काभ्रे (बनेपा) – नेपालको संविधान, २०७३ ले कृषि, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका सम्बन्धी सेवालाई स्थानीय तहको जिम्मेवारीलाई प्राथमिकतामा राखेको छ । सोहीअनुरूप स्थानीय तहको निर्वाचनपछि गठित महानगरदेखि गाउँपालिकामा कृषि प्रचारप्रसार तथा सेवासम्बन्धी जिम्मेवारी पायो ।

कृषिका कार्यक्रमहरू सम्बन्धित पालिकाहरूलाई हस्तान्तरण गरियो । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कृषि क्षेत्रको रुपान्तरणका लागि मन्त्रालयले २०७३ सालमा ‘एक गाउँ, एक कृषि प्राविधिक’ व्यवस्थापन कार्यविधि २०७३’’ मा कार्यक्रमको सुरुवात गरेको थियो । देश संघीय संरचनामा गएसँगै मन्त्रालयले २०७५ सालमा ‘एक गाउँ, एक कृषि प्राविधिक कार्यक्रम’ स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

त्यसो त ग्रामीण क्षेत्रको कृषि प्रर्बद्धनका लागि काभ्रेका स्थानीय तहले ‘एक गाउँ, एक कृषि प्राविधिक’ अवधारणालाई प्राथमिकतामा राखेको थियो । उक्त अवधारणालाई कार्यान्वयनका लागि कृषि प्राविधिक तथा अधिकृतहरू काजमा खटिए । कार्यक्रम सुरु भएको केही समय नबित्दै यसको प्रभावकारीता भने राम्रो देखिएन ।

काभ्रेमा कृषिको लागि पकेट क्षेत्र मानिएका स्थानीय तहमै यो कार्यक्रमले प्रभावकारीता पाउन सकेन । स्थानीय सरकार गठन भएसँगै सर्वसाधरणले सेवा सुविधा आफ्नै गाउँ र नगरबाटै पाउन सकिने प्रावधान छ । तर पाँचखालका कृषक भने यो सेवा सुविधाबाट टाढै छन । कृषि सम्बन्धि केही समस्या भएमा कृषकलाई धेरै ठाउँमा भौतारिनुपर्ने बाध्यता अझै पनि उस्तै छ । पाँचखाल नगरपालिकाको कृषि शाखामा जनशक्ति अपुग देखिन्छ । नगरपालिकामा रहेको १३ वटै वडामा कृषि प्राविधिक छैनन । यसै कारणले गर्दा कृषकलाई दिईने सेवा सुविधा प्रभावकारी हुन नसकेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरी अधिकारीले बताए ।

उनका अनुसार नगरपालिकाले कृषि क्षेत्रको लागि प्रयाप्त बजेट छुट्याउन नसकेकाले पनि कृषकको माग अनुसार कार्यक्रम ल्याउन नसक्नुको साथै प्रवाहमा पनि असहज देखिएको छ । हुनत, कृषिका लागि आएको बजेट कृषिमै खर्च हुनुपर्छ भन्ने न्यूनतम बुझाइ त जनप्रतिनिधि लगायत पालिकाका प्रशासकहरूले बुझ्नैपर्ने हो ।

बनेपा नगरपालिकाले ल्याएको अवधारणा एक गाउँ एक प्राविधिक भन्ने कुरा अवधारणामा मात्र सिमित देखिन्छ । नगरपालिकाको कृषि क्षेत्र हेर्नको लागि नगरपालिकामा कृषि शाखा प्रमुख र चार जना कर्मचारी मात्र छन । नगरका कुनै पनि वडामा कृषि प्राविधिक नभएको नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । कृषि प्राविधिकको अभावमा सिमित जनशक्तिले नगरका कृषकलाई दिईने सेवा सुविधामा सहज र प्रभावकारी हुन नसकेको बनेपा नगरपालिकाका कृषि शाखा प्रमुख मुुकुन्द के.सी बताए । उनले नगरमा कृषि प्राविधिक नभएकाले किसानको माग अनुसार हामीले सेवा सुविधा दिन र कार्यक्रम ल्याउन नसकेको बताए । कृषि कार्यालय समेत जनताले देख्ने र पायक पर्ने स्थानमा छैन ।

त्यस्तै अर्काे स्थानीय तह मण्डनदेउपुर नगरपालिकाको अवस्था पनि उस्तै छ । उक्त नगरपालिकामा १ जना मात्रै कृषि प्राविधिक रहेका छन् । नगरपालिकमा कृषि प्राविधिक र कर्मचारीको अभावले गर्दा वास्तविक कृषकका समस्या पहिचान गर्न नसकिएको मण्डनदेउपुर नगरपालिकाका कृषि शाखा प्रमुख गोपाल प्रसाद सापकोटाले बताए । प्रर्याप्त मात्रामा कर्मचारी नभएकाले कृषि सम्बन्धि सम्पूर्ण कार्य व्यवस्थापन गर्न कठिनाई भईरहेको छ,’ उनले भने, ‘यसले गर्दा शाखाबाट प्रवाह हुने सेवा सुविधामा पनि समस्या भईरहेको छ ।’

कृषिमा पकेट क्षेत्र मानिएको पनौती नगरपालिकाको अवस्था भने अलि फरक छ । कृषि सेवा केन्द्र र जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त हुने कृषि सेवा सुविधा नगरपालिकाबाटै उपलब्ध गराई रहेको पनौती नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणी प्रसाद सापकोटाले बताए । उनका अनुसार कृषकहरुको माग अनुसार नै कार्यक्रमहरु तयार पारिएको छ । जनशक्ति अपुग रहदा पनि नगरपालिकाको कार्य योजनामा समावेश भएका सबै कार्यक्रम नियमित भइरहेको छ ।

‘पनौती नगरपालिका कृषिमा राम्रो पहँुच भएपनि प्रयाप्त जनशक्ति नपुगेकाले कृषि सेवा प्रवाहमा कठिनाई भएको छ’, उनले भने, ‘कृषि सेवा प्रवाहलाई प्रवाभकारी बनाउनको लागि प्रयाप्त जनशक्ति, स्रोत साधन र कृषि प्राविधिक समूहको आवश्यकता रहेको छ तर हामीले भएको जनशक्तिबाट काम गरिरहेका छौ ।’ यो समाचर राजधानी दैनिकमा प्रकाशित छ ।

 

 

 


तपाईको प्रतिक्रिया