काभ्रे : जिल्लाको १३ वटै पालिकामा स्थानीय तहको निर्वाचन २०७९ को मत गणना सम्पन्न भइसकेको छ । जिल्लामा नेपाली काँग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादीसँग गठबन्धन गरेरे उम्मेदवारी दिएको ७ वटा पालिकामा प्रमुख र ६ वटा पालिकामा उप–प्रमुख पदमा बिजयी भएर पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै माओवादी केन्द्रले ४ वटा पालिकाको प्रमुख र ४ वटा पालिकामा उप–प्रमुख पदमा बिजयी भएर दोस्रो स्थान हासिल गरेको छ भने नेकपा एमालेले एक पालिकामा प्रमुख र ३ वटा पालिकामा उप–प्रमुख पदमा बिजयी भइ तेस्रो स्थान हासिल गरेको छ ।

जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । जिल्लाको १३ वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले ७ वटा पालिकाको प्रमुख र ६ वटा पालिकामा उप–प्रमुखका लागि उम्मेदवारी दिएको थियो । उम्मेदवारी दिएका सबै पालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी भएर पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

नेपाली काँग्रेसबाट नगरपालिकाकोतर्फ बनेपा नगरपालिकाको प्रमुखमा शान्ति रत्न शाक्य, पनौती नगरपालिकाको प्रमुखमा रामशरण भण्डारी, पाँचखाल नगरपालिकाको प्रमुखमा महेश खरेल, नमोबुद्ध नगरपालिकाको प्रमुखमा कुन्साङ लामा बिजयी भएका छन् । त्यस्तै गाउँपालिकातर्फ रोशी गाउँपालिकाको अध्यक्षमा दिनेश लामा, तेमाल गाउँपालिकाको अध्यक्षमा चन्द्र लामा र बेथानचोक गाउँपालिकाको अधयक्षमा भगवान अधिकारी बिजयी भएका छन् ।

त्यस्तै उप–प्रमुख पदमा नगरपालिकातर्फ धुलिखेल नगरपालिकाको उप–प्रमुखमा निराजन जंगम र मण्डदेउपुर नगरपालिकाको उप–प्रमुखमा विष्णुमणी नेपाल निर्वाचित भएका छन् । यस्तै गाउँपालिकातर्फ खानीखोला गाउँपालिकाको उपध्यक्षमा दोर्जेमान जिम्बा, चौँरीदेउराली गाउँपालिकामा शेर बहादुर लामा, महाभारत गाउँपालिकाको उपाध्यक्षमा सागर मोक्तान र भुम्लु गाउँपालिकाको उपाध्यक्षमा जितेन्द्र मान तामाङ बिजयी भएका छन् ।

त्यस्तै जिल्लाको ४ वटा पालिकामा प्रमुख र ४ वटा पालिकामा उप–प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेवारहरु बिजयी भएर दोस्रो स्थान हासिल गरेको छ । नेकपा माओवादी केन्द्रबाट गाउँपालिकातर्फ भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर भुजेल, महाभारत गाउँपालिकाको अध्यक्षमा कान्छा लाल जिम्बा, चौरीँदेउराली गाउँपालिकाको अध्यक्षमा रेणुका चौँलागाई र खानीखोला गाउँपालिकाको अध्यक्षमा इन्द्र बहादुर थिङ बिजयी भएका छन् ।

त्यस्तै जिल्लाको ४ वटा पालिकामा माओवादी केन्द्रका उम्मदेवारहरु उप–प्रमुख पदमा विजयी भएका छन् । माओवादी केन्द्रबाट नगरपालिकातर्फ नमोबुद्ध नगरपालिकाको उप–प्रमुखमा रत्न बहादुर लामा बिजयी भएका छन् । त्यस्तै गाउँपालिकातर्फ बेथानचोक गाउँपालिकाको उपाध्यक्षमा तारा राना तिमल्सिना, रोशी गाउँपालिकामा मिम बहादुर वाइबा र तेमाल गाउँपालिकाको उपाध्यक्षमा दलमान थोकर बिजयी भएका छन् ।

२०७४ सालको स्थान्ीय तहको निर्वाचनको तुलानामा स्थानीय तह निर्वाचन २०७९मा जिल्लामा नेकपा एमाले पछि परेको छ । यस वर्षको निर्वाचनमा नेकपा एमाले जिल्लाको एक पालिकामा प्रमुख र ३ वटा पालिकामा उप–प्रमुख पदमा मात्र बिजयी भएको छ । नेकपा एमालेले जिल्लाको धुलिखेल नगरपालिकाको प्रमुखमा मात्र जित हासिल गरेको छ । नगरपालिकाको प्रमुखमा अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) बिजयी भएका छन् ।

नकेपा एमालेबाट बनेपा नगरपालिकाको उप–प्रमुखमा बिमला सापकोटा दाहाल, पनौती नगरपालिकाको उप–प्रमुखमा गीता बञ्जारा र पाँचखाल नगरपालिकाको उप–प्रमुखमा सूर्यमाया दनुवार बिजयी भएकी छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले एक पालिका प्रमुखमा मात्र जित हासिल गरेको छ । नेकपा एकीकृत समाजवादीबाट जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा टोक बहादुर वाइबा निर्वाचित भएका छन् । काभ्रेमा दुई वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिकाको वडा नं १ मा प्रेमबहादुर तामाङ र बेथानचोक गाउँपालिकाको वडा नं ५ मा राजकुमार वाइवा (राजु) निर्वाचित भएका हुन् ।

जिल्लाका १३५ वडामध्ये ६१ वडामा कांग्रेस, ४३ वडामा एमाले, २४ वडामा माओवादी केन्द्र, ४ वडामा एकीकृत समाजवादी, २ वडामा स्वतन्त्र र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।

 


तपाईको प्रतिक्रिया