घरघरको कहानी भनेजस्तै भएको छ, बालबच्चालाई आफ्नै भान्साको खाना खुवाउने कुरा पनि । जंकफुडमा लोभिएका बालबच्चाले घरको खानामा स्वाद पाउन छाडेका छन् । त्यसैले उनीहरुलाई आफ्नै भान्सामा पाकेको दालभात खुवाउन कम्ता महाभारत हुँदैन ।

बच्चालाई फकाएर, लोभ देखाएर, डर देखाएर खाना खुवाउनुपर्ने स्थिति छ । कति बच्चा त यस्ता हुन्छन्, जसलाई मोबाइल नदेखाई खाना नै खाइदिंदैनन् । कतिलाई टेलिभिजन देखाएपछि मात्र खाना खुवाउन सकिन्छ ।

जस्तो अनु केसीको कुरा सुनौं । उनका चार वर्षका छोरा छन्, जो मोबाइलमा कार्टुन हेर्दै त्यहाँ देखाइएको खानेकुरा माग गर्न थाल्छन् । ‘कार्टुनमा देखाएको खानेकुरा ल्याइदिनु भन्दै हैरान बनाउँछन्,’ उनी भन्छिन्, ‘घरको खानेकुरा मुखमा हाल्नै मान्दैन ।’ त्यही कारण छोराको उमेर अनुसार तौल पनि नभएको उनी बताउँछिन् ।

चावहिलकी सुनिता बरालको हैरानी उस्तै छ । ६ वर्षीया छोरी घरको खाना खानै मान्दिनन् । खाना खुवाउने बेला झगडा गर्ने, रुने, कराउने गर्छिन् । ‘राम्ररी खान नखाएकै कारण उनको शरीर उमेर अनुसार बढेको छैन,’ बराल भन्छिन्, ‘६ वर्षको उमेरमा पनि तीन वर्षको जस्तै छिन् ।’

अनु र सुनिता मात्र होइन, यो अधिकांश आमाबुवाको समस्या हो । बच्चाहरु घरको पोषिलो र ताजा खान मान्दैनन् । सकेसम्म बजारका खानेकुरा खोज्छन् । घरको खाना खुवाउनका लागि मोबाइल खेल्न दिनुपर्ने, टीभी हेर्न दिनुपर्ने सर्त राख्छन् । यही कारण उनीहरुलाई जरुरी पोषकतत्व पुगेको छैन ।

पोषकतत्वकै अभावले गर्दा अहिलेका बालबच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर छ । उनीहरुलाई सानोतिनो रोगले सजिलै गाँज्ने गर्छ ।

तर सबै बालबच्चा यस्तै हुन्छन् त ?
पक्कै हुँदैनन् । बालबच्चालाई त हुर्काउने क्रममा आमाबुवाले नै यस्तो खराब खानपानको लतमा पार्ने गर्छन् । बच्चालाई खुसी बनाउन चकलेट खुवाउने, चिजबल खुवाउने गर्दागर्दै उनीहरु त्यसैमा स्वाद मान्न थाल्छन् । यदि कलिलो उमेरदेखि नै उनीहरुलाई स्वस्थ खानपानमा अभ्यस्त गराउने हो भने जंकफुडको लत लाग्ने कुनै डर हुँदैन । यसका लागि एउटै सर्त हो, आमाबुवाले उनीहरुको खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।

गर्भदेखि नै खानपान योजना
गर्भावस्था र जन्मपछि पहिलो हजार दिन नवजात शिशुको प्रारम्भिक जीवनको सबैभन्दा महत्त्वपूर्ण चरण हुन् । आमाको पेटमा शिशु आएदेखि नै शारीरिक र मानसिक विकासका लागि डाइट प्लान गर्नुपर्छ ।

आमाले के कस्ता आहार खाइरहेकी छिन् ? भन्ने कुरामा नै बच्चाको शारीरिक र मानसिक विकास निर्भर हुन्छ । त्यसकारण बच्चालाई स्वस्थ बनाउन आमाले स्वस्थ आहार खानु जरुरी छ । आमाले राम्रो खानपान गरेको छैन भने प्रि-म्याच्योर्ड डेलिभरी हुनसक्छ । पछि गएर ६ महिनाको शिशुमा आइरन, प्रोटिन, माइक्रोन्युट्रिएन्टको कमी र एनेमिया हुने भय हुन्छ ।

बच्चाको खानपानमा हेरचाह नहुँदा शरीरको राम्रोसँग विकास हुँदैन । सिकाउने क्षमताको कमी, विद्यालयमा खराब प्रदर्शन, संक्रमणको उच्च जोखिम र रोगजस्ता अन्य गम्भीर समस्या हुन सक्छन् ।

जन्मिसकेपछिको खानपान
बालबालिकाको लागि पोषणले भरिपूर्ण भोजन अनिवार्य खुवाउनुपर्छ । ६ महिनासम्म आमाको दूध बाहेक केही दिनु नपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । सकेसम्म गाईको दूध एक वर्षसम्म नदिनु भन्छन् । ६ महिनापछि अन्य खानेकुरा दिन सकिन्छ । आमाको दूधसँगै एक पटक अरु खानेकुरा, जस्तै केरा मिचेर दिन सकिन्छ ।

