काभ्रे : भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काभ्रेको नमोबुद्ध गाँउपालिका–६ घर भई हाल पुरानो गुहेश्वरी बस्ने रिजन तिवारी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरीले बिहीबार बिहान ३ बजे बालाजुचोकमा रहेको एउटा डान्सबारमा भारतका नागरिकको नगद लुटपाट गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट करिब ७० हजार रुपैयाँ र करिब १७ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा  काभ्रेका तिवारीसहित बैतडी पाटन नगरपालिका–१ घर भई हाल तारकेश्‍वर नगपालिका–१० मनमैजु बस्ने केशब चन्द, बाजुरा छतिगढ गाँउपालिका–५ घर भई हाल बालाजुचोक बस्ने हिमशिखर मल्ल र  वीरगंज महानगरपालिका–२९ घर भई हाल ठमेल बस्ने बर्ष १९ को दिपक राउत रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बालाजु र गौशालाले संयुक्त रुपमा गरेको कारबाहीमा ट्याक्सी चालकसहित पाँचजना पक्राउ परेका हुन् । घटनामा डान्सबारको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ३ बजे बालाजुचोक नजिक रहेको डिलाईट डाण्स बारमा भारतीय नागरिकलाई लुटपाट भईरहेको भन्ने खबर पाएपछि वृत्त बालाजुबाट प्रहरी निरीक्षक आशिष अधिकारीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरी निरीक्षक अधिकारीको टोलीले घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गरेर चेकजाँचगर्दा लुटिएको रकम समेत बरामद भएको हो । तर, लुटिएका ब्यक्ति भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन् ।

प्रहरीले भारतीयलाई उक्त डान्सबारमा ल्याउने बा २ ज १६९७ नम्बरको टयाक्सी चालक प्रद्युन्न चौधरीसहित अन्य चारजना पक्राउ परेका हुन् । वृत्त गौशालाले भाग्दै गरेका चौधरीलाई नियन्त्रणमा लिएर बालाजुको जिम्मा लगाएको थियो ।


तपाईको प्रतिक्रिया