काभ्रे : छेउमा हरियो रंगको ऊनको धागोको डल्लो छ । त्यो धागोलाई एकपछि अर्को गर्दै कुरुसमा उन्दैँ छिन्, २३ वर्षीय खरिमाया जिम्बा । खरिमाया टोपी बनाउने तयारीमा छिन् । टोपी बनाउने कामसँगै साथीहरुसँगको रमाइलो गफ पनि भइरहेको छ ।

यता इसारामा साथीहरुसँग गफ भइरहेको छ भने उता उनको हात पनि उत्तिकै चरिहेको छ । केही दिन अघि काभ्रेको बनेपा नगरपालिका वडा नं ९ स्थित काभ्रे बहिरा विकास संघमा पुग्दा देखिएको दृश्य हो यो ।

हरेक पल्ट उनिने धागोले नयाँ आकार दिदैँछ । धागोले एक पछि अर्को गर्दै नयाँ आकार दिए जसरी नै खरीमायाको जीवनमा पनि नयाँ आकार थपिएको छ । नयाँ जोश र जाँगर थपिएको छ । उनमा नयाँँ सीप सिक्ने हुटहुटी जागेको छ । जसले उनलाई बनेपासम्म ल्याएको छ । विगत ३ वर्षदेखि खरिमाया बनेपा स्थित काभ्रे बहिरा विद्यालयको होस्टलमा बस्दै आएकी छिन् ।

घर उनको काभ्रेको खानीखोला गाउँपालिका वडा नं ५ स्थित तालढुङ्गा । उनी बोल्न अनि सुन्न सक्दिनन् । उनमा आफ्नो लागि आफैले केही गर्छु भन्ने आत्मविश्वास थियो । तर अपङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भने समाजमा जरा गडेर बसेको मानसिकताले उनलाई अघि बढ्न दिएन ।

त्यसकारण पनि उनको दैनिकी पाखा पखेरोमा घाँस, दाउरा गर्ने, वस्तुभाउको हेरचाह र चुलो चौकोमा मात्रै सिमित हुन्थ्यो । आफू बोल्न अनि सुन्न नसक्ने भएकाले एक्लो महशुस गर्थिन् । बहिरो भएकै कारण पढाईबाट बञ्चित भएकी थिइन् ।

उनीसँगै उनको भाइ र बहिनी पनि बहिरा छन् । उनका भाइबहिनीलाई बहिरा स्कुलमा पढ्न पठाएकाले उनीहरुले सांकेतिक भाषा बुझे र संकेतिक भाषामै बोलीचाली गर्न थाले । भाइबहिनीले सांकेतिक भाषमा बोलीचाली गरेको देखेर खरीमायाको मनमा पनि भाषा सिक्न र पढ्ने इच्छा जाग्यो । उनले भाषा सिक्न र पढ्नका लागि बनेपा आउने योजना बनाइन् । तर उनको योजनामा परिवारले सहमति जनाएनन् ।

परिवारको स्विकृती बिना नै खरिमाया भाइबहिनीसँगै काभ्रेको बनेपामा रहेको काभ्रे बहिरा विद्यालय आइन् । जहाँ उनले नयाँ संसार पाइन् । उनको पहिलो बोली त्यहाँबाट सुरु भयो । सांकेतिक भाषा सिकेँसँगै उनले पढ््ने र सीप विकासका अवसरहरु पाइन् । उनको हातमा अहिले धेरै थरीका सीप छन् । उनी सीपमै रमाउन थालेकी छिन् ।

उनीसँग अहिले सेनीटरी प्याड बनाउने, किरिङ, माला, पोस्ट कार्ड, सिलाई, बुनाई, डल बनाउने, कुुसन बनाउने, फूलहरु बनाउने, पेन्टिङ, मास्क बनाउने लगायतका हस्तकला सम्बन्धी सीप छन् । सीपले आफ्नो जीवनमा धेरै परिवर्तनहरु ल्याएको खरिमाया बताउँछिन् । उनका अनुसार सीपले हामी अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाएको छ । जीवनमा अगाडी बढ्नको लागि सीप सिक्न धेरै आवश्यक रहेको कुरा उनी सुनाउँछिन् ।

