सडक सुरक्षासँगै ट्राफिक व्यवस्थ्यापन र सवारी दुर्घटना न्यनूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुखको जिम्मेवारी हुन्छ । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको छ ।

त्यस्तै, काभ्रेमा पछिल्लो समय ट्राफिक प्रहरीले गरेको गतिविधि, सवारी र सडकको अवस्था, ट्राफिक व्यवस्थ्यापन र परिचालन, सडक सुरक्षामा देखिएका समस्या जस्ता विषयवस्तुलाई समेटेर जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालसँग गरिएको संवादको सम्पादित अंश यस अंकमा प्रस्तुत गरिएको छ ।

o.प्रहरी संगठनमा तपाईको यात्रा कहिलेबाट सुरु भयो ?

प्रहरी संगठनमा मेरो यात्रा २०५५ साल कात्तिक महिनामा प्रहरी सहायक निरीक्षकबाट सुरु भएको हो । प्रहरी संगठनमा सेवारत रहि रहँदा U.N. Mission लगायत विभिन्न कार्यालयमा फरक प्रकृतिका काम गर्ने अवसर र अनुभव लिने क्रममा तालिम केन्द्र, ईलाका प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय तथा अधिकांश समय काठमाडौँको ट्राफिक कार्यालयहरूमा काम गर्ने अवसर मिल्यो । हाल यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको कार्यालय प्रमुखको भूमिका निर्वाह गरिरहेको छु ।

o. काभ्रेमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख भएर काम गरिरहदाँ कस्तो महशुस भएको छ ?

यहि २०७९ वैशाख ०६ गतेबाट यस काभ्रे जिल्लामा जिल्ला ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी लिई काम गर्नु चुनौती र अवसर दुबै ठान्दछु । काभ्रे जिल्लाको जनसंख्या, बि.पी र अरनिको (२ वटा) राजमार्गमा चल्ने सवारी साधन र त्यसको बढ्दो चापलाई ट्राफिक प्रहरीको जनशक्तिसँग तुलनात्मक रुपले हेर्दा यसको व्यवस्थापनको पाटो निकै चुनौतीपूर्ण र जटिल छ ।

ट्राफिक प्रहरी कार्यालयको टिमलाई दिशा निर्देश गर्दै, उहाँहरूसँग सहकार्य गरी सही व्यवस्थापन र परिचालनमा निरन्तर लागिरहेको छु । साँघुरा सडक, पार्किङको लागि जग्गा नभएको अव्यवस्थित बजार, कमजोर भौतिक पूर्वाधार भएका जिर्ण सडक र आधुनिक उपकरणको अभाव हुदाँहुदै पनि यहाँका विभिन्न सरकारी कार्यालय, यातायातसँग आबद्ध सरोकारवाला निकाय, स्थानीय भद्र–भलादमी, बुद्धिजिवी, पत्रकार लगायतसँग छलफल, परामर्श गरी काभ्रे जिल्लाको ट्राफिक व्यवस्थापनमा केही हदसम्म सुधार गर्न सकेकोमा अवश्य खुशी छु । आगामी दिनमा ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना उद्धार, दुर्घटना न्यूनिकरण / जनचेतनामूलक कार्यक्रम, रोड फर्निसिङ तथा सवारी आवागमन लगायतका कार्यमा सहकार्य निरन्तर गरिरहने छु र यहाँहरूको साथ सहयोगको अपेक्षा पनि गरेको छु । यसरी कामगर्दा सफलता पाएकोमा खुशी लाग्ने नै भयो।

o. आफूले निवार्ह गरिरहनु भएको जिम्मेवारीको बारेमा बताइदिनुहोस् न ?

ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी भनेकै सडकमा सवारी साधनको सही व्यवस्थापन गर्नु र सवारी दुर्घटना हुन नदिनु हो । यसका साथै सडकमा कुनै पनि किसिमको बाधा–अवरोध नहोस् भन्ने पनि हो तर सडकमा यात्रा गर्दा कुनै पनि किसिमले सर्वसाधारणले दुःख झेलिरहेका छन् । उपत्यका प्रवेश गर्ने जिल्लामा वि.पी र अरनिको गरी दुई वटा ठूला राजमार्गहरु रहेका कारण पनि जिल्लामा सवारी चाप अति नै बढि रहेको छ । बढ्दो सवारी चापलाई नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनमा धेरै कार्यहरु गर्न बाँकी रहेको छ । यससँग आबद्ध सम्बन्धित सरोकारवाला निकाय र पक्षहरूसँग सहकार्य भईरहेको र छिट्टै योजनाबद्ध कार्यक्रमले निरन्तरता अवश्य पाउने छ ।

o. तपाईले यहाँ प्रमुख भएर जिम्मेवारी सम्हाल्नुभएको तीन महिना भयो, आफूले प्रमुखको जिम्मेवारी पाएपछि तपाईको नेत्तृत्वमा जिल्लामा उल्लेखनीय कार्यहरु के–के भए ?

जिल्लामा पोष्टिङ हुने सबै इन्चार्जले आफ्नो कार्यकालमा केही नयाँ कार्य गर्नुपर्ने नै हुन्छ । सडकदेखि सवारीसम्मका सबै जिम्मेवारी प्रमुखको नै रहन्छ । त्यो हिसाबले पनि हामीले विभिन्न सुरक्षात्मक, जानकारी र चेतनामूलक कार्यक्रमहरु निरन्तर गर्दै आईरहेका छौँ । यहाँ पोष्टिङ हुने बित्तिकै सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चालक-सहचालकहरूलाई २ / ५ मिनेट चेतनामूलक कार्यक्रम गर्ने, चालकको स्वास्थ्य परीक्षण, यात्रु, स्थानीय र स्कूल सम्पर्क कार्यक्रम गरी विद्यार्थीलाई ट्राफिक सचेतना गराउने जस्ता धेरै कार्यक्रमहरु सम्पन्न भईसकेका छन् भने बनेपा, पनौती, धुलिखेल बजार एरियामा हुने अनियन्त्रित पार्किङलाई केही हदसम्म व्यवस्थित बनाएका छौ ।

त्यसैगरी जिल्लाका विभिन्न स्थानमा CCTV जडान गरी दुर्घटनाको रेकर्ड लिन सहज बनाईएको छ । अरनिको र बि.पि राजमार्गमा चल्ने सार्वजनिक सवारीका चालकलाई कडाईकासाथ मादक पदार्थ र लागु औंषध सेवन गरे/नगरेको चेकजाँच गर्ने गरीएको, ओभरलोड राखि सवारी चलाउने ट्रिफरबाट ढाला भन्दा माथिसम्म राखिएको गिटी र वालुवा निकाल्न लगाई जरिवाना समेत गरी छाड्ने गरिएको, प्रेसर हर्न प्रयोग गर्नेलाई प्रेसर हर्न निकाल्न लगाई कारवाही गरिएको, सवारी दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्ग र बि.पि राजमार्गमा विभिन्न प्रकारका ट्राफिक संकेत बोर्ड राखिएको, स्वरुप परिवर्तन गरि मोडिफाई गरिएका मोटरसाईकललाई नियन्त्रणमा लिई दुरुस्त बनाउन लगाईएको, चालक र सेवाग्राहीसँग सभ्य शिष्ट र नम्र भाषा प्रयोगमा जोड दिईएको छ । यसका अलवा अन्य कार्यक्रम योजनाको रूपमा छन् ।

गत आर्थिक वर्ष ०७८/०७९ मा कारवाही संख्या ४३७२५ रहेको र राजश्व ४,९६,२२,०००।- असुली भएकोमा वैशाख जेष्ठ र असार गरी ३ महिनाको अवधीमा कारवाही संख्या ११९५० र राजश्व १,३१,३३,५००। रूपैया संकलन गर्न सफल भई बागमती प्रदेशको १० जिल्ला मध्ये काभ्रे जिल्ला सबै भन्दा उत्कृष्ट कार्यालयको रूपमा रहेको अवगत गराउँदछु ।

o. जिल्लामा नयाँ के गर्ने योजना बनाउनुभएको छ ?

