काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज ५० जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ६ जना महिला र १ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ९ जना महिला र ९ जना पुरुष, पनौती नगरपालिकाबाट ६ जना महिला र ३ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ५ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना पुरुष गरी ४२ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र ४ जना पुरुष र बेथानचोक गाउँपालिकाबाट १ जना महिला गरी १२ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयका प्रमुख डा.झाले बताए । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ११ हजार ७ सय ९७ पुगेको छ । जसमध्ये ११ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भक्तपुर जिल्लाका ७० वर्षीय पुरुषको उपचारको क्रममा आज धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतकमा असार २२ गते संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.झाले बताए । उनका अनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

३२ सय ४९ जनाले पहिलो मात्राको खोप लगाए
जिल्लामा आज ५५ वर्ष माथिका ३२ सय ४९ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ५५ वर्ष माथिका १४ सय ६१ जना महिला र १७ सय ८८ जना पुरुष गरी ३२ सय ४९ जनाले आज कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका हुन् ।


तपाईको प्रतिक्रिया