सिन्धुली, कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

फुलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले बिक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र बिक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

सल्यान, बनगार कुपिन्डे नगरपालिका-१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निम बहादुर कवर मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

निम बहादुरले  आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया