काभ्रे (धुलिखेल) –  बागमती प्रदेशका दुई जिल्लामा आपत्तकालीन कार्य सञ्चालन केन्द्र तथा गोदाम घर निर्माण गरिएको छ । बागमती प्रदेशको काभ्रे र नुवाकोट जिल्लामा प्रदेशस्तरीय आपतकालीन गोदाम घर निर्माण गरिएको छ ।

प्रदेशका सबै जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि उद्दार समग्री र विस्थापित परिवारको अस्थायी बसोबासको लागि आवश्यक सामग्री भण्डारण गरी राख्न  जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ मा आपतकालीन गोदाम घर निर्माण गरिएको हो ।

प्रदेश सरकारको ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ । उक्त घर निर्माणका लागि धुलिखेल नगरपालिकाले जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार खोज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गर्नुको उनीहरुलाई आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको छ । टोलीलाई बाढी–पहिरो, आगलागी, भूकम्पलगायतका विपतका घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिम दिइने उनले बताए ।

 

 

 


तपाईको प्रतिक्रिया