आफूसँग सीप हुदाँ र नहुदाँमा धेरै फरक हुने अनुभव उनको छ । उनी भन्छिन्,‘पहिला आफूसँग सीप र भाषा दुवै थिएन । जीवन अन्धकार झैँ लाग्थ्यो । जीवनमा अब केही गर्न सक्दिन जस्तो लाग्थ्यो । अहिले आफूसँग सीप र भाषा दुवै छ । आफ्नो लागि मात्र नभएर परिवारलाई पनि सहयोग गर्न सक्ने भएको छु ।’ उनले सिकेको सीपले उनीसँगै उनको परिवारमा पनि खुशी छाएको छ ।

सीप सिकेपछि आम्दानीको श्रोतहरु जुटेको उनी बताउँछिन् । उनका अनुसार घरमा यत्तिकै बस्नुभन्दा एउटा टोपी मात्र बुन्यो भने सय÷पचास भएपनि आम्दानी हुन्छ । त्यसकारण पनि उनी कहिल्यै फुर्सदिलो देख्दिन्न ।

कुनै समय गाउँ घरको पखरामा घाँस दाउरमा मात्र सिमित भएको खरिमायाको दैनिकी अहिले हस्तकलाको क्षेत्रमा समर्पित भएको छ । गाउँमा उनी एउटा उदाहरणीय पात्र बनेकी छिन् । पहिले र अहिलेको तुलनामा उनीप्रति हेरिने दृष्टिकोणमा समेत परिर्वतन आएको उनी पाउँछिन् ।

‘पहिला बहिराहरुले केही गर्न सक्दैनन् भन्नेहरु नै अहिले हामीले गरेको कामको प्रशंसा गर्न थालेका छन्,’ उनले भनिन्, ‘सीपका काम देखेर अझै धेरै राम्रो काम गर्न हौसला दिने र्गनुहुन्छ ।’ यसरी सबैको साथ र सहयोग प्राप्त भएमा आफूमा थप नयाँ काम गर्न उर्जा मिल्ने उनी बताउँछिन् ।

खरीमाया जस्तै ललितपुर स्थित गोदावरीकी ३० वर्षीय रिता के.सीको दैनिकी हस्तकलाक क्षेत्रमा जोडिएको छ । हस्तकलासँगको उनको दैनिकी करिब एक दशक अघिदेखिकै हो । उनको दैनिकी हस्तकलामा मात्र सिमित छैन । उनी काभ्रे बहिरा विद्यालयमा शिक्षण पनि गर्छिन् । बिहान बेलुकीको फुर्सदको समयमा भने हस्तकलाको काम गर्छिन् ।

हस्तकला सम्बन्धि कामको उनीसँग पुरानो अनुभव छ । उनी खेलौना, कुसन, किरिन, क्रिस्टलको पोते, माला, पोस्ट कार्ड, सिलाई , बनाई, इम्ब्रोइडरी, सेनीटरी प्याड लगायतका हस्तकलाका सामग्री उत्पदानसँगै यसको बजारीकरण पनि गर्छिन् ।

काभ्रे बहिरा विकास संघका महिलाहरुले उत्पदान गरेका हस्तकलाका सामग्रीहरु अहिले अनलाइन मार्फत बिक्री वितरण गर्ने गरेको उनले बताइन् । उनका अनुसार यहाँ उत्पादन भएका हस्तकलाका सामानहरु बिक्रीका लागि अनलाइनमा राख्ने गरेका छौँ । त्यहीँबाट यसको बजारीकरण भइरहेको छ । यहाँबाट उत्पादन भएका सामग्रीहरुको अहिले अनलाइन राम्रो बजार भएको उनी सुनाउँछिन् ।

