काठमाडौं : चोरीको मोटरसाइकलसहित रसुवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।

उनलाई प्रहरीले काठमाडौँ महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट शुक्रबार पक्राउ गरेको हो । वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई हिजो ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

उक्त एन.एस २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौँको हात्तीगौडाबाट हराएको भनी मगरले निवेदन दिएका थिए । उक्त मोटरसाइकल सहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।


तपाईको प्रतिक्रिया