लालबहादुर श्रेष्ठ
वडा अध्यक्ष बेथानचोक गाउँपालिका वडा नं ४

० कता व्यस्त हुनुहुन्छ आजभोली ? वडामा कोरोेनाको अवस्था कस्तो छ ?
– आजभोली हामी वडाका नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने काममा व्यस्त छौँ । करिब करिब ९ सय जनाको हाराहारीमा खोप लगाउने काम सक्काईसकेका छौँ । यो क्रमलाई निरन्तरता दिइरहेका छौँ । यसमा हामीलाई स्थानीयबासीले पनि सहयोग गरिरहनुभएको छ । जसका कारण हामी धेरै नै खुसी पनि छौँ । ४ ठाउँमा खोपकेन्द्र तोकेका छौँ । त्यहींबाट खोप लगाईरहेका छौँ । अहिले संक्रमित दर घटेको छ ।

० संक्रमित दर अझै घटाउनको लागि के कस्तो संयन्त्रहरु अपनाईएको छ ?
– वडागत रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । मास्कहरु पनि वितरण गरेका थियौँ । समाजिक दूरी कायम गर्नको लागि पनि भनिरहेका छौँ । संक्रमित व्यक्ति तथा घरपरिवारको लागि विभिन्न खालका सल्लाह सुझाव पनि दिइरहेका छौँ ।

संक्रमितको घरमा स्वास्थ्यकर्मीको टोली पनि पुगेका हुन्छौँ । उहाँहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न सल्लाह सुझाव पनि दिने गरेका छौँ । औषधी तथा स्वास्थ्यका सामान वितरण गर्छौं । यस वडामा पछिल्लो समय ३० जना जति संक्रमित हुनुभएको थियो । एक जनाको मृत्यु पनि भयो ।

० चालु आर्थिक वर्षको बजेट र प्रस्तावहरु के कस्ता छन् ? बजेट के कति छ ?
– गत बर्षका जस्तै छन् कार्यक्रमहरु । पूर्वाधाराका क्षेत्रमा हामीले धेरै योजना बनाएका छौँ । त्यो बाहेक सडक, शिक्षा, सिंचाई, स्वास्थ्य, खानेपानी, पर्यटन लगायतका विषयमा पनि कार्यक्रमहरु बनाएका छौँ । यी क्षेत्रमा पनि राम्रो नै बजेट छ हाम्रो । नागरिकको माग र आवश्यकता के कस्तो छ योजनाहरु तीनै क्षेत्रमा केन्द्रित भएका छन् ।

बजेट पनि यी नै योजनामा केन्द्रित रहेको छ । बजेटको सिलिङ हाम्रो वडामा आइसकेको छ । यो योजनालाई यत्ति नै बजेट भनेर विनियोजन चाहीँ गरिसकेका छैनौँ । वडामा बाढी, पहिरो, आगलागी, भू–क्षय, भुकम्प जस्ता विपद्ले पालिकामा बेला बेला सताई नै रहन्छ । यसको न्युनीकरणको लागि वडामा विभिन्न कार्यक्रमहरु पनि गर्नेछौँ । गत बर्ष गर्न बाँकी रहेका योजनाहरुलाई यो आर्थिक बर्षमा निरन्तरता दिनेछौँ । चालु आर्थिक बर्षमा ५ करोड २० लाख जतिको योजना सम्पन्न हुन्छ ।

० गत आर्थिक बर्षको के छ प्रगती ? योजना सम्पन्न गर्ने क्रममा चुनौतीहरु के–के देखिएका थिए ? बजेटहरु कति थिए ?
– हाम्रो वडामा करिब करिब वडा भित्र सञ्चालन हुने वडाको र पालिकाको गरी ७० वटा जति योजना रहेका थिए । हामीले प्रतिशतको हिसाबमा भन्नुपर्दा ९९ प्रतिशत योजना सम्पन्न भएका छन् । जम्मा २ वटा साना योजना सम्पन्न नभएको हो । त्यो योजनालाई हामी चालु आर्थिक बर्षमा प्राथमिकताको साथ अगाडी बढाउने छौँ । योजनागत रुपमा हेर्ने हो भने गत बर्षमा हाम्रो वडाले राम्रो नै काम गरेको छ जस्तो लाग्छ मलाई । कृषि औजारहरु पनि वितरण ग¥यौं । विभिन्न खालका तालिमहरु सञ्चालन गरेर ४० जना जति नयाँ उद्यमी पनि उत्पादन ग¥यौं ।

