कास्की – स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा पर्ने असरलाईमध्यनजर गर्दै पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण गर्ने अभ्यास नेपालमै पहिलोपटक पोखरा महानगरबाट सुरु भएको छ । उक्त कार्यको शुभारम्भ महानगरको वडा नम्वर ८ बाट भएको हो ।

दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग (चिन्ह) दिइने जनाएको छ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने र रेबिज विरुद्धको खोपका लागि पनि सहज हुने महानगरपालिकाकी उप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनका अनुसार महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने नियम बनाइएको छ ।

‘यस अभियानले सभ्य नागरिक भएको सहरको परिचय दिनेछ, सबै मिलेर यसलाई सफल बनाउनुपर्छ,’ उनले भनिन्, ‘कुकुरलाई खुल्ला स्थानमा दिसापिसाव गराउन पाईंदैन, जनावरको पनि अधिकार हुन्छ, यसलाई परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्नुपर्छ ।’


तपाईको प्रतिक्रिया