पनौती नगरपालिकामा मेयरका उम्मेदवार हुन्, भीम न्यौपाने। उनले दोस्रो पटक मेयरमा उम्मेदवारी दिएका हुन्। पहिलो पटक उनले भैंसी सुत्केरी भत्ताको व्यवस्था गरेर चर्चा कमाएका थिए। सुरुआतमा धेरै आलोचना पनि खेपे । यो कार्यक्रम सफल भएपछि अन्य स्थानीय तहले पनि सञ्चालन गर्न थालेका छन्। उनी आफूलाई जनताको सेवक भन्न रुचाउँछन्। मेयरका उम्मेदवार न्यौपानेसँग गरिएको कुराकानी यस अंकमा प्रस्तुत गरिएको छ ।

दोस्रो पटक पनौतीमा प्रमुख पदमा उम्मेदवार हुनु भयो नि ?

स्थानीय तहको पहिलो जनप्रतिनिधि भएर हामी आयौं।  पनौतीमा बसोबास गर्ने ५६ हजार नागरिकलाई स्थानीय सरकारको महसुस गराएका छौं, त्यो कामलाई अगाडि बढाउँछौं। ससाना योजनालाई पनि हामीले व्यवस्थित ढंगले अगाडि बढाएका छौं। केही ठूला योजना सुरुआत गरेका छौं। पनौतीमा रंगशाला बनाउँदैछौं। पनौती सम्पदाको सहर हो।

यसलाई मन्त्रिपरिषद्ले  २२/२४ वर्ष पहिला नै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय गरेको थियो। स्थानीय सरकार नभएकाले  अगाडि बढ्न सकेको थिएन, कागजपत्र पनि भेटिएनन्। हामीले सबै कागजात तयार गर्‍र्यौं। पुरातत्त्व विभाग, मन्त्रालय हुँदै मुख्यसचिवको कार्यालयमा दर्ता गरेका छौं। त्यो सरकारले यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लगेको छैन।

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्ने विषय के हुँदैछ ?

निर्वाचित भएर आएपछि नै विश्व सम्पदा सूचीमा राख्ने विषयमा काम भयो। विगतमा भएका कामको अध्ययन गर्‍यौं तर कागजात नै फेला पारेनौं। फेरि सम्पूर्ण कागजात संकलन गरेर मुख्यसचिवको कार्यालयमा दर्ता भएको छ। सम्बन्धित मन्त्रालयले यसलाई अगाडि बढाएको छैन। निकट भविष्यमै अगाडि बढाउँछौं।

विश्व सम्पदाका लागि आधार के के छन् ?

पनौती पुरानो सहर हो। पुराना मठमन्दिर धेरै छन्। इन्द्रेश्वर मन्दिर पशुपतिनाथको मन्दिरभन्दा पुरानो हो भन्ने ऐतिहासिक दस्तावेजमा छ। घरहरू पनि धेरै पुराना छन्। डेढ दुई वर्ष पुराना घर पनि यहाँ छन्। २०५६ सालमा १४ ठाउँमा प्रस्ताव विश्व सम्पदा सूचीमा राख्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। १४ ठाउँमध्ये पनौती एक हो। तर यसबीचमा फाइल अगाडि बढेन। जसले गर्दा सूचीकृत हुन सकेनौं।  निर्वाचित भएपछि प्रयत्न गर्‍र्यौं। तर पुरानो फाइल नै पाएनौं। नयाँ प्रस्ताव गरेर पठाएका छौं। मुख्यसचिवको कार्यालयमा दर्ता भएर बसेको छ।

नगरपालिका भए पनि गाउँ नै बढी छ। काम कसरी गर्नु भएको छ ?