लिटोजस्ता घरको खानेकुरा दिनुपर्छ । आठ महिनापछिका शिशुलाई काजु बदाम जस्ता ड्राई फ्रुट्सहरु भुटेर बोक्रा निकालेर पिनेर लिटो वा ओट्समा मिसाएर दिन सकिन्छ ।

एक वर्षसम्मको शिशुलाई ७५ प्रतिशत दूध र २५ प्रतिशत अन्य अन्न दिन सकिन्छ । ६ महिनापछिका बालबालिकामा पाचनशक्ति विकास भइसकेको नहुने भएकाले ड्राई फ्रुट्स दिनु हुँदैन । ड्राई फ्रुट्स कि बाक्लो वा पातलो गरेर दिने गरिन्छ । पातलो गर्दा डाइटपूर्ण मिल्दैन । र, बाक्लो हुँदा पचाउन नसक्ने र कब्जियत हुनसक्छ ।

९ महिनाको शिशुलाई खानेकुरा चिनाउँदै लानुपर्छ
बच्चालाई ९ महिना पुगेपछि पोषकतत्व भएका सबै खानेकुरा चिनाउँदै लैजानुपर्छ । त्यो बेलामा चिनाएन भने अलि पछि केही तरकारी दिंदा खान मन नगर्न हुँदा सबै खानेकुरा पहिला नै चिनाउनुपर्छ ।

बच्चाले खाँदैन भनेर आमाले खान दिन हुँदैन उसले पनि खान छाडिदिन्छ । त्यसैले सकेसम्म बच्चालाई खानेकुरा चिनाउँदै लाँदा उसलाई घरको खानेकुरामा बढी रुचि हुन जान्छ ।

डेढ वर्षको बच्चालाई दिनको पाँच पटक खानेकुरा दिन सकिन्छ । ब्रेकफास्ट, लन्च र डिनर हेभी खालको दिन सकिन्छ । त्यसबीचमा दुईपटक खाजाको रुपमा हल्का खालको फलफूल दिन सकिन्छ ।

घरको खानेकुरा प्राथमिकतामा
बच्चाले नयाँ खानेकुरा ‘नाइँ’ भन्ने बित्तिकै खान दिन छाड्नु हुँदैन । बिहान बच्चा दूध दिने, साढे दुई घण्टापछि लिटो वा ओट्स दिन सकिन्छ ।

ओट्समा दूधसँगै काजु, बदाम र ओखर पनि हालेर बानाउन सकिन्छ । आधा स्याउ वा केरा मिसाएर दिन सकिन्छ । त्यसपछि घरको खानामा जाउलोमा दाल वा भात मात्र नभई पाँचवटा खानेकुराको समूह कार्बोहाइड्रेटको लागि भात, प्रोटिनको लागि दाल र भिटामिन र खनिजको लागि तरकारी समावेश गर्न सकिन्छ ।

आलु आधा, मटरकोसा र गाँजर पनि मिसाएर तरकारीको परिकार बनाउन सकिन्छ । त्यस्तै, जाउलो खाँदा पनि बच्चाले पाउने सबै तत्वहरु ९ महिनामा पाउन सक्छन् । बेलुका दाल र भात वा सेवाइ वा ओट्स दिन सकिन्छ ।

जति बालबालिका बढ्दै जान्छन् उनीहरुको पेटको आकार पनि बढ्ने हुँदा खानेकुरा पनि बढाउँदै लानुपर्छ । खाजामा स्याउ, केराजस्ता फलफूलहरु खान सक्ने हिसाबले टुक्रा बनाएर दिन सकिन्छ ।

जंकफुड खान दिने कि नदिने ?
जंकफुड भनेको हामीलाई नै एक चिज देखेपछि अर्को पटक पनि खान मन लाग्छ । अभिभावकहरुले नै यसबाट सचेत हुनु जरुरी छ । सकेसम्म ल्याउँदै नल्याउने गर्नुपर्छ ।

बच्चाको अगाडि आफू पनि नखाने र खान हुँदैन भनेर सिकाउनुपर्छ । हामीले जंक खानेकुरा एकपटक चिनायौं भनेर अर्को पटक जिद्दी गरेर भए पनि खान खोज्ने हुँदा यसमा विचार पुर्‍याउनुपर्ने हुन्छ ।

बच्चाले खान खोजेमा के गर्ने ?
बालबालिकाले खान खोजेमा सीमित मात्रामा दिने र खान हुँदैन भनेर उसलाई सम्झाउनुपर्छ । दुई वर्षअघि त दिनु नै हुँदैन । दुई वर्षपछि हामी जस्तै खान सक्ने पाचनप्रक्रिया हुँदै आउँछ ।

त्यसकारण उनीहरुलाई जंकफुडलाई नाइँ भन्न गाह्रो हुन्छ । त्यसैले बालबच्चालाई सीमित मात्रामा मात्रै यस्ता खानेकुरा दिनुपर्छ ।

