पछिल्लो समय काभ्रे जिल्लामा सहकारी संस्थाहरुको संख्यामा बृद्धि हुदैँ गएको छ । जिल्लामा सञ्चालित सहकारी संस्थाको अवस्था र संस्थाहरु के–कसरी सञ्चालित भएका छन् लगायतका विषयलाई केन्द्रित गरेर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष दिलिप शर्मासँग यस अंकमा कुराकानी गरेका छौँ । संघका अध्यक्ष शर्मासँग बेथानचोक खबर डटकमले गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

0 तपाईको बुझाईमा सहकारी भनेको के हो ?
आम मानिसले बुझ्ने गरी भन्ने हो भने सहकारी भनेको उपेक्षित, उत्पिडित, निम्न आय भएका वर्ग, सिमान्तकृत, जोखिममा परेका समुदाय, किसान तथा गरिब, महिला, दलित समुदायको हितका लागि सर्वोत्तम हित सहित चुलो बाल्न सक्ने मनमा खुसी ल्याउन सक्ने र सुखको आनन्द ल्याउन सक्ने र समृद्धिका पैदा गर्न सक्ने एउटा अभियान नै हो । दुःखमा रहेका हरेक मानिसहरुको सारथी बनेर यसले आम सरोकारका विषयहरु सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

0 तपाईको संस्थाको परिचय दिनुहोस् न ?
सहकारी क्षेत्रमा नै म आफु लागेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागेको २१ वर्ष भन्दा बढी भइसकेको छ । हाल म प्रारम्भिक संस्था सारथी बहुउद्देश्यीय सहकारी संस्था जुन धुलिखेल बसपार्कमा रहेको छ । त्यस संस्थाको अध्यक्षमा रहि सहकारी प्रवद्र्धन विकासमा लागेको छु भने यसै संस्थाको प्रतिनीधित्व गर्दै सहकारी संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेको अध्यक्षको रुपमा निर्वाचित भएको ११ महिना भएको छ । संघको हितका लागि निरन्तर लागिरहेको छु ।

0 यस संस्थाको प्रमुख उद्देश्य के छ ?
जिल्ला सहकारी संघ लि. को प्रमुख उद्देश्य भनेको जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्था तथा विषयगत संघहरुको विकास र प्रवद्र्धन गर्नु नै हो । सहकारी संस्थाहरु नेपाल सरकारले व्यवस्थापन गरेका ऐन, नियमावली तथा मापदण्ड अनुसार सञ्चालन हुनु पर्दछ । त्यस अवस्थामा सञ्चालन गर्नका लागि क्षमता विकास सँगसँगै नयाँ खालका सचेतना कार्यक्रम, नयाँ सोच, उमंग र उत्प्रेरणा समेत ल्याउनका लागि जिल्ला संघले अभिभावकीय भूमिकामा रहि कार्य अगाडि बढाउनु नै संघको प्रमुख उद्देश्य हो ।

0 हाल सहकारी संस्थाहरुमा देखिएको आर्थिक कारोबारको अवस्था के छ अहिले ?
हाल सहकारी क्षेत्रमा आर्थिक अवस्थामा अलि समस्यामा परेको अनुभव भइरहेको छ । सबैतिर तरलता अभाव नै पो हुने हो कि भन्ने गुनासो पनि सुनिन्छ । सहकारी संस्थाले शेयर सदस्यहरुबाट संकलन गरेको पैसा नै शेयर सदस्यहरुलाई लगानी गर्ने हो अन्य विभिन्न श्रोतहरु हुदैन । संकलन भएका पैसा भन्दा माग बढी भएका कारण सहकारी संस्थाहरुलाई धान्न धौ धौ भएको देखिन्छ । सहकारी क्षेत्रका पैसा बैंक तथा बित्तिय संस्थाहरुमा जम्मा हुन पुग्दा यस्तो समस्या आइपुगेको भन्ने आम सहकारी क्षेत्रको निष्कर्ष रहेको छ ।

0 सहकारी संस्थाहरुका लागनीका क्षेत्रहरु कस्तो हुनुपर्दछ र किन ?
सहकारीले आफ्ना शेयर सदस्यहरुको सामाजिक आर्थिक तथा सांस्कृतिक परिवर्तन चाहन्छन । यसै मार्फत शेयर सदस्यहरुको समृद्धि हुन्छ भन्ने मान्यता राखेको हुन्छ । स–साना पूजीहरुको संकलन गर्ने र उक्त संकलीत रकमलाई शेयर सदस्यहरु माझ उत्पादनमूलक क्षेत्रहरुमा लगानी गर्ने र परिवारको आवश्यकता पुरा गर्नका लागि योग्य बनाउने हो ।

