आज असार १५, दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ । वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दही चिउरा खानु, साउनको १५ खिर’ भन्ने भनाइ छ ।

मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । विगत एक दशक यता देखि प्रत्येक आषाढ १५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज ‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १६औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो । धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा धान दिवसको अवसरमा अहिले बिहानै कार्यक्रम हुँदैछ भने ललितपुरको लेलेमा धान रोपाईं विशेष कार्यक्रम गरिंदैछ ।

यसैबिच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउँछन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको रहेको बताएका छन । त्यस्तै असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा गरे अनुरुप असार १५ लाई धान महोत्सवका साथै दही चिउरा खाने दिनका रुपमा पनि मनाइरहेका छन ।

यस लेख ग्लोबल नेपालीज सेफ फेडेरेसनका महासचिव सेफ मोहन गजुरेलले लेखेका हुन् ।


तपाईको प्रतिक्रिया