काभ्रे  – आज श्रावण शुक्ल पूर्णिमा, अर्थात,रक्षावन्धन, जनै पूर्णिमा । जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक चाडवाडको आ–आफ्नै महत्व रहेको हुन्छ । जनैपूर्णिमा धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्मकाण्ड सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हात मुनि गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सुते धागोलाई दुई बेग्लाबेग्लै गाँठो(शिखा) पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा धागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास छ । कतिपयले आफै गुरु पुरोहित अथवा मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने नाडीमा दीर्घायु र सफल्ताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लगाइदिने चलन पनि निकै प्रचलित छ । विशेष गरेर नेपालको तराई क्षेत्रलगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढी रहेको छ । पहाडी भेगमा भने आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि रहेको छ ।

 


तपाईको प्रतिक्रिया