सहकारीको माध्ययमबाट स्थानीय समुदायको सामाजिक, आर्थिक, सास्कृतिक तथा वातावरणीय विकास सम्भव छ भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धानबाट समेत पुष्टि भई सकेको छ । सहकारी संस्थाहरूको सञ्चालन र सहकारीको दिगो विकासका लागि विभिन्न प्रकृतिका सहकारी संस्था तथा शेयर सदस्यहरू आआफ्नो कार्य क्षेत्रमा तल्लीन भएर लागि रहेका छन् । समुदायमा स्थापित सहकारी संस्थाहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई अनुसरण गर्दै अगाडी बढिरहेका छन् । सहकारी संस्थाहरूको विकास र शेयर सदस्यहरूको उन्नति र प्रगतिका लागि सहकारी संस्था तथा शेयर सदस्यहरूले सहकारी सम्बन्धी योजनाका खाकाहरू प्रस्तुत गर्दै जानु र कार्यान्वयन समेत गर्दै अगाडि बढ्नु जरूरी हुन्छ । त्यसो गर्न सकियो भने सहकारीको उद्देश्य अनुसार यसको विकास हुन सक्छ ।

कतिपय सहकारी संस्थाको नेतृत्व गरिरहेका सञ्चालकहरूले कुनै ठोस योजनाविना नै सहकारी संस्था सञ्चालन गर्ने गरेको हुनाले सहकारीहरू धरासयी भएका उदाहरणहरू पनि धेरै छन् । कुनै पनि व्यवसायिक संगठनको सफलताका लागि तत्कालीन र दीर्घकालीन योजना तथा रणनीति हुनु जरूरी ठानिन्छ । योजना निर्माण गर्ने क्रममा सरोकारवालाहरूको सहभागिता आवश्यक हुन्छ । योजना निर्माण गर्ने क्रममा नीतिगत व्यवस्था र आवश्यक स्रोत सामग्रीको पनि आवश्यकता पर्छ । त्यसको लागि सबैको सहभागिता र सहयोगमा जनशक्तिको व्यवस्थापन, आन्तरिक तथा वाह्य स्रोतको व्यवस्थापन मिलाउने काम गर्नुपर्छ ।

यसका साथै व्यावसायिक गतिविधिमा किसान, श्रमिक, युवा, महिला, आर्थिक रूपले पछाडि परेका वर्ग तथा समुदायका मानिसहरू र सीमान्तकृत समुदायलाई समेत समावेश गर्ने कुरामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । योजना निर्माण गर्दा सामाजिक आर्थिक तथा लैङ्गिक असमानतालाई न्यूनीकरण गर्न मद्दत गर्ने र जातिगत विभेद तथा गरिवीलाई न्यूनीकरण गर्ने विषयमा समेत ध्यान पु¥याउनु जरूरी हुन्छ । त्यसो गर्न सकियो भने सहकारीको क्षेत्र पनि फराकिलो हुँदै जान्छ ।

योजना भनेको व्यवस्थापनको पहिलो र महत्त्वपूर्ण कार्य हो । विनायोजना सुरू गरिएका कामहरू सफलतापूर्वक अगाडि बढाउन सजिलो हुँदैन । योजना बनाउँदा पहिले गरेका विभिन्न काम र तिनबाट प्राप्त सफलता तथा असफलताबाट पाठ सिकेर सोही आधारमा पछिसम्म टिकिरहने खालका योजना निर्माण गर्नु पर्दछ । सहकारी संस्थाहरू निर्दिष्ट उद्देश्यहरूसँग सम्वन्धित हुने गर्दछन् । निर्दिष्ट गरेका उद्देश्य पुरा गर्नका लागि योजना बनाइ कार्य सम्पादन गर्दा सहकारी संस्थामा रहेका सहकारीका उद्देश्यहरू सजिलै प्राप्त गर्न सकिन्छ । त्यसैले पनि योजना अपरिहार्य मानिन्छ ।

