काभ्रे (रोशी) – जिल्लाको रोशी गाउँपालिका वडा नं २ मा रहेको प्राकृतिक तिनधारे झरना संरक्षण हुने भएको छ । तिनधारे झरना संरक्षणका लागि बहुवर्षिय ठेक्का सम्झौता भएको छ । गाउँपालिकाको कार्यलयमा प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको रोहबरमा पालिका अध्यक्ष डि.बि. लामा र कम्पनीका प्रतिनिधि सनत आचार्य बिच मंगलबार ठेक्का सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष डि.बि.लामाले तिन धारे झरना रोशी गाउँपालकाको मात्रै नभई काभ्रे जिल्लाकै सम्पत्तीको रुपमा लिएको बताए । रोशी गाउँपालिकामा अन्य थुप्रै पर्यटकिय क्षेत्र रहेको उनले जानकारी दिए । ‘तिनधारे झरनाले पछिल्लो समय पर्यटकको मन लोभ्याउन सफल भएको छ,’ उनले भने, ‘सम्पदाको संरक्षणमा ध्यान नदिए लोप हुँदै जान्छ, त्यसैले यसको संरक्षणमा गाउँपालिका एक चित्त भई लागेको छ ।’

रोशीलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउन सहयोग गर्ने सबै निकायलाई अध्यक्ष लामाले धन्यवाद दिए । निर्माण कम्पनीका प्रतिनिधि सँग सम्झौता गर्दै अध्यक्ष लामाले तोकिएको समय सिमा भित्र काम सम्पन्न गर्न शुभकामना दिन्ुको साथै अनुरोध पनि गरे । झरना संरक्षणका लागि सरोकारवाला सबैले समन्वय गरी बहुवर्षिय योजना सम्पन्न गर्न सहयोग गरिदिन पनि उनले आग्रह गरे ।

५ करोड लागत अनुमान गरिएको उक्त योजनाको २ करोड ८० लाखमा सगुन ईनोभेटिभ जेभी सँग ठेक्का सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । २ वर्ष भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनामा गाउँपालिकाले ३० प्रतिशत र केन्द्र सरकारले ७० प्रतिशत बजेट बिनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार तिनधारे संरक्षण योजना अनुरुप उक्त कम्पनीले काम गर्नेछ । सम्झौता अनुसार तिनधारे क्षेत्रमा सार्वजनिक शौचालय, रेलिङ, चेन्जीङ रुपम, पैदल मार्ग, खहरेपाँगु देखि झरना जाने मोटर बाटो स्तरोन्नती लगायतका काम गरिनेछ ।

गतवर्ष देखि चर्चामा आएको तिनधारे झरना संरक्षण गर्न सकेमा पर्यटकहरुको आकर्षकको बिन्दु बन्ने उनले बताए । ‘सम्पदाको संरक्षणमा ध्यान दिएमा गाउँपालिकाद्वारा संचालित होम स्टेबाट आय आर्जनमा वृद्धि हुनेछ,’ दाहालले भने, ‘पार्कीङ लगायत अन्य व्यवसायबाट गाउँपालिकाको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौँ ।’ झरना संरक्षणमा प्रदेश र केन्द्रबाट थप बजेट प्राप्त भएको उनले बताए ।


तपाईको प्रतिक्रिया