शेयर सदस्यहरूको रकम बचत गर्ने र त्यही रकम आवश्यक परेका शेयर सदस्यहरूलाई ऋण दिनु नै सहकारी संस्थाको मुख्य उद्देश्य हो । त्यसैले सहकारी संस्थाहरूको नाम नै अमुक बचत तथा ऋण सहकारी संस्था भन्ने रहेको हुन्छ । सहकारी संस्थाप्रति शेयर सदस्यहरूको विश्वास घट्दै गएमा बचत रकम प्राप्त नहुने र प्रयाप्त बचत रकम नभएमा ऋण लगानीमा समस्या पर्ने हुँदा सहकारी संचालकहरूले प्रचलित ऐन, कानुन, नीति, नियमहरूको पालना गर्दै सहकारी संस्थालाई विश्वासिलो र भरपर्दो रूपमा अगाडि बढाउनु जरूरी हुन्छ ।

त्यसो गर्न सकियो भने शेयर सदस्यहरू विश्वस्त हुन्छन् र बचत रकममा वृद्धि हुन थाल्छ । त्यसको साथै ऋण प्रवाह गर्दा पनि प्रचलित ऐन, कानुन र नियमहरूको कडाइका साथ पालना गरियो भने ऋण डुब्ने सम्भावना कम हुन्छ । यस अध्यायमा सहकारी संस्थामा ऋण लगानी गर्दा के कस्ता कुरामा विचार पु¥याउनु पर्छ भन्ने विषयमा चर्चा गरिएको छ ।
ऋण भनेको के हो भन्ने कुरा प्राय सबैलाई जानकारी भएकै विषय हो । सजिलो तरिकाले यसलाई बुझ्नका लागि ऋण भनेको अरू व्यक्ति वा संस्थासँग भएको रकम आफ्नो कामको लागि लिने भन्ने बुझिन्छ । त्यसरी लिएको ऋणको दोहोरो सहमति वा प्रचलित नियमका आधारमा नियमित रुपमा व्याज समेत बुझाउनु पर्ने हुन्छ । ऋण लिँदा संस्था वा व्यक्तिका पनि आफ्नै प्रकारका सर्तहरू हुन सक्छन् । तिनको पालना गर्नु ऋणीको दायित्व हुन्छ ।

शेयर सदस्यहरूको पूँजी संस्थाले आफ्नो शर्त तथा नियम बमोजिम आफूले लिएको हुन्छ । त्यसरी संकलन गरेको रकम सहकारी संस्थाले सुरक्षित तरिकाले राखेको हुन्छ । सहकारी संस्थामा रहेको उक्त रकममध्ये शेयर सदस्यहरूले आफूलाई आवश्यक पर्ने रकम ऋण स्वरुप लिन्छन् ।कुनै व्यक्तिलाई रकमको आवश्यकता प¥यो भने पैसा भएको व्यक्तिसँग ऋण माग्छ । व्यक्तिसँग ऋण लिनु सजिलो हुँदैन । व्याज तथा शर्तहरू कडा हुन सक्छन् ।

कुनै व्यक्ति वा संस्थाले कसैलाई रकम हस्तान्तरण गर्नका लागि सम्बन्धित पक्षले कुनै न कुनै आधार तयार गरेको हुन्छ । हाम्रा वरिपरि पनि व्यक्ति वा संस्थाले विभिन्न प्रकृया अपनाई आफ्नो अनुकूलतामा धेरै व्याजदर कायम गर्दै ऋण लगानी गर्ने चलनहरू छन् । त्यस्तो अभ्यासले ऋण लिने व्यक्तिको दैनिक जीवनमा ठूलो उतारचढाव भइरहेको पाइन्छ । यसलाई सहजीकरण वा सजिलो बनाउन स्थानीयस्तरमा गठन भई सञ्चालनमा रहेका सहकारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

ठूलो हिस्सामा व्याज लिने व्यक्ति तथा संस्थाहरू बिस्तारै विस्थापित भई विधि सम्मत सस्तो व्याजदरमा लगानी गर्ने सहकारीहरूको प्रतिस्पर्धा सहितको विकास भएको छ ।
कसैसँग पैसा लिनका लागि ऋण दिने मानिसले पनि विभिन्न खालका विधि तथा नीतिहरू अपनाउँछ । कसैले पैसा पाउँछ भने दिने सहकारी तथा व्यक्तिको सर्त मान्न ऊ तयार हुुनुपर्दछ तर सर्त चाहिँ कस्तो मान्ने भन्ने विषयको ख्याल गर्नुपर्दछ । प्राप्त गरेको ऋण प्राप्त गर्नेले आफूलाई समस्या परेको कुरामा खर्च वा प्रयोग गर्ने गर्दछ ।

ऋण निश्चित अवधि वा समयमा फिर्ता गर्ने गरी लगानी गरिएको हुन्छ । ऋण लिएपछि शेयर सदस्यहरूको लागि अवसरको रूपमा प्रयोग गर्नुपर्दछ । किनभने आफ्ना आवश्यकतामा लिएको रकमलाई अन्य फजुल खर्चका रूपमा मात्र नभई सही अर्थमा आम्दानी, आय आर्जनका क्षेत्रहरूमा लगानी गर्न सक्नु पर्दछ । जसका कारण ऋण लिएको सहकारी संस्था वा व्यक्तिलाई सजिलै तिर्नको लागि वातावरण बन्न सक्छ ।