गत आर्थिक बर्षमा बजेट करिब ५ कारोड रुपैँया जति थियो । यसमा करिब करिब सबै खर्च भएको छ । गत बर्षमा बनाएका योजनाहरु कोरोना भाइरस लगायत विविध कारणले जसरी सोचेका थियौँ त्यसरी सम्पन्न हुन सकेन । तर धेरै कामहरु कोरोनाका वाबजुद पनि सम्पन्न भयो । गत बर्ष केही योजनाहरु नचाहँदा नचाहँदै पनि विविध कारणले अपुरो रहेका छन् । केही बहुबर्षिय योजनाहरु छन् ती सम्पन्न हुने चरणमा रहेका छन् । समग्रमा भन्नुपर्दा अघिल्लो बर्षका अपुरा योजनाहरु प्राथमिकताका साथ सम्पन्न हुन्छन् । सामुदायीक भवन पनि बनायौँ । नदि कटानको लागि तार जालि हाल्ने काम पनि ग¥यौँ ।

० सडक विस्तार तथा स्तरउन्नतीको कुरामा वडाले गत बर्ष के–के काम ग¥यो ? यो बर्षको लागि योजना के–के छन् ?
– सडकको कुराहरुमा धेरै सुधार भएको छ र सुधार गर्नुपर्ने पनि देखिएको छ । पहिलेको तुलनामा हामीले सडकको क्षेत्रमा धेरै नै परिवर्तन ल्याएका छौँ जस्तो लाग्छ मलाई । अहिले हरेक बस्तिमा सडक पुगेको छ । अबको हाम्रो योजना भएका बनेका सडकहरुलाई पक्कि बनाउने हो । सोलिङ गर्ने र ग्राब्रेल गर्ने कामहरु पनि भएका छन् । गत बर्ष हामीले तिपचोक–पार्थली सडक स्तरउन्नती ग¥यौं । सडकको क्षेत्रफल बढाउने नालीहरु बनाउने काम पनि गरेका थियौँ ।

० वडाले ‘एक घर, एक धारा’को नीति पनि लिएको थियो । गत आर्थिक बर्षमा कत्तिको कामहरु खानेपानीको काम भए ? चालु आर्थिक बर्षमा खानेपानीका कामहरु कत्तिको हुन्छन् ?
– वडाले एक घर, एक धाराको नीति पनि लिएको थियो जुन काम हुने चरणमा रहेका छन् । खानेपानीका साना तथा ठुला योजना सञ्चालन भइरहेको छ । यसैगरी वडामा डिप वोरिङका कामहरु भइरहेका छन् । पालिकाले लिएको लक्ष पुरा गर्न तर्फ नै हामी लाग्ने छौँ यो बर्ष पनि । मुलडोल खानेपानीको काम गत बर्ष सम्पन्न ग¥यौँ । खानेपानीको वडामा धेरै नै समस्या रहेको थियो । गत बर्ष पालिकाको ७२ लाख र प्रदेशको ७१ लाख बजेट खर्च गरेर ठुलो आयोजना सम्पन्न गरेका थियौँ । मिटर सिस्टमको धारा बनाइरहेका पनि छौँ । साविक चलाल गणेसस्थानको ७ र ६ मा पनि मिटर सिस्टमको धारा बनाइसकेका छौँ । पानिको समस्या भएको ठाउँको समस्या लगभग समाधान भइसकेको छ । बाँकी समस्या भएको ठाउँ पनि हामी छिट्टै नै समाधान गर्नेछौँ ।

० शिक्षाको क्षेत्रमा कोरोना भाइरसका कारण जिल्लाका धेरै ठाउँमा असर परेको छ । अहिले त सबै विद्यालयहरु पनि बन्द छन् । वडा क्षेत्र भित्र रहेका विद्यालयको अवस्था कस्तो ?
– अहिले कोरोनाको कारण हाम्रो वडाको विद्यालयहरु बन्द नै रहेकोे छ । भर्चुअल विधिबाट पढाउन सबै विद्यालयबाट सम्भव नभएपनि हामीले विभिन्न माध्यमको अवलम्बन गरिरहेका छौँ ।

० कृषिको लागि पनि केही विशेष काम भएका छन् ?
– कृषिको लागि विशेष गरी औजार वितरणको कामहरु हामीले धेरै गरेका थियौँ । आवश्यकता र मागलाई ध्यानमा राख्दै यी कामहरु गरेका थियौँ । उन्नत जातको बीउहरु पनि वितरण पनि ग¥यौँ । आलुको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेका थियौँ । यो आर्थिक बर्षमा पनि हामी यीनै कामहरुलाई निरन्तरता दिने भएका छौँ ।

० लक्षित वर्गको लागि तालिमका कार्यक्रमहरु मात्र भए भन्ने गुनासो पनि आउने गरेका छन् । त्यो गुनासो हाम्रो वडामा पनि छन् की छैनन् ? यो आर्थिक बर्षका लागि के कस्ता कार्यक्रमको योजना छ ?
– वडामा पनि लक्षित वर्गका कार्यक्रमहरु धेरै भएको छ । हाम्रो वडा जनजातिको बाहुल्यता रहेको वडा हो । करिब ९२ प्रतिशत जनजातिको बसोबास रहेको छ । उहाँहरुको लागि उद्घोषणको तालिम दिएका छाँै । दलित समुदायलाई बीमा गरेर बंगुर वितरण गरेका थियौँ । महिलाहरुलाई सिपमा आत्मनिर्भर बनाउनको लागि विभिन्न खालको तालिमहरु प्रदान गर्दै आएका छौँ । यो क्रमलाई हामी निरन्तरता दिने छौँ । बालबालिका, जेष्ठ नागरिकहरुका लागि पनि विभिन्न कार्यक्रम पालिकाले नै पनि सञ्चालन गरिरहेको छ ।

एकल महिला र दलित समुदायको लागि हामीले विभिन्न खालका कार्यक्रम वडामा गर्दै आएका छौँ । यसमा पनि महिलाहरुलाई उद्यमी बनाउनुपर्छ र यसो गर्न सकियो भने स्थानीयस्तरमा हुने विभिन्न खालका हिंसाको पनि अन्त्य हुने भन्ने कुराहरुलाई आधार बनाएर हामीले तालिमका कार्यक्रमहरु धेरै गरिरहेका छौँ । लक्षित समुदायबाट जे माग आउँछ हामीले त्यही अनुसारका काम गर्ने हो । भोलीका दिनमा अरु माग आयो भने हामी त्यही अनुसारका कार्यक्रमहरु गर्नेछौँ ।

० बालमैत्री स्थानीय शासन भनेको के हो ? वडालाई बालमैत्री बनाउन के–के प्रयास भइरहेको छ ?
– बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति भने बुझिन्छ । गाउँ र नगरपालिकालाई बालमैत्री बनाउनु भनेको अतिरिक्त काम हो भन्ने गलत धारणा अहिले पनि रहेको पाइन्छ । बालमैत्री गैर विभेदीकरण, बालबालिकाको सर्वोत्तम हित, सर्वांगिण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भै बालअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन हो ।

बालमैत्री शासन बाल बचाऊ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागिता जस्ता बालअधिकारका सवालहरुलाई स्थानीयस्तरको नीति, योजना, संरचना, प्रणाली र कार्यप्रक्रियामा स्थानीयस्तरमा संस्थागत गर्ने पद्धति नै बालमैत्री शासन हो । बालबालिका आजको साझेदार भोलिका कर्णधार र पर्सिका साझेदार हुन । हामीले आज बालबालिकालाई अनुकूल वातावरण दिन सकेमा मात्र उनीहरू भोलिका बलिया आधार स्तम्भ बन्न सक्छन् । त्यसैले हाम्रो घर, समुदाय, विद्यालय तथा विकास निर्माणका सबै संरचनाहरू बालबालिकाका लागि सुहाउँदो हुनुपर्छ । वडालाई यो अवधारण ढालेर बालमैत्री बनाउनको लागि हामीले पनि विभिन्न खालको काम गरिरहेका छौँ । विभिन्न ठाउँमा बालक्लबहरु छन् । शिक्षकहरु पनि लागनुभएको छ ।

० अन्तिममा केही ?
– संघिय संरचनाबाट निवार्चित पहिलो जनप्रतिनिधि हौँ । हाम्रो वडालाई पालिकालाई कस्तो बनाउने भनेर धेरै डकुमेण्ट बनाएका छौँ । भावि योजना बनाइसकेका छौँ । सम्पन्न गर्न सकेको धरै योजनाहरु पनि छन् । कार्यालयबाट दिने सेवाहरु प्रभावकारी रुपमा दिएका छौँ ।

0 आजको बेथाञ्चोक साप्ताहिकमा छापिएको छ ।


तपाईको प्रतिक्रिया