काठमाडौँ – विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।

विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् । कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्‍याउनका लागि यो शो तयार पारेको बताए । शोका निर्देशक पौडेलले बालबालिकाहरुको मनोविज्ञानलाई समेत मध्यनजर राखेर आफूहरुले शो तयार पारेको बताए । उनले आफूहरुको प्रतिस्पर्धा अन्य शोसँग भन्दा पनि दर्शकसँग भएको बताए ।

कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको सुनाए । उनीहरुले बालबालिकालाई आफूहरुले मूल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए । अनलाइन खबरबाट


तपाईको प्रतिक्रिया