आफूले सिकेको सीप उनी आफूमा मात्र सिमित राख्दिनन् । आफ्ना विद्यार्थी र घर परिवारलाई सिकाउने गर्छिन् । ‘सीप सबैलाई आवश्यक छ । सीप बिना मानिसको जीवन अधुरो हुन्छ’ भन्ने उनको बुझाई छ । सीप सिकेमा यसले मानिसलाई आत्मनिर्भर बनाउँछ भन्ने उनी आफै पनि एक उदाहरण हुन् । ‘जीवनमा सबैभन्दा ठूलो कुरा भनेको आत्मनिर्भर हुनु हो,’ उनले भनिन्, ‘जसको लागि हामीले सानै भएपनि काम गर्नुपर्छ । सीप सिक्नुपर्छ ।’

अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सीपमूलक कार्यक्रमहरुको धेरै आवश्यक हुने उनी बताउँछिन् । उनका अनुसार यस्ता कार्यक्रमले उनीहरुमा आत्मविश्वास बढाउँछ । आफ्नो लागि आफै केही गर्न सक्छु भन्ने हिम्मत बढाउँछ । सीपमूलक कार्यक्रमको सहभागीताले गर्दा नै आफू अहिले सक्रिय भएर हस्तकलाको काम गर्न सकेको उनी बताउँछिन् । सीपबाटै हुने आयआर्जनले घर परिवारलाई आर्थिक रुपमा आफूले सहयोग गर्न पाउँदा उनी खुशी छिन् ।

उनका अनुुसार पहिले बहिराहरुलाई अशक्तको रुपमा मात्र हेर्ने गरिन्थ्यो । तर अहिले समाजमा धेरै परिवर्तनहरु आएको छ । अहिले अपाङ्गता भएका व्यक्तिहरुले पनि समाज उदाहरणीय कामहरु गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम तथा कार्यक्रमले थप सशक्त बनाइरहेको उनी बताउँछिन् । ‘सीपका कामहरु सिक्दा नयाँ कुराको ज्ञान प्राप्त हुन्छ,’ उनले भनिन्, ‘साथीहरुसँगको भेटघाट हुन्छ । सञ्चार गर्ने बानीको विकास हुन्छ । सीप सिकेपछि बिस्तारै यसैबाट आम्दानीको श्रोतहरु जुट्दै जान्छन् ।’

बनेपाकी पार्वती गौतमको दैनिकी पनि रिता र खरिमायाको जस्तै छ । उनी प्रयोगमा नआएका सामग्रीहरुलाई सदुपयोग गर्दै मकैको खोस्टाको फूल, चकटी, कपडाको झोलाबाट माला लगायतका सामग्रीहरु बनाउने गर्छिन् । एकातिर आम्दानीको श्रोत जुटाउँदै छिन् भने अर्को प्रयोग नआएका सामग्रीलाई सदुपयोग गर्दै छिन् ।

उनीसँग मकैको खोस्टबाट टी प्याड, चकटी, फूल बनाउने कामसँगै खेलौना बनाउने, कुसन बनाउने, किरिङ, हेयर ब्यान्ड, माला पोते, पोस्ट कार्ड, सिलाई , बुनाई लगायतका थुप्रै सीपको कला छ । यी सीप उनले काभ्रे बहिरा विकास संघबाट सिकेकी हुन् । संघसँग आबद्ध भएर विगत चार वर्षदेखि सीपमूलक कार्यक्रमबाट नयाँ कुराहरु सिक्न पाएको उनले बताइन् ।

‘पहिले सीप नसिक्दा, दिनचर्या घरमै मात्र सिमित हुन्थ्यो,’ उनले भनिन्, ‘दिन कटाउनै गाह्रो हुन्थ्यो । तर अहिले सीप सिक्न थालेपछि दिन बितेको पत्तो नै हुदैँन । साथीहरुसँग हास्दै, रमाइलो गर्दै सीप सिक्न पाउँदा नयाँ जीवनमा पाएझैँ लागेको छ । अब त आफ्नो लागि आफैले केही गर्न सक्छु भन्ने हिम्मत बढेको छ ।’