हाम्रो परिवेशमा आफ्नो गर्जो टार्न मुख्यतया चारवटा आर्थिक क्षेत्रहरू देखिन्छन् । वित्तीय क्षेत्रमा काम गर्ने विभिन्न निकायहरू जस्तै बैङ्क तथा सहकारीहरू नै प्रमुख रूपमा रहेका छन् । विशेष गरी सहकारीको क्षेत्र र आर्थिक क्षेत्रमा काम गर्ने यस्ता संस्थाहरू नै शेयर सदस्यहरूको आवश्यकता पुरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । अझ जुन स्थानमा सहकारीको पहुँच पुगेको हँुदैन त्यस्ता स्थानमा सदियौँदेखि चलन चल्दै आएका साहु महाजनहरूबाट आवश्यकतालाई पुरा गर्ने भूमिका निर्वाह भएको पाईन्छ । महङ्गो रूपमा लिइने यस्ता पैसाले जीवनलाई असहज बनाइदिन्छ ।

किनभने यस्तो पैसाको व्याजदरका कारण मान्छे उभो लाग्न सक्दैन । कुनैकुनै बेला त आफ्ना आवश्यकता पुरा गर्नका लागि आफ्ना नातेदार तथा इष्टमित्रबाट पनि आर्थिक खाँचो टार्न सकिन्छ । साथै समुदायमा रहेका विभिन्न किसिमका सामुदायिक संस्था तथा उपभोक्ता समिति तथा समूहहरूबाट समेत आर्थिक पक्ष व्यवस्थापन गर्न सकिन्छ ।
अधिकांश सहकारी संस्थाहरूको मुख्य कार्य भनेको आर्थिक परिचालन नै हो । सबैजसो सहकारीहरूले आर्थिक अथवा पैसाकै व्यवसाय गरेका हुन्छन् । सहकारी संस्थामा सबैभन्दा चनाखो हुनुपर्ने अर्थात् पारदर्शिता कायम गर्नुपर्ने पक्ष नै आर्थिक पाटो नै हो ।

जहाँ आर्थिक पक्ष सफल र सहज देखिन्छ, त्यहाँ शेयर सदस्यहरूको सहयोग र विश्वास जित्न सकिन्छ । संस्थामा रहेका नेतृत्वहरूसँग आर्थिक परिचालनको पक्ष राम्रो र ज्ञान भएको खण्डमा संस्था द्रुत गतिमा अगाडि बढ्न सक्छ । दर्ता भएर लामो समयसम्म पनि संस्थाको आर्थिक उन्नति हुन नसक्नु भनेको शेयर सदस्य र संस्था बीचको तालमेल सन्तोषजनक नहुनु पनि हो ।

सहकारी संस्थाहरूले ऋण प्रवाह गर्दा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । प्रचलित कानुन तथा सहकारीले बनाएका नीति नियमको पालन नगरी ऋण प्रवाह गरियो भने ऋण डुब्ने सम्भावना बढी हुन्छ । त्यसैले ऋण प्रवाह गर्दा ऋणीले कुन प्रयोजनका लागि ऋण लिन लागेको हो ? उक्त ऋण सही काममा प्रयोग हुन्छ कि हुँदैन ? लिएको ऋण तिर्ने क्षमता छ कि छैन ? ऋण लिनको लागि पेश गर्नु पर्ने प्रयाप्त धितो छ कि छैन ? आदि कुराहरूमा संस्थाका सदस्यहरूले ध्यान पु¥याउनुपर्छ । यसको साथै सहकारी संस्थाहरूले ऋण प्रवाहमा सहजता होस् भन्नका लागि ऋण उपसमिति पनि बनाएका हुन्छन् । ऋण प्रवाह गर्दा ऋण उपसमितिको सिफारिस लिने काम पनि गर्नुपर्छ । सबै प्रक्रिया पुरा गरी प्रवाह गरेको ऋण समयमै उठ्ने सम्भावना हुन्छ ।

त्यसको साथै सहकारी संस्थाबाट ऋण लिने व्यक्तिले पनि धेरै कुरामा ध्यान पु¥याउनु पर्छ । केको लागि ऋण लिने ? लिएको ऋणलाई कसरी बढीभन्दा बढी सदुपयोग गर्ने ? व्याज कसरी तिर्ने ? र साँवा कहिलेसम्म र कसरी तिर्ने भन्ने विषयमा स्पष्ट योजना बनाएर मात्रै ऋण लिँदा राम्रो हुन्छ । ऋण पाइयो भन्दैमा सहजै लिने र त्यसलाई सही रूपमा कार्यान्वयन नगर्ने गरियो भने त्यही ऋण पछि समस्या बन्न सक्छ । यस्ता कुरामा सबै सचेत हुनुपर्छ ।यस प्रकार कुनै पनि सहकारी संस्थामा बचत संकलन तथा ऋण प्रवाह मुख्य काम हुन् । यी कामलाई योजनाबद्ध र नियम संगत तरिकाले गर्नु जरूरी हुन्छ ।

(लेखक जिल्ला सहकारी संघ लि.काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)

 


तपाईको प्रतिक्रिया