काभ्रे (रोशी) – जिल्लाको रोशी गाउँपालिका वडा नं १ स्थित खहरेगाउँमा विद्युत सर्ट भएर आगालागि हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आज (शुक्रबार) दिउँसो करीब ३ बजेको समयमा स्थानिय खहरेघाटका माईला भनिने चन्द्रमान घिसिङको घरमा विद्युत सर्ट हुँदा आगलागि भएको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

उनका अनुसार घरको दोश्रो तल्लामा रहेको फ्रिजबाट बिजुली सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ । आगालागि भएको थाहा पाएपछि स्थानिय, जनप्रतिनिधि साथै प्रहरीको सहयोगमा आगो निभाईएको छ । आगालागिबाट मानविय क्षति भने नभएको तर खाद्यान्न, लत्ता कपडा, गर गहना, पैसा आदि जलेर नष्ट भएको खहरेपाँगु प्रहरी चौकिका असई जलान्धर प्रसाद कुसाहावाले जानकारी दिए । यकिन विवरण नआए पनि घर घनिका अनुसार करीब १० लाखको क्षति भएको उनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया