काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिका–८ को बरबोट पर्यटकको गन्तव्य बनेको छ । सुख्खा चौरमा अहिले सुन्दर स्तुपा पार्क निर्माण हुन लागेकामा स्थानीय बासिन्दा खुशी देखिन्छन् । भैँसीलाई आहाल राखिने पोखरी सुक्दै गएपछि अतिक्रमण पनि बढ्दै गएकाले संरक्षण गर्न म्हाने छ्र्योलिङ स्तुपा निर्माण गर्न लागिएकोे हो ।

पोखरी संरक्षणका साथै आन्तरिक तथा बाह्य पर्यक भित्र्याउन स्तुपा निर्माण गरी ठूलो बुद्ध प्रतिमा र गुरु रिन्पोछेको मूर्ति स्थापना गरिने स्थानीय समाजसेवी यज्ञबहादुर लामाले बताए । उनको नेतृत्वमा ‘म्हाने छ्योइलिङ स्तुपा’ निर्माण उपभोक्ता समिति गठन गरी चार वर्ष अगाडि काम शुरु गरिएकामा अहिले पूरा नभए पनि घुम्न जानेका लागि पार्क आनन्द लिने ठाउँ भएको छ ।

पर्खालभित्रको पोखरीमाथि निर्माण गरिएको स्तुपा भित्र बुद्धका विभिन्न आकृति राखिएका र बाहिर घेरामा ढुङ्गा छाप्ने र सरसफाइ को काम बाँकी जानकारी दिँदै समाजसेवी लामाले रकम अभाव र कोरोनाको कारणले पनि काम रोकिन पुगेको जानकारी दिए ।

शाक्यमुनि बुद्ध सबै भन्दमाथि अवलोकेश्वर(चेङग्रेसी), मञ्जुश्री, बज्रपाणि र गुरु पद्मसम्भाव (गुरु रेन्पोछे) लगायत मूर्ति निर्माण भइसकेको छ । स्तुपाको वरिपरि विभिन्न माने तथा छ्योर्तेन निर्माण गरिएको छ । सांसद गङ्गाबहादुर तामाङले स्तुपा निर्माणका लागि रू २९ लाख, नमोबुद्ध नगरपालिकाले रू २६ लाख, वाग्मती प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले रू २० लाख उपलब्ध गराउनाका साथै स्थानीयवासीबाट सङ्कलित रू छ लाख गरी कूल ७६ लाखको लागतमा निर्माण कार्य अघि बढाइएको थियो ।

धार्मिक किंवदन्तीअनुसार नमोबुद्ध जङ्गलमा सिकार खेल्न आएका कान्छो भाइ ङिचेछेन्बोलाई बघिनीले खाएकीले रिसाएका दाजु डा छेन्पो र ल्हा छेन्पोले बाघ लखेट्दै बरबोटमा आइपुगे । थकित दुबैले त्यहाँ आराम गर्दा बैराग लागेर अब कहिल्यै पनि हिंसा नगर्ने प्रतिबद्धता जनाउँदै हतियार त्यागेर दुई पिप्ले (दुई वटा पिपलको बोट) रोपेका थिए । तीमध्ये एउटा पिपलको पात झर्दा अर्कोको पलाउने हुँदा सधैँ हरियो देखिन्थ्यो । एउटा पिपल २०४० सालमा ढले पनि अर्को भने अझैसम्म छ । पवित्र मनले हिंसा त्याग गरेको ठाउँ भएकाले नै पनि योस्थल धार्मिक आस्थाको केन्द्र बन्न पुगेको बताइन्छ ।

बिपी राजमार्ग खुल्नुअघि डाँडापारी भेगका अधिकांश बासिन्दा जिल्ला सदरमुकाम जान महादेवटारको सानीखोला हुँदै खाक्सीबाट बरबोट, दाप्चा, तल्लो हटिया, श्यामपाटी, नमोबुद्ध हुँदै पनौती, बनेपा र धुलिखेल आउने गरेकामा यातायातको साधन चल्न थालेपछि सो क्षेत्र प्राय सुनसान बनेको थियो । अहिले सो स्तुपा निर्माणले फेरि पनि गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेकाले यहाँको विकासमा सहयोग पुग्नेमा स्थानीय बासिन्दा आशावादी छन् ।

नगरपालिकाले पनि यस स्थललाई आकर्षक गन्तव्य बनाउने योजनाअनुरूप काम गर्दै आएकोे छ ।पछिल्लो समय नगरपालिकाले नमोबुद्ध गुम्बा क्षेत्रमा प्रवेशका लागि वडा नं १स्थित फूलबारी र वडा नं ११ स्थित नमोबुद्धमा द्वार निर्माण गरेको छ । अहिले नमोबुद्ध भएर दाप्चाको बरबोट जान सहज भएको छ ।


तपाईको प्रतिक्रिया