काठमाडौं – बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार गोदावरी नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै बागमतीले दोस्रो जित निकालेको हो ।

बागमतीको जितमा रश्मी कुमारी घिसिङले ४ गोल गरिन् । गीता राना, सदिपा ब्लोन र अनु राईले एक एक गोल गरिन् । यस अघि बागमतीले महालक्ष्मी नगरपालिकालाई ९-० गोल अन्तरले हराएको थियो। प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।  प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।


तपाईको प्रतिक्रिया