मानिसले दैनिक जीवनमा केही न केही कामहरू गर्दै आइरहेको हुन्छ । हरेक मानिसले प्रत्येक पटक नयाँनयाँ काम र कुराहरूको खोजी गरिरहेको हुन्छ । त्यसैले नयाँ कुरा खोजी गर्ने क्रममा सामाजिक परिवर्तनलाई आत्मसात समेत गर्न सक्नुपर्छ । भविष्यमा आउने अनिश्चिततालाई समाधान गर्न वा निश्चितता तर्फ अगाडि बढाउनका लागि योजना अपरिहार्य वा अनिवार्य मानिन्छ । सहकारी संस्थामा रहेका वा नेतृत्व गरिरहेका नेतृत्वकर्ताले स्थानीयस्तरमा भइरहेका श्रोत साधन तथा शक्तिहरूलाई असहजता नबनाइ वा खेर जान नदिई सम्पर्क र समन्वय कायम गर्दै अगाडि बढ्नु पर्दछ । यसका लागि आफ्नो क्षमतालाई योजना सहित प्रस्तुत गर्नुपर्दछ ।

सहकारी संस्थाहरूमा व्यावसायिक योजनाको पनि त्यत्तिकै महत्त्व हुन्छ । यसका लागि स्पष्ट लक्ष्य तोकिएको हुनुपर्दछ । योजना तयार गर्दा अधिकार प्राप्त अधिकारी र विषय विज्ञको आवश्यकता पर्छ । योजनाको लक्ष्य वास्तविक, विशिष्ट, सर्वस्वीकार्य र मापन योग्य हुनुपर्दछ । योजनामा विगतमा भएका कार्यहरूको समीक्षा तथा समाधान गर्नुपर्ने मुख्य मुद्दाहरूलाई उजागर गरिएको हुनुपर्छ । साथै योजना अनुसारको काम सम्पन्न गर्नका लागि के कति बजेट आवश्यक पर्ने हो ? रणनीतिक महत्त्व के हुने हो ? कुन श्रोतबाट पुरा गरिने हो ? योजनाको संरचना र अवधि कति हुने हो ? कति समयमा सम्पन्न हुने हो ? कार्यान्वयनका लागि रणनीति के हुने हो ? समीक्षा कति कति अवधिमा गरिने हो ? अनुगमन तथा मूल्याङ्कन कुन निकायबाट गरिने हो ? क्रियाकलापहरू के के हुने हुन् ? जोखिमहरू के के हुन सक्छन् ? यी यस्ता विषयमा गम्भीरतापूर्वक ध्यान दिनु जरूरी हुन्छ । साथै त्यसरी तयार गरिने योजनाहरू छोटो अवधिमा पुरा गर्ने, मध्ययम अवधिमा पुरा गर्ने वा लामो अवधिमा पुरा गर्न सकिने भन्नेजस्ता अवधिका हिसावले पनि मापन गरिनु पर्दछ ।
योजनाका तत्वहरू
योजना आफैमा गहकिलो, हरेक ठाउँमा आवश्यक पर्ने र कुनै पनि कामको सफलताको सिंडीको रूपमा रहेको शब्द हो । जानीनजानी यसको प्रयोग जीवनका हरेक पलहरूमा गरिएको हुन्छ । एउटा सचेत मानिसले भोलि बिहान उठेदेखि साँझसम्म के के काम गर्ने भन्ने योजना बनाएर मात्रै सुत्ने गर्छ । त्यसरी योजना बनाउँदा आफूले दिनभरि गरेका कामको समीक्षा तथा मूल्याङ्कन गर्दै भोलिको लागि के गर्दा राम्रो हुन्छ भन्ने बाटो समेत कोर्छ । त्यसरी योजनावद्ध तरिकाले गरिएका काम समयमै सफल हुन्छन् भन्ने कुरा माथि पनि चर्चा भइसकेको छ ।
त्यति महत्त्वपूर्ण अवस्थामा रहेको योजनाका तत्त्वहरू के हुन सक्छन् वा छन् भन्ने बारेमा अब यहाँ चर्चा गरिन्छ ।
योजनाका तत्त्वहरू लक्ष्य, उद्देश्य, रणनीति, नीति, प्रक्रिया, तरिका, नियम, बजेट, व्यवस्था, कार्यान्वयन, योजना, वा कार्ययोजना, अनुगमन, मूल्याङ्कन, संगठन, संरचना, जिम्मेवारी, जोखिम आदि मुख्य हुन् । यिनको बारेमा निम्नानुसार चर्चा गरिएको छ ।

