काभ्रे (धुलिखेल) –  जिल्लामा निर्माणाधिन तेमाल खानेपानी आयोजना बाढीले प्रभावित भएको छ । बाढीका कारण निर्माणाधिन खानेपानी आयोजनामा करिब ५० लाखको क्षति भएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिए ।

उनका अनुसार बाढीले वेसट्यांकी अधिक जोखिममा पर्नुको साथै २ सय मिटर तार जाली, २ सय मिटर जिआई पाईप, बोरिङ भवन लगायत बगाएको छ । बाढीले आयोजनामा क्षति गराएपनि निर्माण कम्पनी,सरकारी निकाय लगायतसँग समन्वय गरी बेलैमा जनतालाई खानेपानी खुवाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

२०७८ सालभित्र घरघरमा खानेपानी वितरण गर्नेगरी द्रुत गतिमा काम भईरहेको उल्लेख गर्दै अध्यक्ष लामाले दुई चरणका काममध्ये मुख्य पाइप जडान,ट्यांकी निर्माण,पानी पम्पीङ परीक्षण लगायतका काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार निर्माणाधिन आयोजनाको भौतिक संरचना निर्माणको काम करिव ९८ प्रतिशत सकिएको छ । दोस्रो चरण अन्तर्गत पाइपलाइन विस्तारको काम ८२ प्रतिशत सकिएको छ । सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनाबाट ९ हजार ३ सय १० धुरीका करिव ६० हजार जनसंख्याले खानेपानी पाउनेछन् ।

 

 


तपाईको प्रतिक्रिया