केहि समय यता सहकारी संस्थाहरुले एउटै विषय जुन बचत तथा ऋणको कारोबारलाई मात्र केन्द्रित गरी कार्य अगाडि बढाइरहेको पाइएको छ । जुन सहकारीको सिद्धान्त, मूल्य, मान्यता र मर्म भन्दा फरक कुराहरु नै हुन । सहकारीका ७ सिद्धान्तलाई फराकिलो रुपमा अगाडि बढाइरहेको र व्याख्या गरिएको सबै क्षेत्रमा काम गर्न सकियोस भन्ने नै हो । त्यसैले आफ्ना सदस्यहरुको समृद्धि र विकासका लागि सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्र, रोजगारी, आय आर्जन र जीविकोपार्जनका क्षेत्रहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने र जुन शिर्षक अन्तर्गत ऋण लगानी गरिएको छ । सोहि आधारमा लगानीको क्षेत्र सहि भयो वा भएन भन्ने देखि व्यवसायिक योजना तथा नियमित अनुगमन गर्दे अगाडि बढ्न सके सहकारीले वास्तवमा नै राम्रो गर्ने रहेछ भन्ने सन्देश दिन सकिन्छ ।

0 अहिलेको समयमा सहकारीले मूल्य र सिद्धान्तहरु पलना गरेका छन् त ?
हाल सहकारी क्षेत्रले आर्थिक पाटोलाई मात्र प्राथमिकतामा राखेर कार्यहरु गरिरहेको प्रष्टै देखिन्छ । सहकारी क्षेत्रले अंगिकार गरेका ७ सिद्धान्त र मूल्य मान्यता अनुरुप जान केहि मिहेनत गर्न भने पक्कै पर्दछ । यसरी मूल्य, मान्यता, दर्शन र सिद्धान्त अनुरुप एउटै आधारमा ल्याउन नियमनकारी निकायको खाँचो भने भइसकेको देखेको छु । राज्यले लागु गरेको नीति तथा सहकारी ऐन, नियमावली, मापदण्ड अनुरुप सबैले चल्नुपर्दछ तर यहाँ आफु अनुकूल हुने गरी सञ्चालनमा आइरहेको धेरै सहकारीहरु पाइने गरेको छ । सबै खुसी हुन, सबैका घरमा शान्ति छाओस, सबैको घरमा चुलो बलोस् र हाँसी खुसी रहुन भन्ने सहकारीको जोड भएकाले सोह बाटोमा हिडाउनु राज्यको दायित्व पनि हो ।

0 संघका चुनौतीहरु पनि केहि देख्नु भएको छ ?
पक्कै पनि सहकारी संघमा चुनौतीहरु पनि रहेका छन् । जिल्लाभित्र रहेका सहकारी संघ÷संस्थाहरुलाई एउटै छानामुनी ल्याउने कोशिस पटक पटक गर्दा पनि सकिरहेको छैनौ । १३ वटा स्थानीय तहहरुमा म आफु पनि स्वयं गएर स्थानीय तहहरुमा रहेका सहकारीहरुलाई जिल्ला संघमा आबद्धताका लागि पहल गरिदिनका लागि पहल भएको छ ।

तर पनि उल्लेख्य मात्रामा आबद्धताका लागि सोचेजति प्रगति हुन सकिरहेको छैन । संघका विभिन्न व्यवस्थापकिय पक्षहरु समेत मिलाउनु अनिवार्य देखिएको छ । सहकारी ऐन तथा नियमावली त्यो पनि संघ र प्रदेशका बारेमा हामीले स्थानीय तहहरुमा गएर सोचे जति गर्न सकिरहेका छैनौं । किनभने हामीमा आर्थिक पक्षको समस्या पनि छ । स्थानीय तहहरुसँग समन्वय गर्दा सम्भव हुन सकिरहेको छैन । प्रारम्भिक संस्था बलिया हुदा संघहरु बलिया हुन सक्दछन भन्ने मेरो बुझाई छ । क्षमतावान नेतृत्व, व्यवस्थापकीय सक्षमता तथा आर्थिक पक्षहरुको सन्तुलन नै हाम्रा चूनौतहिरु हुन ।

0 सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधान कसरी गर्न सकिन्छ ?
सहकारी ऐन २०७४ ले निर्दिष्ट गरेको धेरै विषयहरु हामीले पूर्ण रुपमा पालन गरेका छैनौं । सञ्चालक तथा पदाधिकारीहरु सोहि संस्थामा कार्यकारी भूमिकामा रहने, नियमनकारी निकायमा रहेका व्यक्तिहरु संस्थाका पदाधिकारी तथा नेतृत्वमा रहने, समान प्रकृतिको नेतृत्वको पदमा जहाँपनि एउटै ब्यक्तिको प्रतिनिधित्व रहने, समयमा साधारण सभा तथा लेखा परिक्षण नगर्ने, कार्य क्षेत्र भन्दा बाहिर गएर सहकारीका गतिविधिहरु गर्ने, बिना स्विकृति सेवा केन्द्रहरु सञ्चालन गर्ने जस्ता अनगिन्ति समस्याहरु सहकारी क्षेत्रमा देखिएका छन् । यस्ता देखिएका समस्याहरु समाधानका लागि स्थानीय तहले स्विकृत वा पारित गरेको सहकारी ऐन अनूरुप वा संघीय ऐन, प्रदेश ऐन तथा नियमावली अनूरुप नियमित अनुगमन जरुरी भइसकेको देखिन्छ । यसरी नियमित रुपमा नियमन तथा अनुगमन नहुने हो भने सहकारी क्षेत्रमा निकै समस्या सिर्जना हुनसक्छ ।