१. लक्ष्य
लक्ष्य भनेको योजनाको पहिलो खुड्किलो हो । योजनाको समाप्ति पछिको अवस्था कस्तो हुनुपर्दछ भन्ने अमूर्त बिम्बलाई लक्ष्यका रूपमा लिन सकिन्छ । रणनीतिक योजना तथा दीर्घकालीन योजनामा सोच तथा गन्तव्यको स्पष्ट पहिचान सहित अगाडि बढाउन सक्नुपर्छ । यसो गर्दा गरिने कामको गुणस्तर वृद्धि भई सन्तुष्टि प्राप्त हुन सक्छ । लक्ष्य निर्धारण भएको कुनै एक योजना समयमै पुरा हुन पनि सक्छ र अन्य कुनै योजना थप गर्दै पुरा गर्नुपर्ने पनि हुन सक्छ । जस्तै उदाहरणका लागि सहकारी संस्थाको उद्देश्यमा नै स्पष्ट लेखिएको हुन्छ कि सहकारीमा आवद्ध रहेका शेयर सदस्यहरूका आर्थिक, सामाजिक तथा सास्कृतिक विकास गर्ने र आर्थिक समृद्धिका लागि पहल गर्ने । यसका लागि केही सहकारी संस्थाहरूले सुरूवाती अवस्थामा नै ३ वर्षे तथा ५ बर्षे योजना निर्माण गर्दै अगाडि बढाइरहेका पनि देखिन्छन् ।

२. उद्देश्य
योजना निर्माण गर्दा सहकारी संस्था तथा अन्य संगठनहरूमा उल्लेख भएका उद्देश्यहरूको समेत ख्याल गरी निर्माण गर्दा छोटो समयमा नै प्रगतिउन्मुख र गुणात्मक हुने गर्दछ । संस्थाको कार्य सम्पादन र नतिजा तथा जीवन्तताका लागि उद्देश्यहरू आवश्यक रहेका हुन्छन् ।

३. नीति
कुनै पनि सहकारी संस्थामा योजना निर्माण गर्दा सहकारी तथा अन्य संस्थाले तयार गरेका नीतिहरू के कस्ता रहेका छन् भन्ने विषयमा चासो राख्न सकेमा राम्रो हुन्छ । खासगरी नीति तिन प्रकारका रहेका पाइन्छन् । ती हुन्—आधारभूत नीति, सामान्य नीति र विभागीय नीति । यसका साथै संस्थामा रणनीतिक कार्यहरूप्रति पनि ख्याल गर्नुपर्दछ । रणनीतिले योजनामा गुरूयोजनाको कार्य समेत गर्दछन् भन्ने आम बुझाइ रहेको पाइन्छ ।

४. योजनाका चरणहरू
सहकारी संस्था तथा विभिन्न संस्था संगठनहरूमा योजना निर्माण गर्दा उद्देश्य पहिचान तथा स्थापनाको बारेमा राम्रोसँग बुझ्नु पर्दछ भने संस्थामा वर्तमान अवस्थाको जाँच, भविष्यका सोच र सम्भाव्य असरहरूको बारेमा समेत ख्याल गरी अगाडि बढ्दा राम्रो मानिन्छ ।
यी त केही उदाहरण मात्रै भए । अतः सहकारी सञ्चालन गर्दा योजना र त्यसका तत्त्वप्रति ख्याल गर्नु जरूरी मानिन्छ । योजना विनाको काम मियो विनाको दाइँजस्तै हुने भएकोले सहकारी सञ्चालन गर्दा स्पष्ट रूपमा योजनासहित अगाडि बढ्ने कुरामा सरोकारवाला व्यक्ति, समिति, शेयर सदस्यहरू सबै सचेत भएर लाग्नु जरूरी हुन्छ । सही योजनासहित कामको थालनी गर्ने बानी बस्यो भने कुनै पनि काममा सफलता हासिल गर्न सकिन्छ । (लेखक जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)


तपाईको प्रतिक्रिया