काभ्रे (पनौती) – हरेक १२ वर्षमा काभ्रेको पनौतीमा लाग्ने मकर मेला संघारमै छ । मकर मेलाको शुभारम्भका लागि अब २ दिन मात्रै बाँकी छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र पनौतीमा लाग्ने १२ वर्षे मकर मेलाको अवसरमा पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणीघाटस्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम गरिरहेको छ । पनौती यतिबेला बेहुली झैं सिङगारिएको छ ।

मकर मेला नजिकिएसँगै यहाँका मन्दिर, पाटी, पौवा, खोला, किनारको रुप फेरिएको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रुप हेर्न जाने गरेका छन् । एक महिना अगाडिदेखि सो क्षेत्रको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र रङगरोगनको काम अघि बढाइएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताए ।

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण पुनःबढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न सचेत गराएको छ । कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराइ स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर लाग्ने सो मेलामा भारतीय तीर्थालुसमेत आउने गरेका छन् ।


तपाईको प्रतिक्रिया