काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १९ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ४ जना महिला र १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष र पाँचखाल नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४ सय १९ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ४५ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले ८७ जना महिला र ९५ जना पुरुष गरी १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण बनेपा नगरपालिका वडा नं ८ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार मृतकमा भदौ ६ गते संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ ।

जिल्लाको विभिन्न स्थानीय तहका १२ वटा खोप केन्द्रमा ३ सय ३६ जना महिला र ३ सय ३६ जना पुरुष गरी ६ सय ७२ जनाले आज पहिलो मात्राको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न स्थानीय तहका ८ वटा खोप केन्द्रमा १० जना महिला र ९ जना पुरुष गरी १९ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।

 


तपाईको प्रतिक्रिया