ट्राफिक प्रहरीले गर्ने कार्य भनेको सबैतिर एकै प्रकृतिको हुन्छ । सडकमा सवारीको चाप धेरै हुन्छ । त्यसको व्यवस्थापनमै ट्राफिक प्रहरी केन्द्रित भइरहेको हुन्छ । जिल्लाको सवारी चापको अवस्था अनुसार जनशक्ति कमी र उपकरणको प्रयाप्तता नभएको यथार्थ हो । जसको बावजुत पनि हामीले सम्बन्धित निकायसँग समन्वय गरेर CCTV, Radar gun, Traffic Light, Breathe analyzer, प्रयोगलाई प्राथमिकतामा राखेका छौं । सम्बन्धित निकायसँगको छलफल र सहकार्य पछि हामीले यसलाई व्यापक प्रयोगमा ल्याउने तयारी गरेका छौँ ।

सवारी दुर्घटनाको अर्को मुख्य कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु र अत्याधिक गतिमा सवारी चलाउने उपर यस प्रकारका उपकरणको प्रयोग गर्दा नियन्त्रण भई दुर्घटना न्यूनीकरण हुने र चालकमा सजकता हुने अपेक्षा गरिएको छ । त्यसै गरी स्थानिय स्तरमा सर्वसाधरणलाई focus गरी ट्राफिक नियम पालना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै लगिएको र यसलाई बृहत बनाउदै लैजाने योजना पनि बनाएका छौँ ।

o. समग्र रुपमा काभ्रेमा सडक सुरक्षाको अवस्था कस्तो छ ?

सडक सुरक्षामा देखिएको प्रमुख समस्या भनेको अव्यवस्थित सडक र बढ्दो सवारी चाप नै हो । काभ्रे जिल्लामाबि.पी र अरनिको गरी दुई प्रमुख राजमार्गहरु छन् । वर्तमान अवस्थामा जिल्लाको यी दुई राजमार्गमा चल्ने सवारी साधनको चाप अत्याधिक रहेको छ ।कतिपय ठाउँमा सडकको अवस्था जिर्ण रहेको छ । सवारी पुग्न नसक्ने ठाउँमा पनि क्षमताभन्दा धेरै यात्रु र सामानहरु राखेर चलाइएको भेटिएको छ । यहीँ राजमार्गमै पनि सवारीको अनुपात अनुसार सडकको अवस्था राम्रो छैन । यहाँ सवारी चाप अनुसारको सडक संरचना व्यवस्थित छैन ।

काभ्रे जिल्लामा २ वटा (बि.पी र अरनिको) राजमार्ग तथा अन्य सहायक मार्ग समेतको वर्तमान अवस्था निम्न अनुसार रहेको अवगत गराउदछु : 
–  बनेपा र धुलिखेल मुख्य बजारमा समेत पार्किङको ब्यबस्था नरहेको ।
–  दुबै राजमार्गमा साँघुरो, घुम्ति मोड ९नागवेली० बढी भएको, ।
–  राजमार्ग छेउमा रहेका स(साना बजार, हाट र गाउँबस्तिमा रेलिङ र फुटपाथ नभएको ।
–  राजमार्गको कतिपय स्थानमा समेत खाल्डा खुल्टी रहनु ।
–  ग्रामिण भेग जाने सहायक सडक जिर्ण र कच्ची ।
–  सानो सडकमा अव्यवस्थित पार्किङ हुनु ।
– घर बनाउदा पार्किङको ब्यवस्था नगर्नु ।
–  बाटो छेकेर टहरा निर्माण गरी ब्यवसाय संचालन गर्नु ।
–  आवश्यकतानुसार सडक संकेत नहुनु ।
–  योजनाविना र अव्यबस्थित बाटो निर्माण गरिएको।
–  अरनिको र वि.पि दुँबै राजमार्ग साँघुरो रहेको र साना तथा ठुला सवारी साधन एउटै लेनमा संचालन गर्नु पर्ने भएकोले दुर्घटनाको जोखिम उच्च रहेको ।
– सडकमा रहेका सिसिटिभि कम गुणस्तरिय भएकोले रातको समयमा दुर्घटना गरी फरार हुने सवारी साधन खोजतलास तथा नियन्त्रण गर्न समस्या हुने गरेको ।
–  सडकको दाँया बाँया रेलिङ नभएको कारण पैदल यात्रु तथा छाडा चौपायाले जथाभावि सडक पार गर्दा दुर्घटना जोखिम रहेको छ ।
–  सम्बन्धित निकायले चासो नदिदा छाडा चौपाया र कुकुरको कारण समेत दुर्घटना जोखिम रहेको ।
–  सडकको कमजोर र गुणस्तरहिन भौतिक पूर्वाधारका कारण समेत प्रभावकारी ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेको छ ।

o. सडक सुरक्षामा अहिले देखिएका प्रमुख चुनौतीहरु के छन् ?

