अरबौ सत्वहरुको बासस्थान यो पृथ्वी लोकमा ‘म को हुँ ?’ भन्ने खोज्ने को नै छ र ? कर्म हेतुको यो भवसागर भित्र तारन्तर तैरिरहने, सदियौँ देखीको सिन्चित संस्कारलाई चटक्क छोडेर, परम मुक्तिको त्यो विशाल ढोकालाई, खै कसले पो ढकढक्याउने साहस बोक्छन र ? किनकी लोकको सत्वहरु त केबल यहि भौतिक गन्जागोलमै आफ्नो स्वप्नरुपि बिपनाहरु पूरा गर्नकै खातिर दौडिरहेकै हुन्छन । नुनिलो नुनपानी पिएर तिर्खा मेटाउने चाहना कहिल्यै पूरा हुन्छन र ?

आमाको गर्भको ९ महिने सकसपुर्ण जीवन भोगेर, हाम्रो ‘चित्त सन्तान’ सहितको यो मनुवा चोला धर्तिमा जन्म लिन्छन । जन्मदै हाम्रो चित्तको ‘खोज’ स्वभावलाई जीवनको अन्त्यसम्म पनि अनभिज्ञ भएर यो जगत छोडेर जान्छौ । ‘खोज’ स्वभावको चित्त लिएर आएको भएपनी खोज्नुपर्ने खोज्न नपाउँदै सारा सत्वहरुले यो अमुल्य चोलालाई बिताईरहेको छ । शिशु अवस्थामा आफ्नो भोक मेटाउन आमाको दुधको खोज देखी अन्तिम मृत्युक्षणसम्म आइपुग्दा एक घुटको पानी खोजेरै सकिन्छ हाम्रो जीवन ।

समय र उमेर बढदै जाँदा, खेलौनाहरु खोज्दै, आफ्नै वरिपरिको ढुङ्गा, माटो, सा-साना काठका टुक्राहरुलाई नै खेलौना बनाएर चित्त बुझाईरहेका हुन्छौ । बाल्यकालमा आफ्नै उमेरका साथीहरु खोज्छन, खेल्छन, रमाउँछन, प्रेम गर्छन, घृणा गर्छन, रिसाउँछन, झर्किन्छन याबत हुँदै पनि अझै जिन्दगीलाई अघि बढाउँछन । युवा अवस्थामा उज्वल भविष्यको खोजको लागि अनेकौ अवसर र चुनौतिहरुको सामाना गर्दै अनेकौ काँचो अनुभवहरुलाई आफ्नै ढाँचा दिदै अगाडि लम्किरहेकै हुन्छौ ।

समय र उमेर परिपक्व हुँदै जादा त्यति नै परिपक्व समस्याहरु छाया सरि चलमलाउन आउछन । जीवनको प्रौढ पाइलाहरुमा जिम्मेवारी र उत्तरदायित्वले मान्छेलाई समाजको संस्कार नामको एउटा भुमरीमा धकेल्दिन्छन तैपनी मान्छे खोजिरहेकै हुन्छन । त्यसपछीको यात्रामा भने मान्छे, आफ्नो इज्जत, प्रतिष्ठा, मान सम्मान र भौतिकरुपी अनेकौ सम्पती नामको क्षणिक चिजकै खुशीमा अलप हुन्छन मान्छे । जिन्दगीको हरेक एक एक खोजहरुमा केबल मान्छेले, एकभारी घृणा, अहंकार, ईर्ष्या, लोभ, लालच, फुर्ति, तडकभडक र अन्य थुप्रै चिजहरु थुपारेर, जमाएर राख्छन जसले हाम्रो वास्तविक शान्त चित्तलाई थिचिराख्ने, उकुसमुकुस बनाईराख्ने र भित्र कता न कता अशान्त र आकुलब्याकुल बनाईराख्ने पार्छौ । यो सबै कुराको प्रतिबिम्ब आज हाम्रै परिवार, समाज र यो जगतको हरेक कुनामा देख्न सक्छौ । जहाँ पारिवारिक झैझगडा, सामाजिक बैमनस्यता, सार्वजानिक शत्रुता आगो सरि फैलिरहेको छ ।

अझै हाम्रो ‘खोज’ चित्तको नै अलिकती बढाईचढाई गरौ कि ! हरेक आमाबाबाले आफ्नो सन्तानहरुमा असल, नैतिक एवं सदगुणी गुणहरुको खोज गरिरहेको हुन्छ । हरेक श्रीमतीहरुले आफ्नो श्रीमानहरुमा जिम्मेवार, परिपक्व र परिवारप्रती उत्तरदायी स्वभावहरु खोज गरिरहेको हुन्छ । गुरुले आज्ञाकारी शिष्य, मालिकले इमान्दार नोकर, नेताले चम्चे कार्यकर्ता जसले जहाँ बाट जसोगरी भएपनी केही न केही राम्रैका लागि खोजिरहेकै हुन्छ । जहाँबाट मनमा शान्ती पाइयोस, दुःख नआइपरोस, बाधाहरुसङ्ग लडन र डटन सकियोस । यो नै हाम्रो चित्तको ‘खोज’ स्वभाव हो ।

अझै भनौ पत्रकारले भाइरल हुने सामाग्री, किसानले राम्रो फल दिने बिउबिजन, इन्जिनिएर, डक्टर, बैज्ञानिक, ड्राइभर सबै सबैले आफू अनुकुलका केही न केही कुराहरु खोजिरहेकै हुन्छन् । तर के त्यो खोजिरहेको सबै चिजहरु परिपुर्ती भएपछी हाम्रो खोज सकिन्छ त ? हाम्रो वास्तविक खोज के हो ? हामी साँच्चिकै के खोजिरहेका छौ ? के चाहिरहेका छौ ? हमेसा केही न केही खोजिरहने, चाहिरहने वास्तविक हामी को हौ त ? त्यो हामी भित्रको ‘म ’को हो त ? त्यसलाई पो खोज्ने हो कि ? लेखक : वीर बल तामाङ


तपाईको प्रतिक्रिया