घरमा यत्तिकै बस्नुभन्दा सीप सिक्यो भने आफू आत्मनिर्भर भइन्छ भन्ने सोचले सीप सिक्न थालेको उनी बताउँछिन । सीप सिक्ने रहर उनमा सानैदेखि भएपनि अवसर भने पाएकी थिइनन् । काभ्रे बहिरा विकास संघले उनलाई सीपको अवसर दियो भने परिवारले हौसला । त्यहीँ हौसलाले गर्दा थप नयाँ कुरा सिक्ने रहर जागेको उनी बताउँछिन् ।

पार्वतीले सीप सिकेर आफूमा धेरै परिर्वतन पाएको महशुस गरेकी छिन् । आफूसँगै समाजले उनीप्रति हेर्ने दृष्टिकोणमा पनि परिर्वतन भएको उनले सुनाइन् । ‘तिमीले बनाएको सामानहरु कस्तो राम्रो रहेछ नि,’ उनले हर्षित हुदैँ भनिन्, ‘हामी किन्छौँ नि तिम्रो सामानहरु । हाम्रो लागि पनि बनाइदेउ है ।’

यस्तो खालको प्रतिक्रियाले अरु नयाँ कामहरु गर्न उर्जा थपिने उनले बताइन् । आफूले गरेको कामबाट प्राप्त आम्दानी नै जीवनको सबै ठूलो सन्तुष्टि रहेको उनले बताइन् । यसबाट हुने आयआर्जनले आफ्नो जिविका धान्ने र आवश्यक परेको बेलामा परिवारलाई पनि सहयोग गर्न सक्ने भएकोमा उनी खुशी छिन् ।

प्रविधिले सीप सिक्न धेरै सहज बनाएको उनी बताउँछिन् । उनका अनुसार इन्टरनेटको माध्यमबाट अहिले हामीले सिक्न मन लागेको कुरा सबै सिक्न पाउँछौँ । आफूले पनि इन्टरनेटको प्रयोगबाटै सीपका नयाँ कुराहरु सिक्ने गरेको उनी सुनाउँछिन् ।

काभ्रे बहिरा संघले जिल्लामा रहेका बहिराहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न समयमा सीपमूलक तालिमहरु प्रदान गर्दै आएको संघकी उपाध्यक्ष शर्मिला मानन्धरले बताइन् । उनका अनुसार संघले अहिले मास्क, किरिन, डल, इम्ब्रोइडरी, सिलाई, बुनाई लगायतका हस्तकलाका सामाग्री बनाउन सिकाइ रहेको छ ।

सीप सिकेर उहाँहरुमा धेरै परिवर्तन आएको उपाध्यक्ष मानन्धरले बताइन् । बहिरा महिलाहरुलाई सीपमूलक तालिम दिएर उनीहरुलाई आत्मनिर्भर बनाउन, रोजगारीको अवसर प्रदान गर्न, समाजमा उनीहरुले. पनि केही गर्न सक्छ भन्ने उद्देश्यले नै यस्ता कार्यक्रम गर्दै आएको काभ्रे बहिरा संघका कोषाध्यक्ष दिनेश बादे श्रेष्ठले बताए ।

संघले स्थापनाकालदेखि नै बहिराहरुलाई सीपमूलक प्रदान गरि उनीहरुलाई सक्षम र आत्मनिर्भर बनाइरहेको काभ्रे बहिरा विकास संघका महासचिव धिरोज अधिकारीले बताए । उनका अनुसार सीपमा महिलाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ भने पुरुषहरुलाई रोजगारीका अवसर जुटाइरहेका छौँ ।

यो सामाग्री काभ्रे बहिरा विकास संघकी सल्लाहकार (दोभाषे) कृष्ण प्यारी नकर्मीको सहयोगमा तयार पारिएको हो ।

 

 


तपाईको प्रतिक्रिया