अव्यवस्थित सडक र बढ्दो सवारी चापसँगै सवारी दुर्घटना न्यूनिकरण गर्नु नै सडक सुरक्षामा अहिले देखिएका प्रमुख चुनौतको रुपमा रहेको छ । यसका साथै सिमित श्रोत साधन र जनशक्तिबाट ट्राफिक परिचालन र व्यवस्थापन गर्नु पनि अर्को मुख्य चुनौती रहेको छ ।

वर्तमान अवस्थामा सडक सुरक्षाका प्रमुख चुनौतीहरु निम्न अनुसार रहेको अवगत गराउदछु : 

–  सवारी व्यवस्थापनमा आधुनिक प्रविधि जस्तै CCTV, Traffic Light, RADAR GUN, Breathalyzer जस्ता आधुनिक वैज्ञानिक उपकरणहरु प्रयाप्त मात्रामा नहुनु,
– सडकमा पर्याप्त मात्रामा भौतिक पूर्वाधारको व्यवस्था नहुनु,
–  ट्राफिक जनचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक पर्ने साधन श्रोतको व्यवस्था नहुनु,
– जिल्ला भित्रका राजमार्ग र सहायक सडक साँघुरो र अत्याधिक घुम्तीहरु हुनु,
–  मालवाहक सवारी साधनहरुले प्रायः भार वहन क्षमताभन्दा बढी मालसामान बोक्दा सडकमा क्षति हुनु तथा दुर्घटनामा वृद्धि हुनु,
–  बढ्दो सवारी चाप अनुसार सडकको विस्तार र स्तरवृद्धि नहुनुको साथै समयमा नै सडक तथा नालाहरुको मर्मत संभार नहुनु,
–  सडकको स्तरवृद्धि तथा विस्तार नहुँदा चोक, जङ्सनहरुमा दिनानुदिन सवारी साधनको चाप र सवारी दुर्घटना बढ्नु,
– सडक किनारामा मापदण्ड विपरीत संचालित ग्यारेज, वर्कसप, पेट्रोलपम्प, फुटपाथ पसल लगायत सडकमै लोडरअनलोड गर्ने सवारीका कारण आवागमनमा समस्या हुनु,
–  निजी सवारी र लामो दुरीका यात्रुबाहक तथा मालबाहक सवारी साधनको लागी पार्किङ्ग स्थलको अभावले आवागमनमा समस्या हुनु,
–  मापदण्ड विपरीत बनेका होटेल, पार्टी प्यालेस, कम्प्लेक्सहरुको नियमन प्रभाबकारी नहुँदा पार्किङ र सवारी व्यवस्थापनमा समस्या हुनु,
–  ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रमहरू व्यापक रूपमा संचालन हुन नसक्नु,
–  ट्राफिक ब्यवस्थापन कार्यमा संलग्न सरोकारवाला निकायहरु वीच प्रभावकारी समन्वय एवं सहकार्यमा कमी,
–  सडकमा छाडा चौपायाहरु छाड्ने गर्दा सडक दुर्घटना हुनु र ट्राफिक व्यवस्थापनमा कठिनाई हुनु,
–  बनेपा, धुलिखेल, पाँचखाल, भकुण्डेबेशी, दोलालघाट आदि स्थानहरुमा अव्यवस्थित शहरीकरण बढ्नाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुनु,
–  दुर्घटना सम्भावित क्षेत्र तथा बाढीपहिरोका कारण सडक अवरुद्ध हुने स्थानहरुको पहिचान गरी दिर्घकालिन समाधानको उपाय अपनाउन नसक्नु ।

