काभ्रे : सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच गरेको छ ।

कार्यालयले Drug Test Kit र Breathalyzer को प्रयोग गरी सवारी चालकले लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ/छैन चेकजाँच गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोग, जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त टोलीले चेकजाँच गरिएको छ ।

अरनिको राजमार्ग र बि.पि. राजमार्गमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ३४ जना चालकहरुलाई Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

उनका अनुसार ३४ सवारी चालकलाई चेकजाँच गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ देखाएकोले आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय बनेपामा बुझाइएको छ । कार्यालयले लामो दूरीमा चल्ने भाडाका सार्वजनिक यात्रुवाहक सवारी साधन तथा पनौती, धुलिखेल र बनेपा क्षेत्रका स्थानीय रुटका लोकल सार्वजनिक सवारी साधनका चालकहरुलाई चेकजाँच गरेको थियो ।

सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको यस कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिइने प्रहरी निरीक्षक सिलवालले बताए ।


तपाईको प्रतिक्रिया