नेपाल विविध जातजाति र रितिरिवाजबाट ओतप्रोत भएको देश हो । देशलाई अन्तर्राष्ट्रीय जगतमा चिनाउन कला, सस्कृति र भाषाको जत्ति महत्व हुन्छ नि त्यतिकै भूमिका खानापानको पनि हुन्छ । विविधताले भरिएका खाना र तिनका स्वादले पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालको खाना र यहाँको संस्कृतिले पर्यटकलाई मोहित बनाएको छ । खाना यस्तो माध्यम हो, जसले मानव जीवनलाई रितरिवाज, प्रकृति, भूगोल चाडवाड एवम् संस्कार संस्कृतिसँग जोडेको हुन्छ । अक्षय तृतीयमा जौको सातु, तिहारमा सेलरोटी, असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर, तीजमा दर, छठमा ठकुवा र शुभ कार्यमा कसार खाने चलन छ । हाम्रा यी हाम्रौ संस्कृति हो । चाड विशेषका लागि विशेष खाना बनाएर खाने संस्कृति हामीसँग छ । जसलाई हामीले व्यवसायमुखी बनाई पर्यटनमा लाद्न सकिरहेका छैनौँ । बिडम्बना नै भनौँ, हामीले यसलाई पर्यटनमुखी बनाउन सकेका छैन ।

खाना र तिनमा रहने विशेष स्वाद र त्यससँग जोडिएको संस्कतिले पर्यटकमा एक किसिमको मोह उत्पन्न हुन्छ । खानाको माध्यमबाट नै मानिसले स्थानीय जनजीवन, परम्परा र मूल्य मान्यता बुझ्न सक्दछ । यी सबकौ जानकारी प्राप्तिका लागि पर्यटकहरु खोज्दै खोज्दै देशका विभन्न स्थान घुम्ने गर्छन् । चाडपर्व र पर्वमा बनाइने परिकारहरुले पनि पर्यटन प्रर्बद्धनमा अहम भूमिका निर्वाह गरेको हुन्छ । नेपालका धेरै पर्वहरू खानपान र नाच–गानसंग ताल्लुकात राख्छ । जुन पर्यटक लोभ्याउने ठूलो माध्यम बनेको छ ।
पर्यटन क्षेत्र एउटा मात्र यस्तो क्षेत्र हो जसले प्रकृति र पर्यावरणमा कुनै नोक्सानी बिना नै आर्थिक गतिविधि सञ्चालन गर्न ठूलो मद्धत पुर्याउदछ । भन्नुपर्दा, पर्यटनले अन्तर्राष्ट्रिय समझदारी बृद्धि गर्न र गरीबी निवारणमा महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गरिरहेको हुन्छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्म खानामा धेरै विविधता छ । यस्सो तराई तिर झर्यो भने मैथली, भोजपुरी र अवधि खानाका परिकारहरुले पर्यटकहरुलाई मोहित बनाउँछ । त्यस्तै मध्य पहाडतिर लाग्दा बाहुन, खस मगर जातीका खानाका परिकारहरु पाइन्छ । काठमाडौंतर्फ लाग्दा नेवारी खानाका परिकारहरुले मन छुन्छ भने हिमालतिर उकालो चड्दा थकाली तथा शेर्पा लामाका परिकारहरुले मन लोभ्याउँछ । यस्ता विविधता भएका परिका र रैथाने खानालाई पस्केर फुड फेस्टिबलमा परिणत गर्न सकेमा हाम्रो संस्कृतिको संरक्षण र पर्यटन प्रर्बद्धन हुन्छ । तर खानामा यति धेरै विविधता हुँदा हुदैँ पर्यटकलाई पिज्जा, पास्ता, बर्गर जस्ता पत्रु खानामा भुलाईन्छ ।

यस्सो छिमेकी मुलूक तिर आंखा तार्दा भारतका पूर्व पर्यटन मन्त्री करण सिंहले सन् १९६० मा भारतीय खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले जेट विमानमा इन्डियन खाना राखी यूरोप, अमेरिका लगेर प्रचार गराएका थिए । त्यसपछि नै भारतीय खानाले विश्वव्यापी रूपमा चर्चा शुरु भएको थियो। थाईल्यान्ड, वियतनाम श्रीलंकालाई नै हेरौं ।
चिनियाँ यात्री वाङ हुयेन से को विवरणमा नेपालका बासिन्दा चम्चा वा सिन्काको प्रयोग नगरिकन हातले खान्छन्, उनीहरुका भाडा कुडाहरु तामाका हुन्छन् भनी लिच्छवीकालको सामाजिक झलक पनि प्रस्तुत भएको छ । शिवदेव द्वितीयको ६९५ ई. को लगनटोल अभिलेखमा भिक्षुहरुको भोजनका लागि सदावर्तको बन्दोवस्त गरेको उल्लेख पाइन्छ । त्यस समय ताका भोजनका परिकारहरुमा अधिक मात्रामा भात, रोटी र ढिंडोको प्रयोग हुन्थ्यो भनी उल्लेख पनि छ । यती पुरानो खाना संस्कृति पाक कलालाई हामीले बिकासको कडीमा नढालेर र परिमार्जन नगरेर नै पछी परेका छौं ।

नेपालले आधुनिकीकरणलाई पछ्याउँदै गएकाले हाम्रा जातिय एवं रैथाने खानाहरु हराउँदै गएको छ । नेपालमा कहलिएका ठूला ठूला होटल रेस्ट्रोरेण्टले जातीय र रैथाने प्रर्बद्धनका लागि फुड फेस्टिबल र मेला लगाउन सकेका छैनन् भनौ या आंटनै गरेका छैनन् । आज ४२औं अन्तर्राष्ट्रीय पर्यटन दिवस मनाई रहंदा पर्यटन बोर्ड बिरूवा रोप्न तल्लीन छ । आज खाना र स्थानिय स्वादहरु प्रवद्र्धनका लागि विश्वव्यापी प्रतियोगिता भइरहेको छ । तर नेपाल जस्तै विविधताले भरिपूर्ण भएको देशमा भने सुन्य नै छ ।

लेखक : लक्ष्मण प्रसाद भण्डारी
ग्लोबल नेपालीज सेफ फेडेरेसनका केन्द्रीय अध्यक्ष


तपाईको प्रतिक्रिया