0 जिल्ला सहकारी संघ लि. का अवसरहरु के के छन ?
जिल्ला सहकारी संघ सहकारी अभियानलाई निरन्तरता दिदै शेयर सदस्यहरुलाई समृद्ध बनाउने सोचका साथ लाग्ने हो भने यहाँ अनगिन्ति अवसरहरु देखिन्छन । अभियानमा लाग्ने जिल्ला तथा जिल्लाबाट केन्द्रमा पुग्ने जो कोहिले पनि हातेमालो गर्दै अगाडि बढेर यसको पक्षमा साथ दिनुपर्दछ भन्ने मेरो बुझाई पनि हो । संघमा हाल व्यवसायिक भवन जिर्माण भइरहेको छ ।

जसमा हामी कृषि तथा सहकारी संस्थाहरुले उत्पादन गरेका तरकारी तथा फलफूलको जिल्ला बजार सञ्चालन गर्ने योजना रहेको छ । जसबाट प्रत्यक्ष किसानहरुले भोगिरहेका र उत्पादन गरेर बजार नपाएका किसानका समस्याहरु समाधान गर्न सक्षम हुनेछौं । धेरै मानिसहरुलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न सक्नेछौं । जिल्लामा रहेका १४९५ वटा सहकारीलाई नै संघमा आबद्ध गराएर एउटै छातामुनी राखेर त्यहाँ भएका समस्या तथा चुनौतीहरुलाई समग्र अभियानमा सहयोग गर्दैै आर्थिक सामाजिक रुपमा सहकारीले नै जिल्लाको मुहार परिवर्तन गर्न लाग्न सक्ने अवसरहरु हामी माझ छन् ।

0 अन्त्यमा, यस संस्थाको भावी रणनिति तथा योजनाहरु के छन् ?
जिल्ला सहकारी संघ लि, काभ्रे जिल्लामा रहेका सबै प्रकृतिको सहकारीहरुको छाता संघ भएको कारण समग्र सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र विस्तारको लागि विभिन्न तहमा कार्य अगाडि बढाउने र रेखदेख गर्ने निकाय समेत भएका कारण यसको आफनै जिम्मेवारी र दायित्वहरु छन् । आफ्नो कार्यकालमा काभ्रे जिल्लालाई सहकारी क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउने योजना बनाएका छौँ । जसमा समग्र सहकारी क्षेत्रको लागि निम्न अनुसार कार्यहरु अगाडि योजना बनाइएको छ ः
 सहकारी क्षेत्रमा रहेका बेथिती, समस्या तथा चूनौतीको लागि स्थानीय तह, प्रदेश सहकारी महाशाखा, सहकारी विभागको सहयोगले शुसासन, पारदर्शिता र जवाफदेहिताका कार्यहरु गर्ने
 नियमित अनुगमन, नियमनका योजना सहित सहकारी संघ÷संस्थामा पग्ने ।
 जिल्लाभरका सबै संस्थाहरुलाई जिल्ला सहकारी संघका आबद्ध गराउने ।
 सहकारीका उत्पादन र व्यवसायका क्षेत्रलाई उच्च प्राथमिकतामा राखि बजारीकरण र पविधिमा जोड दिने ।
 जिल्लाभरका सहकारीहरुको तथ्यांक संकलन गर्ने र अद्यावधिक गर्ने ।
 नीति, विधि र प्रविधिलाई जोड दिई उच्च स्तरको सहकारी संस्था सञ्चालनमा सहयोग गर्ने ।
 शिक्षा, तालिम र क्षमता विकासका विविध कार्यक्रमहरु सञ्चालनमा जोड दिने
 संस्था एकिकरणमा जोड दिई एउटै ठूलो र सशक्त सहकारी निर्माण सहकारी संघ संस्थाहरुलाई उत्प्रेरणा जगाउने ।
लगायतका कार्यहरु अगाडि बढाउने सोचमा छु जसका लागि जिल्लामा रहेका केन्द्रिय तहमा पुगेका सहकारी अभियानका सहकारीकर्मीहरु सहितको सहयोग र सल्लाह सहितको अपेक्षा समेत गर्दछु ।

 

 


तपाईको प्रतिक्रिया