काभ्रे (बनेपा) – सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ५५ सार्वजनिक सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ ।

यातायात व्यवस्था विभागले सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै पुर्वी देखी काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि जिल्ला ट्राफिक प्रहरी काभ्रेले अनुगमन गरी कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिईन ।

बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन ट्राफिक प्रहरीले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई तीन हजार देखि पाँच हजार सम्म कारवाही गरिएको छ ।

एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको श्रेष्ठले बताईन । शुक्रबार कारवाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको ट्राफिक प्रहरी काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया