चितवन –  भोलिदेखि चितवनमा सुरु हुन लागेको नेकपा एमालेको १० औँ महाधिवेशनको लागि १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । सुरक्षाका लागि एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने तयारी भएको छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको उनले जानकारी दिए ।

महाधिवेशनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।

महाधिवेशन उद्घाटन स्थलमा भीडभाड कम गर्न आसपासका क्षेत्रमा मङ्सिर ९ गते रातिदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ । आवतजावतलाई सहज बनाउन मुग्लिङ–नारायणघाट सडक खण्डमा ट्राफिक प्रहरीको सङ्ख्या बढाइने भएको छ।   महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।


तपाईको प्रतिक्रिया