पनौती नगरपालिका हो तर यसको आधार गाउँ नै हो। किसानको बाहुल्य भएको नगरपालिका हो यो। सामूहिक कृषि, पशुपालन, वैज्ञानिक कृषि प्रणालीलगायतलाई ध्यानमा राखेर अघि बढाएका छौं । हामीले स्थानीय तहको जग हालेका छौं। यसलाई पूरा गर्न बाँकी छ। मैले थालेका धेरै योजना निरन्तर चलिरहेका छन्। ती योजना पूरा गर्न पनि मेरो उम्मेदवारी आवश्यक भएको हो।

लामो समय जनप्रतिनिधिविहीन रहेका कारण स्थानीय तह अस्तव्यस्त थियो। २०७२ भूकम्पले थिलथिलो बनाएको थियो। नागरिकका घर बनाउन पनि समय खर्चिनु पर्‍यो। कोभिडले नराम्ररी आक्रमण गरेको थियो। दुई वर्ष मात्रै स्थानीय सरकारले आफ्नो योजनामा काम गर्न पायो।

अबका पाँच वर्ष के गर्नुहुन्छ ?

जति काम गरेका छौं, जग मात्र बसाएका हौं। छानो हाल्न बाँकी छ। छानो हालेर व्यवस्थित घर पूरा गर्न यो उम्मेदवारी हो। हामीलाई दोस्रो पटक सेवा गर्ने मौका प्रदान गर्नु हुनेछ। हामी मालिक होइनौं। जनताको सेवक हौं, हुँदै आएका छौं। हरेक सुखदुःख र विकास निर्माण सवालमा साथ हुनेछौं। धेरै काम यो पाँच वर्षमा गर्छौं। नागरिकलाई काम हस्तान्तरण गर्छौं। यस अर्थमा हामी पनौतीमा पुनः निर्वाचन जित्छौं।

अर्को कुरा, पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमसत्ता पक्षमा देखाएको साहस, २०७२ असोज ३ मै संविधान जारी गर्न राखेको चट्टानी अडान, समृद्ध नेपाल, सुखी नेपाली बनाउन अघि सारेका लोकप्रिय कार्यक्रमले एमाले नै अब्बल पार्टी हो भनेर प्रमाणित भएको छ। त्यो पनि हाम्रो जितको आधार हो।अर्कोतिर, एमाले पार्टी चोइटिएको पनि साँचो हो। पार्टीभित्र टन्न खानपिन गरिसकेर, डकार्नेहरू मात्रै लाखापाखा लागेका हुन्। काठमाडौंमा अलग हुनुभएको हो। त्यसको असर गाउँमा छैन। गाउँका एमाले एकीकृत एमालेका पक्षमा छन्। एमालेका कार्यकर्ता एक छन्। कार्यकर्तामा निराशा छैन। हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हो। यहाँ एमाले एक्लै छ अरू एक ठाउँमा। तर पनि जित्छौं।

तपाईंको जितको आधार यिनै हुन् ?

भनिसकेें, धेरै कुरा यही हुन् हाम्रो जितको आधार। पार्टीले राष्ट्रियतामा लिएको अडान, पार्टीको स्पष्ट सोच, कार्यक्रम र  कार्यदिशा, हामी कार्यकर्ताको इमान्दारिता र पाँच वर्षमा हामीले गरेका काम नै हाम्रो जितको आधार हो। पाँच वर्षमा हामी पनौतीमा जे जति काम गरेका छौं, त्यसको जस, अपजस त मैले नै लिने हो। पनौतीमा गरेका काम कुनै विवादमा छैनन्। हामीले गरेका काममा प्रतिपक्षमा पनि असन्तुष्टि छैन। जनता सन्तुष्ट छन्। त्यसकारण हामी निर्वाचन जित्छौं।

गठबन्धनको प्रभाव त छैन ?

गठबन्धन अस्तव्यस्त छ। त्यो गठबन्धन काठमाडौंबाट बनेको छ। गाउँबाट बनेको होइन। त्यो गाउँमा छैन, यहाँ आई पनि पुग्दैन। यसले गाउँमा केही असर पार्दैन।

पनौतीलाई कृषि हब बनाएको कुरा गर्नुभयो, त्यो के हो ?

