काभ्रे (धुलिखेल) –  जिल्ला प्रशासन कार्यालय काभ्रेले टोकन प्रणालीबाट सेवा सुचारु गरेको छ । प्रशासनले अघिल्लो साताबाट नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा सुचारु गरेको हो ।

नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीको संख्या बृद्धि भएसँगै प्रशासनले नागरिकता वितरणमा  व्यवस्थापन र सहजताका लागि टोकन प्रणलीबाट सेवा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले जानकारी दिए । उनका अनुसार नयाँ नागरिकताका लागि दैनिक ८० वटा मात्र टोकन वितरण गरिनेछ ।

नागरिकता वितरणमा सहजताका लागि प्रशासनले टोकन प्रणालीबाट सेवा प्रवाह गरिरहदाँ नागरिकताकै लागि लामो दुरीबाट आउने सेवाग्राहीलाई भने असहज देखिएको छ । टोकन प्रणाली लागू भएपछि एकैदिनमा बन्ने काम, दुई दिन लाग्ने सेवाग्राही बताउँछन् ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ च्यासिङखर्ककी सुनमाया तामाङले समस्या राख्दै भनिन्, ‘यो टोकन प्रणाली त नजिकका सेवाग्राहीलाई मात्रै सहज छ,’ उनले भनिन्, ‘हामी जस्तो टाढाबाट आउनेलाई गाह्रो छ । दिनमा ८० वटा मात्रै टोकन बाडिन्छ । टाढाबाट आउनेहरु यहाँ आइपुग्दा टोकन सकिन्छ । एउटा नागरिकता बनाउन दुई दिन लाग्छ ।’

 


तपाईको प्रतिक्रिया