काभ्रे : काभ्रेको व्यापारिक नगरमा बनेपामा भोलि असोज ३ गतेदेखि पाँचौँ काभ्रे महोत्सव हुने भएको छ । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको छ । महोत्सवको पूर्वा सन्ध्यामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशी लगायतले महोत्सव स्थलको अवलोकन गरेका छन् ।

महोत्सव बनेपा नगरपालीका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा असोज १५ गतेसम्म सञ्चालन हुनेछ । “व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मूल नाराका साथ नेपालीहरुको महानपर्व दशैको पावन अवसरमा काभ्रेपलाञ्चोकको परम्परागत कला सस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनको निमित्त काभ्रे महोत्सव २०७९ आयोजना गरिएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेँले जानकारी दिए ।

उनका अनुसार यसका लागी आवश्यक प्रक्रिया सकिएसँगैै महोत्सव स्थलमा स्टल निर्माण लगायत अन्य कार्यको तयारी भइरहेको छ । यस महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने छन् ।

कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका उद्योग वाणिज्य संघमा दर्ता भएमा व्यवसायहरुलाई स्टल उपलब्ध गराउदा १५५ छुटको व्यवस्था रहेको काभ्रे उद्योग वाणिज्य संघका महासचिव रबिन्द्र बैदारले बताए । उनका अनुसार महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु,कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु,खाद्यान्न,अटोमोबाईल,जुत्ताहरु,कृषि तथा हस्तकलाका सामाग्रीहरु,कृषि औजारका सामाग्रीहरुको स्टलहरु राखिनेछन् ।

त्यसैगरी महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था हुने उनले बताए । मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान,रोटे पिङ,ड्रागन,नाउ,मिनि बञ्जी जम्प,वाटर बल्ब,मिकि माउस,टेम्पोलिङग,स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ ।

विद्याथीहरुलाई रु ५० र अन्य सर्वसाधारणलाई रु १०० प्रवेश शुल्क निर्धारण गरिएको छ , भने वृद्ध वृद्धाहरुको लागी निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


तपाईको प्रतिक्रिया