बेमौसमी तरकारी खेतीपाती गर्नेदेखि सामूहिक कृषि प्रणालीसम्म विकास गरेका छौं। यसको विशेष उद्देश्य छ। धेरै नागरिक खाडी मुलुकमा छन्। त्यसले गर्दा गाउँ शून्य छ, परिवार अस्तव्यस्त छ। छोराछोरी पढाउन परिवार सहर जानु भएको छ। बा–आमा अठ्यारोमा गाउँमै हुनुहुन्छ।

सामूहिक कृषि प्रणालीको लक्ष्य यहाँका नागरिकले वैदेशिक रोजगारीको खाडीमा जानु नपरोस्, आर्थिक उत्पादनको स्रोत बढाउन सकियोस् भन्ने नै हो। पल्लो गाउँमा पनि यसको प्रभाव परोस् भन्ने उद्देश्य हो। हामीले कानुन नै बनाएर सामूहिक कृषि प्रणालीको सञ्चालन गरेका छौं। न्यूनतम पाँच जनाको समूह बनाएर के गर्ने भन्ने प्रस्ताव ल्याए प्राविधिक टोली खटाएर माटोको जाँच गराउँछौं। यो प्राविधिक सहयोग नगरपालिकाले नै गर्छ। मलखाद, बिउबिजन, एक वर्षको भाडा पनि हामी नै  तिरिदिन्छौं। प्राविधिक सहयोग वर्षभरि दिन्छौं।

सामूहिक कृषि प्रणालीका लागि पशुपालनसँगै अगाडि बढाएका छौं। भैंसी प्रबन्धन कार्यक्रम कानुन नै बनाएर अगाडि बढाएका छौं।  ९ सय ६ वटा पाडी वितरण गरेका छौं। यीमध्ये दुई सयभन्दा बढी ब्याइसकेका छन्। वितरण गरिएका ८० प्रतिशत ब्याउने खालका छन्। नब्याउने २० प्रतिशतको सट्टपट्टा गर्छौं। अर्को किनाउँछौं। २०७४ मा निर्वाचित भएपछि हामीले तथ्यांक लियौं। यसभन्दा अगाडि पनौतीमा १२ सय भैंसी आउँथ्यो। सरदर आर्थिक हिसाब आठ करोड रकम बाहिर जाँदो रहेछ।

लैनो किन्यो, बकेर्नो बाहिर पठायो। त्यसपछि हामीले कानुन नै बनाएर भैंसीको सुत्केरी भत्ता व्यवस्था गर्‍यौं। बकेर्नो बाहिर नपठाउने काम भयो। पहिलो बेतमा पाँच हजार दिन्छौं। पछिल्ला बेतहरूमा दुई/दुई हजार दिन्छौं। त्यसका लागि बिमाको व्यवस्था गरेका छौं। त्यो चाहिँ अनिवार्य हो।

के भैंसी सुत्करी कार्यक्रम सुरुआत भएपछि भैंसीको आयात घट्यो त ?

हो, त्यसपछि भैंसी आयात घटेको छ। पहिलो वर्ष १२ सय भैंसी आएका थिए भने दोस्रो वर्ष सात सयमा झरेको थियो। गत वर्ष तीन सयको हाराहारीमा मात्रै आयात भएको तथ्यांक छ। गाउँभरि भैंसी ब्याएका छन्। अहिले संकटमा परेका छौं। किसानहरू भैंसी बेच्न पर्‍यो भन्न थाल्नु भएको छ। बेच्ने विषयमा पनौतीमा सहकारी एवं वित्तीय संस्था सम्झौता गरेका छौं। भैंसी धितो राखेर सहकारीबाट ऋण दिन्छौं। ब्याज नगरपालिकाले बेहोरिदिन्छ।

भैंसीपालनबाट कति लाभ हुन्छ ?

मेरा पनि दुईवटा भैंसी र गाई छन्। सम्पूर्ण श्रमको हिसाबमा धेरै नाफा त हुँदैन। साउनमा भकारो सोर्न गाह्रो हुन्छ। बाहिरका मान्छेले पाँच हजार दिए पनि सोर्दैन। आफैं पाडी हुर्काउनु हुन्छ। मूल पुँजी गए पनि। अनि त्यो पुँजीको रूपमा विकास हुन्छ। गाउँमा किसान दैनिक रोजगारी छैनन्। गाउँमा आत्मसन्तुष्टि लिएर काम गरेका किसान घाटामा जानु हुन्न। त्यसका लागि सिंगो श्रम हिसाब धेरै नाफा हँुदैन। यसका लागि घाँसेबारीको पनि विकास गर्नु पर्‍यो।

यो कार्यक्रममा कत्तिको आकर्षण छ त ?

आकर्षण क्रमशः बढ्दै छ। अहिले गाउँबस्तीमा एउटा पाल्नेले दुई, दुई पाल्ने तीन, तीन पाल्नेले चार वटा पाल्न थालेका छन्। भैंसीपालनमा व्यावसायिक रूपमा फर्म विकास भइरहेको छ। वैदेशिक रोजगारीमा फर्केर फर्म बनाएर व्यावसायिक भैंसीपालनमा लाग्नु भएको छ। किसानलाई राम्रो गर्छ। मध्यपहाडी भूगोलमा राम्रो भैंसी कहाँ पाइन्छ ? पनौतीमा भन्ने सन्देश दिन चाहन्छौं। अहिले भैंसी तराई मधेसबाट ल्याउनुपर्ने अवस्था छ। हामी यहाँबाट बाहिर पठाउँछौं। विदेशबाट आएका युवालाई सामूहिक वा व्यक्तिगत रूपमा कृषि एवं पशुपालन कार्य गर्न आवश्यक अनुदान तथा सहुलियत ऋणको व्यवस्था गर्नेछौं। भैंसी सुत्केरी भत्तालाई निरन्तरता दिनेछौं। गाई सुत्केरी भत्ताको सुरुआत गर्नेछौैं। पनौती नगर भैंसी र गाईको स्रोत केन्द्रको रूपमा विकास हुनेछ।

७ सय ५३ तहभन्दा पनौतीले के फरक काम गर्‍यो ?

७ सय ५३ वटै स्थानीय तहमध्ये बिल्कुुलै नौलो काम थालेको छु। भैंसी प्रवद्र्धन कार्यक्रम बिल्कुलै भिन्न कार्यक्रम हो। जब हामीले भैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत भैंसीलाई सुत्केरी भत्ताको सुरुआत गर्‍यौं, त्यसका लागि कानुन नै बनायौं। तब धेरै आलोचना पनि खेप्यौं। सुत्केरी भत्ता महिलाले नै नपाएको देशमा भैंसीको सुत्केरी भत्ता भन्ने कुरा बिल्कुलै नयाँ र अनौठो थियो। आलोचना सहेर यस कार्यक्रमलाई निरन्तरता दिएँ। जब यसबाट लाभ हुन थाल्यो, किसान पनि यो कार्यक्रममा सहभागी हुन थाले। आलोचना मत्थर मात्रै भएन। हामीसँग अन्य स्थानीय तहसमेत यो विषयमा सल्लाह लिन आउन थाले। अहिले त तीन सयभन्दा बढी स्थानीय तहले यो कार्यक्रम अगाडि बढाएका छन्।

भैंसी नै छान्नुपर्ने कारण ?

हो, यसको विशेष कारण छ। हाम्रा तीन वटा वडा भैंसीका निमित्त राम्रो छ। किसान पहिला पनि भैंसी पाल्थे। काठमाडौं ३७ किलोमिटर टाढा छ। त्यो हाम्रो बजार हो। काठमाडौंमा देखिएको दूधको अभाव यहाँबाट पूर्ति हुन्छ। ६७ हजार लिटर दूध यहाँबाट काठमाडौं जान्छ।

काभ्रेका १३ स्थानीय तहमा सबैभन्दा बढी दूध उत्पादन गर्ने पनौती हो। भैंसी पालेर कोही घाटामा जाँदैन। लैनो बनाए क्यासमा जाने हो। त्यसैले यो छान्यौं। नागरिकको रुचि पनि थियो। बाहिर जाने ८/१० करोड रोक्न सकेका छौं। बेरोजगार भएपछि मान्छे बिग्रिन्छ। दुई/तीन वटा भैंसी पाल्यो भने त्यसैमा व्यस्त हुन्छ, आम्दानी पनि हुन्छ। १२ वडालाई सर्भेक्षणका आधारमा विभाजन गरेका छौं। साभार : अन्नपूर्ण पोष्ट दैनिकबाट


तपाईको प्रतिक्रिया