o. यी चुनौतीहरुलाई कसरी समाधान गर्न सकिन्छ ?
उल्लेखित चुनौतिहरू समाधानका लागि बिभिन्न सरोकारवाला निकाय, संघ-संस्था, व्यक्ति, व्यवसायीसँग सहकार्य गरी सोको समाधानका लागि पहल भईरहेको छ । जस्तै : स्थानीय निकाय, सडक डिभिजन कार्यालय, यातायात व्यवसायी संघ, मजदूर संगठनहरुसँग समन्वय गरी अल्पकालिन र दिर्घकालिन सामाधानको लागि निरन्तर पत्राचार तथा छलफल भईरहेको छ । जनचेतनामूलक कार्यक्रमहरु स्कूल सम्पर्क कार्यक्रम (विद्यार्थीलाई कक्षा संचालन), पैदल यात्रु, यात्रु, चालक-सहचालकहरुलाई कक्षा संचालन गरिएको छ ।

त्यसैगरी ओभरलोड नियन्त्रण, सिट क्षमता, बढी भाडा, तिव्र गति, मा.प.से/लागु औषध सेवन, मोडिफाई, जथाभावि रोक्ने र चोरी नियन्त्रणको लागि उपयुक्त कार्यतालिका बनाई जिल्ला ट्राफिक कार्यालय र मातहतका सबै युनिटलाई दैनिक चेकिङको समय तालिका दिई चेकजाँचको व्यवस्था मिलाईएको, ट्राफिक नियम उल्लंघन गर्नेलाई कडाईकासाथ कार्वाही गरी कानून सम्वत दण्ड र जरिवाना कार्यलाई निरन्तरता दिएका छौं जसले आम नागरिकमा सचेतना ल्याई समस्या समाधानमा सहयोग पुग्नेछ भन्नेमा विश्वास लिएको छु ।

o. यहाँको कार्यकालमा तपाईबाट स्थानीय सर्वसाधरणले के–के अपेक्षा राख्ने ?
ट्राफिक प्रहरी सदैव आम नागरिकको सेवा र सुरक्षामा खटिएको छ । ट्राफिक प्रहरीसँग स्थानीय सर्वसाधरणको अपेक्षा भनेकै सडक सुरक्षा र भयरहित वातावरण हो । कुनै किसिमको दुर्घटना नहोस्, र ट्राफिक प्रहरीले कानूनसंगत नियमको पालना गराइयोस् भन्ने हुन्छ त्यसैगरी ट्राफिकले सर्वसाधरणको गुनासो सुनिदियोस् भन्ने अपेक्षा गरेका हुन्छन् । सोही अनुरूप काभ्रे ट्राफिक प्रहरी उहाँहरुको अपेक्षा अनुरूपको सेवा दिन खटिरहेको छ । हामीले स्थानियको गुनासो टेलिफोन र फेसबुक पेजमार्फत संकलन गरी सरोकारवाला निकाय, व्यक्तिसँग सहकार्य गरी ति समस्याको समाधान र सम्बोधन गर्न प्रयासरत छौँ । जसका लागि यहाँहरूबाट सूचना, गुनासो र सुझाब आवश्यक छ।

o. अन्त्यमा, केही भन्न चाहानुहुन्छ ?
घरबाट कुनैपनि काम बिशेषले सडकमा निष्कदा कृपया हतार नगर्नुस् बरु ५/१० मिनेट चाडो निस्कनुहोस् । ट्राफिक नियमको पुर्णरुपमा पालना गरिदिनुहोस । ट्राफिक नियम हजुहरूकै सुरक्षाको लागि हो । सुरक्षाका उपायहरू अपनाउनुहोस । सवारी साधनको अवस्था चेक गर्नुहोस । तिव्रगति सवारी नचलाउनुहोस्, जथाभावी ओभरटेक नगरौ, सवारी चलाउँदा मोबाइल फोन नचलाउनुहोुस् र मा.प.से गरेर सवारी नचलाउनुहोस् । ट्राफिक प्रहरी हजुरहरूकै सेवा तथा सुरक्षामा खटिएको सम्झनुहोस । यात्रा गर्दा सुरक्षित, भयरहित र ढुक्क भएर गर्नुहोस् भनि सम्पूर्ण काभ्रेबासी लगायत सबै सडक प्रयोगकर्तालाई म अनुरोध गर्न चाहन्छु ।

 

 

 

 

 

 

 

 

 

 

 

 


तपाईको प्रतिक्रिया