहरुको अनुगमन गर्ने देखि भैरहेका अभ्यासहरुमा के कसरी कार्यहरु भैरहेका छन भन्ने बिषयमा नेतृत्व बढी चनाखो हुनुपर्दछ । शेयर सदस्यहरु बीच लोकप्रिय, सहकारी सम्वन्धि विचारमा योग्य, सदस्यद्वारा प्रशिक्षित, साधारण सभाद्धारा नेतृत्व स्विकृत र निर्वाचित, र सम्मानित व्यक्ति नै कुशल नेतृत्व हो ।

सहकारीमा यस्ता नेतृत्व हुँदा सदस्यहरुमा सन्तुष्टि ल्याउनुका साथै उत्पादकत्व र मुनाफमा बृद्धी हुन्छ, जव सदस्यहरुमा सहकारी संगठन आफ्नो हो भन्ने बिश्वास हुन्छ, तव सदस्यहरु नेतृत्वको कार्य प्रति उत्साहित र समर्पित हुन्छन्, नेतृत्वले सदस्यहरुवाट सहयोग, सुझाब र बिश्वास पाउनु पर्छ, संस्थामा दोहोरो संचार हुने कारण पृष्ठपोषण प्राप्त हुन गई सुधारात्मक कदम चाल्न सजिलो हुन्छ र सदस्यहरुको मनोबल उच्च हुन जान्छ । त्यसैले सहकारीमा नेतृत्व कुशल हुनु सहकारीको समृद्धी हो ।

२. नियमित बैठक सञ्चालन
सहकारी संस्था राम्रो व्यवस्थित हुनका लागि सञ्चालक समिति, अन्य समिति, उप समितिहरुको बैठक नियमित हुनु जरुरी हुन्छ । सामान्यतया विनियममा उल्लेख भए अनुसार माशिक रुपमा हुनुपर्ने बैठक नियमित हुनुपर्दछ । नियमित बैठक बसेमा महिना भर आएका वा देखा परेका संस्थाका बिभिन्न खालका समस्या समाधान गर्नका लागि आवश्यक कार्यहरु गर्न सकिन्छ ।

उत्पन्न भएका समस्यालाई ढिलो नगरी निराकारण गर्न सकियो भने शेयर सदस्यहरुको विस्वास जित्न सकिन्छ र आर्थिक, सामाजिक कार्यहरु गर्नका लागि सहजता प्राप्त हुन्छ । हाम्रा वरीपरी रहेका अधिकांश सहकारी संस्थाहरुको बैठक नियमित हुन सकिरहेको छैन । संस्थामा रहेका कर्मचारीहरुकै भरमा केहि समस्या त समाधान भएका छन् तर त्यसरी भएका समस्याहरु दीर्घकालिन रुपमा समाधान भने पक्कै होइन र सबै कुरा विधि अनुसारहुनुपर्दछ । संस्थागत विकासका सूचकहरुलाई आधार मान्ने हो भनेपनि नियमित रुपमा बैठक नभएको संस्थालाई संस्थागत विकास भएको मान्न सकिदैन ।

३. लेखा व्यवस्थापन तथा पारदर्शिता
सहकारी संस्थाहरु आर्थिक पक्षसँग जोडिएका हुन्छन् । शेयर सदस्यहरुसँग संकलित बिभिन्न शिर्षकमा जम्मा गरेको रकमलाई सहकारी संस्थाले अभिलेख राख्नुपर्ने हुन्छ । सहकारीका बिभिन्न प्रकारका खातापाताहरु हुन्छन् । राखिएका आर्थिक पक्षका बिषयहरुलाई पारदर्शी रुपमा राख्नु पनि उतिनै महत्वपूर्ण हुन्छ । प्रयेक दिनका आर्थिक क्रियाकलापलाई सोहि दिन सहकारीका नियम अनुसार ब्यवस्थापन गर्न सकिएन भने पारदर्शी रुपमा सदस्यहरुलाई हिसाव देखाउन समस्या हुन जान्छ ।

यसका लागि लेखा सुपरिवेक्षण समिति, हिसाव व्यवस्थापन गर्ने कर्मचारी तथा संस्थाका कोषाध्यक्ष, अध्यक्ष लगायत सम्पूर्ण नेतृत्व पंक्तिहरु सचेत हुनपर्दछ र अनुभवी पनि हुनुपर्दछ । सदस्यहरुले मागेका समयमा वा सरोकारवालाहरुले खोजेका समयमा सजिलै आर्थिक पक्ष देखाउन वा बुझाउन सक्नेगरी ऐना जतिकै छर्लङ पारेर लेखा राख्न सकियो भने संस्था सबैको अगाडी नमूना बन्छ ।

४. सम्पर्क तथा समन्वय
संविधानमै राज्यको नीति भित्र सहकारीको क्षेत्रलाई फराकिलो रुपमा व्यवस्था गरिएको हुँदा दिन प्रतिदिन सहकारीको क्षेत्र पनि फष्टाउँदै गइरहेको छ त्यसैले सहकारीको क्षेत्रमा काम गरिरहेका बिभिन्न सरोकारवाला निकायहरुसँग सम्पर्क र समन्वय गर्नुपर्दछ । सहकारी नियम, ऐन, नियमावली तथा बिभिन्न परिपत्रहरुका बारेमा जानकारी राख्दा सहकारीको बैठकमा तुरुन्तै लागु गर्दै अगाडी बढ्न सकिन्छ ।

राष्ट्रिय सहकारी संघ, बिषयगत केन्द्रिय संघ, जिल्ला सहकारी संघ, बिषयगत सहकारी जिल्ला संघ तथा सहकारी बिभाग तथा डिभिजन सहकारी कार्यालय तथा स्थानीय तह लगायतका स्थानमा समन्वय राख्दा सहकारी संस्थाहरुमा क्षमता विकास तथा कुनै पनि समस्याहरु नआउने र आइहालेमा पनि सजिलै समस्या समाधान गर्न सकिन्छ ।

