काभ्रे : प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नेपाल पुलिस स्कुल साँगा काभ्रेको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र दुईवटा पुरुष छात्रावास भवनहरुको उद्घाटन गरेका छन्।

सोमबार आयोजित एक समारोहबीच आइजीपी सिंहले ती भवनहरूको उद्घाटन गरेका हुन्। उद्घाटनपछि आईजीपी सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुको साथै नवनिर्मित इकेडेमिक ब्लक परिसरमा वृक्षरोपणसमेत गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आइजिपी सिंहले शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए।

स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचनालगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्न क्रियाशील रहेको आइजिपी सिंहले बताए।

उक्त भवनहरू नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोग गरी कुल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। कुल ६३,८६३/७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरू २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन्।

कार्यक्रममा सोही स्कुलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए। साथै नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक इन्जिनियर शम्भुप्रसाद कोइरीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, बनेपा नगरपालिकाका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया