काभ्रे (धुलिखेल) – सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै नेपाल पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रललाई ज्ञापनपत्र बुझाएको छ । सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गरी महासंघले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

आगामी आर्थिक वर्षको बजेटमा बाग्मती प्रदेश सरकारले आफू नियन्त्रित आमसञ्चार गृह स्थापना गर्न बजेट विनियोजन गरेकोमा आपति जनाउँदै महासंघका अध्यक्ष बद्रीराज तिमल्सिनासहतिको पत्रकारको टोलीले प्रमुख अधिकारी शिवराम पोखरेललाई बुझाएका हुन् ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यसमिति र जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट भएको निर्णय अनुसार बागमती प्रदेशका सबै जिल्लामा एकै समय आज (आईतबार) दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयमार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाइ ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत काभ्रेमा पनि सिडियोलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।

प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताविपरीत रहेको र त्यसले लोकतन्त्रको आधारभूत मूल्यमान्यतामै प्रहार गर्ने नियत देखिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

 


तपाईको प्रतिक्रिया