५. क्षमता विकास (सहकारी शिक्षा)
कुनैपनि संघ÷संस्था सञ्चालन गर्नका लागि उक्त क्षेत्रको अनुभव हुनु जरुरी हुन्छ संस्थाका प्रकृति अनुसार विधि, नीति, कार्यविधि, निर्देशिका, विधान र सिद्धान्तहरु फरक फरक हुन्छन । निर्देशित सिद्धान्तका आधारमा नयाँ तौर तरीका सहित योजना बनाउनु सजिलो भने पक्कै छैन यसै बिषयलाई आत्मसात गर्दै कार्य सञ्चालन गर्न सकेमा सहकारी संस्था उत्कृष्ट हुन्छ ।

हाम्रा वरीपरी रहेका विभिन्न प्रकृतिका संस्थाहरु भन्दा सहकारी संस्था सञ्चालन गर्न केहि गाह्रो पनि पक्कै छ तर विधि प्रकृया अवलम्वन गर्दै जाँदा सजिलो पनि हुन्छ । सहकारीमा आफ्नै खालका नीति, विधि तथा कार्यहरु हुन्छन् । उपलब्ध श्रोत साधनहरुलाई उपयूक्त ढंगले सञ्चालन तथा उपयोग गर्न सक्नु भनेको संस्था भित्रको क्षमता नै हो भन्न सकिन्छ ।

सहकारी सम्वन्धि बिभिन्न गतिविधि तथा ऐन कानूनहरुका बारेमा जानकारी सहित सहकारी संस्था सञ्चालन गर्नसक्ने मानव श्रोतहरु संस्थामा हुन सकेमा सहकारी दीगो रुपमा सञ्चालनमा आउने कुरामा ढुक्क हुन सकिन्छ । त्यसैले हामीले सहकारी संस्था सञ्चालनमा संस्था भित्रको आन्तरिक क्षमता विकासमा ध्यान दिनुपर्ने हुन्छ ।

६. बचत संकलन तथा परिचालन
पैसाको बिनिमय गर्दै सहकारी संस्था चलेका देखिन्छन् । सहकारी चल्ने भनेको आर्थिक पक्षले नै हो किनभने यहाँ पैसाको नै व्यवसाय गरिन्छ । शेयर सदस्यहरुसँग बिभिन्न शीर्षकमा जम्मा गरेको पैसालाई अन्य सहकारी संस्थाको तुलनामा बचतको ब्याजदरमा केहि प्रतिशत बृद्धि गर्दै अगाडी बढ्न सकेमा सजिलै समुदायमा स्थापित हुन सकिन्छ ।

संस्थामा जम्मा गरेको पैसा सहि र उपयोगी रुपमा सञ्चालन गर्न सकेमा संस्थामा प्रतिफल पनि निकाल्न सकिन्छ र आम्दानीमा बृद्धि भई पूजीको समेत निर्माण हुने हुँदा बचतहरुलाई संस्थागत रुपमा व्यवस्थापन गर्न सकिन्छ । शेयर सदस्यहरुको समुदायमा दुःख गरी तरकारी, ध्यू, दुध र फजुल खर्च कटाई जम्मा गरेको रकम सुरक्षित रुपमा राख्नु सहकारीको दायित्व पनि हो । त्यसैले सहकारीमा भएको रकमको अधिक भन्दा अधिक रुपमा परिचालन गर्नु र सहकारीका शेयर सदस्यहरुमा विस्वास सिर्जना गरी बचत व्यवस्थापन र संकलनमा बृद्धि गराउनु पनि सहकारीको समृद्धि नै हो ।

७. नीति नियम
सहकारी संस्था राम्रो र नमूनाको रुपमा सञ्चालन गर्ने हो भने सहकारी भित्र विभिन्न खालका नीति तथा नियमहरु हुनु जरुरी हुन्छ । सहकारीमा ऋण लगानी कसरी गर्ने ? कति प्रतिशतमा गर्ने कति अवधिका लागि गर्ने भन्ने जस्ता बिषय नियमावलीमा नै व्यवस्था गर्न सकिन्छ ।

बचत तथा ऋण लगानीका आधार तयार गर्दै दीगो रुपमा संस्था व्यवस्थापन गर्नका लागि नीतहरु तथा कार्यविधिहरु निर्माण गरी लागु गर्नु नै उपयूक्त विधि हो । सहकारीमा बचत परिचालन तथा संकलन नीति, ऋण परिचालन नीति, सदस्यता सम्वन्धि नीति, वाल बचत सम्वन्धि नियमावली, साधारण सभा सञ्चालन नीति, बैठक सञ्चालन नीति, मानव शंसाधन नीति जस्ता नीति र कार्यविधि तयार गर्दै सहकारी संस्था सञ्चालन गर्नसकेमा सहकारीहरु राम्रो र नमूना हुनजान्छ ।

यसको लागि सहकारी संस्थामा नेतृत्व गर्ने नृतृत्वकर्ताहरुमा इच्छा शक्ति र लगाव चाहिन्छ । संस्था दर्ता मात्र गर्दे अन्य कार्यहरु गर्न नसकिएको अवस्थामा सहकारीको बदनाम हुन्छ र सिंगो सहकारी अभियानलाई कलंक सावित गर्ने भएकोले आजैका दिन देखि समृद्ध सहकारी निर्माणमा लाग्नुपर्ने आजको आवश्यकता पनि हो ।

(लेखक जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)


तपाईको प्रतिक्रिया