जंकफुडबाट टाढा राख्न के गर्ने ?
हामीले घरमा नै जंकफुड जस्तै आकर्षक देखिने खानेकुरा बनाएर दिन सकिन्छ । बच्चाहरु रचनात्मक कुराहरुमा बढी आकर्षित हुन्छन् । त्यसैले सिर्जनात्मक तरिकाले घरमै क्यान्डी, मिठाइ बनाएर दिन सक्छौं । यसले उनीहरुको ध्यान जंकफुडबाट हट्न सक्छ ।

‘परिवारसँग मिलेर खाने’ सिद्धान्त लागू गर्दा बालबालिकामा सही खानेकुरा छनोट गर्ने बानी बसाल्छ र उनीहरूले विभिन्न प्रकारका खानेकुरा खान्छन् ।

जंकफुड बढी खाँदा देखिने समस्या
लगातार जंक खानेकुरा खाँदा त्यसमा हुने बढी मात्रामा अजिनोमोटो, चिनी, प्रशोधित गरिएको तेल, तारेको तेलहरुले ट्रान्सफ्याट पैदा गर्छ । जसले पछि गएर नराम्रो कोलेस्ट्रोल वृद्धि गराई मुटुको रोग लाग्ने हुनसक्छ । मोटोपन बढाउने, पोषकतत्वको कमी हुन्छ । क्रोनिक रोग, मधुमेह जस्ता समस्या पनि देखा पर्न सक्छ ।

बालबालिकालाई जब पर्याप्त आहार पुग्छ
यदि बच्चा रुँदैन, समयमा सुतिरहेको छ, खानेकुराहरु मज्जाले खाइरहेको छ, खेलिरेको छ भने त्यो बच्चा स्वस्थ छ भनेर बुझ्न सकिन्छ ।

बच्चा जन्मिएको ६ महिनापछि दोब्बर र एक वर्षमा तेब्बर तौल भएमा स्वस्थ बच्चा भन्न सकिन्छ । पाँच वर्षसम्म बालबालिकाको ९० प्रतिशत प्रतिरक्षा प्रणाली विकास हुन्छ ।

त्यस्तै, २ वर्षका बालबालिकामा ८० प्रतिशत वुद्धि बिकास हुन्छ । त्यसको लागि सुक्ष्म र वृहत पोषणको आवश्यकता हुन्छ जुन नपुगेमा जति बुद्धि विकास हुनु पर्ने हो त्यो बढ्दैन । स्कुले जीवनमा अरु बच्चा जस्तो बौद्धिक र प्रतिभाशाली हुँदैन । हरेक क्रियाकलापमा बालबालिका पछि पर्न सक्छन् ।

बच्चाको ६० प्रतिशत तौल, प्रतिरक्षा प्रणाली पनि ५ वर्षमा निर्धारण गर्न सकिने हुँदा उचित खानपानमा ध्यान दिनु जरुरी छ ।

घरमा के खानेकुरा दैनिक दिन सकिन्छ ?
घरमै बच्चालाई खानका लागि खानेकुराका धेरै नै विकल्प छन् । तर सधै एउटा भन्दा पनि दिनकै फरक–फरक तरकारी र फलफुल दिन सकियो भने उनीहरु खान रुचाउँछन् ।

खानामा सबै पोषक तत्व सम्मिलित भएको राम्रो हो । सन्तुलित खानामा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र मिनिरल्स हुन्छ । यस किसिमको सन्तुलन मिलाउन एक भाग चामल र अर्को भाग विभिन्न थरिका तरकारीहरु समावेश गर्न सकिन्छ ।

१० वर्ष मुनिका बालबालिकालाई फास्टफुड मन पर्छ । यदि तपाईंले तिनीहरूलाई घरमा स्वादिष्ट केही खुवाउनुभयो भने तिनीहरू थप खुसी हुनेछन् । स्वादिष्ट तरकारी र क्याप्सिकम जस्ता तरकारीहरूको प्रयोग गर्ने खाजामा कहिले काही पास्ता रोटी पनि बनाउन सकिन्छ ।

दैनिक ६ पटकको भोजनमा २ पटक खाजामा फलफुल, ड्राइ फ्रुट्स दिन सकिन्छ । अलि ठुलो बच्चालाई अण्डा उसिनेर वा अम्लेट बनाएर दिन सकिन्छ । त्यस्तै विभिन्न दाललाई फरक फरक किसिमले पकाएर दिन सकिन्छ । दालको पनि रोटि बनाएर दिन सकिन्छ ।

बालबालिकाहरुलाई ६ महिनासम्म पानी दिन पर्दैन । त्यसपछि पानी आवश्यक हुने हुँदा बच्चाको तौल अनुसार पानी दिनुपर्दछ । जस्तै, २ केजी तौल हुने बालबालिकालाई २ सय एमल पानीको जरुरत पर्छ । एक केजी बराबरको एक सय एमएल पानी आवश्यक हुन्छ ।

मनिषा थापासँगको कुराकानीमा आधारित


तपाईको प्रतिक्रिया