राज्यको तिन खम्बे अर्थनीति अनुसार सहकारीलाई पनि महत्त्वपूर्ण पाटोको रूपमा हेर्न सकिन्छ । देशमा सञ्चालित धेरै सहकारी संस्थाहरूले आफ्ना कार्य क्षेत्रभित्र समुदायमा आधारित विभिन्न प्रकारका सेवा सुविधा सहित शेयर सदस्यहरूको आर्थिक विकासका पक्षलाई सवलीकरण गर्नमा तल्लीन भइरहेका छन् । आर्थिक पक्ष भन्ने बित्तिकै सहकारी संस्थाहरूमा बचत तथा ऋण लगानी र असुलीका पक्षहरू प्रत्यक्ष जोडिन आउँछन् ।

सहकारी संस्थामा भएको बचतलाई सही रूपमा लगानी गर्न सकिएन भने सहकारीलाई फाइदा हुनुको साटो घाटा पर्न सक्छ र ऋण प्रवाह गर्ने नाममा नियम विपरीत तरिकाले ऋण लगानी गरियो भने ऋण असुलीमा समस्या परी जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले संस्थामा रहेका सञ्चालक, ऋण उपसमिति तथा कर्मचारीहरूले संस्था मार्फत् ऋण लगानी गर्दा सम्वन्धित नीति, विधि तथा पद्धतिहरूको अध्ययन तथा ज्ञान हासिल गर्नुपर्छ र उचित व्यवस्थापन समेत गर्नुपर्छ । यसको साथै ऋण लगानी गर्दा पारदर्शिताको पनि आवश्यकता पर्छ ।

सहकारी संस्थामा तरलता वृद्धि हुनासाथ आत्तिएर आवश्यक पर्ने नीति नियमको पालना नगरिकनै व्यक्तिगत सम्वन्ध र बढी विश्वासका नाममा लगानी गर्ने परिपाटीले केही समयमै सहकारी संस्थाहरू धरासयी भएका उदाहरणहरू पनि हाम्रा सामु छन् । त्यसैले ऋण लगानी गर्दा सञ्चालक समिति वा ऋण समिति समेतले बढो ध्यान पु¥याउनु पर्छ र प्रचलित ऐन, कानुन तथा संस्थाका नियमलाई पूर्ण रूपमा पालना गर्नुपर्छ । यसरी विधिको अभ्यासलाई सही रूपमा उपयोग गर्न सकेमा सहकारी तथा ऋणी दुबैलाई फाइदा पुग्न जान्छ ।

ऋणसँग सम्वन्धित धेरै विषयमा सहकारी संस्थाहरूले विश्लेषण गर्दै अगाडि बढ्नु पर्दछ । नीति र विधि अनुसार ऋण लागनी गर्दै अगाडि बढेमा ऋणीले पनि प्रत्येक किस्तामा आफ्नो ऋणको साँवा व्याज तिर्न नैतिक दवाव पर्न जान्छ र उसले नियमितता दिन थाल्दछ । यसरी नियमित रूपमा ऋण असुली भएमा ऋणी तथा सहकारी दुबैलाई फाइदा पुग्ने निश्चित छ ।

समयमै ऋणको व्याज तथा साँवा बुझाउँदै गएमा ऋणीले अतिरिक्त हर्जना तिनुपर्ने अवस्थाबाट मुक्ति पाउँछ । पछिल्लो किस्तामा व्याज तथा साँवाको अंश पनि घट्दै जान्छ । समयमै ऋण तिर्ने ऋणीहरूले धेरै फाईदा लिन सक्छन् । यस विषयमा सहकारी तथा ऋणी दुबैले महसुस गरी विश्लेषण समेत गर्न सकेमा सहकारी संस्थाहरू दिगो रूपमा सञ्चालन हुन सक्दछन् र आम रूपमा सहकारीको विश्वास बढ्न थाल्छ ।

अन्य विभिन्न फाइदाहरूमा ऋणको भार कम हुन्छ, ऋणीले अनावश्यक खर्चमा कटौती गर्न थाल्दछ र समयमा ऋण तिर्ने बानीको विकास हुन्छ । यसरी ऋणीले आफ्नो बानीमा सुधार ल्याउँदा सहकारी संस्थाप्रति विश्वास बढ्दै जान्छ, पुनः सेवा प्राप्त गर्न सजिलो हुन्छ, संस्थामा आबद्ध सञ्चालक तथा कर्मचारीहरूको विश्वास पात्र हुन पुग्छ र विश्वास योग्य ऋणीको सूचीमा पर्न गई विभिन्न खालका आयमुलक कार्य गर्नमा अग्रसर हुनपुग्छ । त्यसो गर्नाले ऋणीको आत्म विश्वास र क्षमतामा वृद्धि भई थप आयमूलक काम गर्न सहज हुन्छ ।

