काठमाडौं – साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा भारतका कप्तान सुनिल चम्किए । खेलको ६२ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाए ।

यता,नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो।

बुधवार दिउँसो भएको खेलमा बंगलादेशका लागि सुमा रेजाले ९ औं मिनेटमा गोल गरेका थिए। नेपाली टोलीका अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका हुन्। उनको गोलसँगै नेपालले इतिहास रच्दै साफको फाइनलमा स्थान बनाएको हो।

साफ उपाधिका लागि अब नेपाल र भारतबिच शनिवार राति प्रतिस्पर्धा हुनेछ।


तपाईको प्रतिक्रिया