काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलका विद्यार्थीसँग लागु औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा कार्यालयले आज धुलिखेल नगरपालिकाका विद्यार्थीसँग लागु औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र धुलिखेल नगर प्याब्सन कार्य समितिको आयोजनामा सचेतनामूलक र्‍याली सहित ‘मानवीय स्वास्थ्य संकटको बेला झन्, लागु औषध चुनौतीको गरौं सम्बोधन’ भन्ने नाराका साथ लागु औषध दुर्व्यसनी रोकथाम सम्बन्धि पर्चा वितरण गर्दै धुलिखेल बजार परिक्रममा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्व तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको उपस्थितीमा धुलिखेल नगरपालिका वडा नं ६ स्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा नगरका विभिन्न विद्यालयका ३०० जना विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धि जानकारी गराउनुको साथै यसको रोकथामका विषयमा पनि प्रस्तुतीकरण दिइएको थियो ।

कार्यक्रमको पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले लागू औषध दुर्व्यसनी, कानुनी पक्ष, यसको असर, दुर्व्यसनबाट बच्ने उपायहरू र सरोकारवालहरुको भूमिकाको विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै कार्यक्रमको दोश्रो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले ईन्टरनेट र सामाजिक सञ्‍जाल, यसको यसको असर, सुरक्षित प्रयोग साईवर अपराध सम्बन्धि कानुनी पक्ष र सरोकारवालहरुको भूमिकाका विषयमा प्रशिक्षण दिनुको साथै कार्यक्रममा सहभागी विद्यार्थिहरुबाट उठेका प्रश्नहररुलाई सम्बोधन गरेका थिए ।


तपाईको प्रतिक्रिया