यस्तो तरिकाले सहकारी संस्थालाई पनि फाइदा पुग्ने देखिन्छ । ऋणीले नियमित रूपमा आफ्नो व्यक्तिगत कारोवार सञ्चालन गर्दै अगाडि बढेमा संस्थामा तरलता समेत स्थिर हँुदै जाने र संस्थाको आर्थिक कारोवारमा वृद्धि हुने, सम्पूर्ण सदस्यहरूलाई समयको अन्तरालमा लाभान्वित गर्न सकिने, संस्थामा पूँजीको अभाव नहुने, ऋण डुब्ने सम्भावना न्यून हुने, संस्थाको आम्दानीमा वृद्धि हुने, संस्था दिगो रूपमा सञ्चालन हुनेमा ढुक्क हुन सकिन्छ ।

सहकारी संस्थाहरूमा ऋणीले सजिलै ऋण तिर्छ भन्ने विश्वास कमै गर्न सकिन्छ । व्यवसाय राम्रै भएको अवस्थामा पनि कुनै न कुनै वहाना बनाई ऋणीले आफ्ना व्यवहारिक समस्या देखाइ संस्थासँग क्रियाप्रतिक्रिया जनाइरहेको अवस्था पनि देख्न सकिन्छ । त्यस्तो अवस्थामा संस्थाले प्रचलित कानुन, सहकारी नीति तथा नियमको परिधिभित्र रहेर त्यसैको सहारामा ऋण असुल गर्नुपर्ने हुन्छ । सुरूको अवस्थामा नै खुल्ला रूपमा व्यवहार देखाउन थालियो भने संस्था जोखिममा रहने पक्का हुन्छ । त्यसैले सहकारी संस्थामा विभिन्न खालका समस्याहरू आउन सक्छन् । जसअनुसार जुन शीर्षकमा ऋण लगानी हुन्छ वा भएको छ त्यस विषयमा अनुगमन समेत गर्नु उपयुक्त हुन्छ ।

लगानी भएको ऋण सही ठाउँमा लगानी नहुन सक्दछ । त्यसै कारण पनि विश्लेषण सहित ऋण लगानी गर्नु नै उपयुक्त मानिन्छ । सबैभन्दा उपयुक्त विषय के हो भने ऋण लगानी गर्दा सम्वन्धित ऋणीले आवश्यक व्यवसायिक योजना बनाएको छ छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । योजनाविना संस्थामा पेश हुन आएका फाइललाई राम्ररी हेरी योजना निर्माण गर्न र आवश्यक प्रकृया पु¥याउन सल्लाह दिनुपर्छ । त्यसो गरिएन भने संस्था तथा ऋणी दुबैलाई हानी नोक्सानी हुन जान्छ ।

व्यवसायिक योजना बनाउनु सजिलो कुरा अवस्य होइन । यसले पूर्णता पाउनका लागि ठूलो मिहेनत गर्नुपर्दछ । यो प्राविधिक विषय पनि हो । यस्ता विषयमा ऋणी स्वयम् जानकार हँुदैनन् भने सहकारी संस्थाले त्यस विषयमा राम्ररी सम्झाउने र योजना निर्माण गर्नमा सहयोग पनि गर्नुपर्छ । यदि यो कुरा संचालक, उपसमितिका पदाधिकारी तथा कर्मचारीहरूलाई समेत जानकारी छैन भने पनि आवश्यक तालिमको व्यवस्था गरी सबै जना जानकार हुने वातावरण सिर्जना गर्नुपर्छ ।

ऋण लगानी गर्दा व्यवसायिक योजना अनुरूप गरेका लगानी धेरै हदसम्म उपयोगी र सफल भएका छन् । जसले योजना बनाएको छ, आम्दानी र खर्चको अनुमान गरेको छ त्यस्ता ऋणीहरूले लगेको ऋणको राम्ररी सदुपयोग गरेको पाइन्छ । बिना योजना लिएको ऋण समयमा तिर्न नसकी ऋणीलाई पनि असहज भएको र सहकारीलाई समेत ऋण असुली गर्न कठिन हुन सक्छ ।

त्यसैले सहकारी संस्थामा आर्थिक समृद्धिका लागि ऋण लगानी तथा असुलीमा सिङ्गो संस्थाको सम्बन्ध नङ र मासुको जस्तै हुन जरूरी छ । (लेखक जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)


तपाईको प्रतिक्रिया