काठमाडौं – मनग्य आम्दानीका लागि फूल खेती गरेका गुञ्जनगरका कमलप्रसाद अर्यालले डेढ बिघा जमिनमा फूलखेती गरेका छन्। बारी ढकमक्क फूलले ढाकेको छ। उनी दिनहुँ फूलबारीमा पुग्छन्। फुलेका फूलहरू देखेपछि उनी खिन्न हुन्छन्। मिहिनेत र खर्च गरेर उत्पादन गरेको फूल उनले बिक्री गर्न पाएनन्। बेच्न नपाउँदा बारीमै फूल ओइलिएको छ। उनले तीन ओटा फूल बिक्री गर्ने लक्ष्य लिएका थिए।

अर्यालले डेढ बिघा जमिनमा ग्ल्याडिओलस लगाएका छन्। यो विवाह, उत्सव, पाहुना स्वागत सत्कारमा प्रयोग हुन्छ। कोभिड संक्रमणको जोखिमले सबै कार्यक्रम बन्द भए। त्यसको असर फूल खेतीमा पनि पर्‍यो। ‘लगानीको हिसाबले तरकारीमा भन्दा फूलखेतीमा बढी हुन्छ। लकडाउनले कार्यक्रम नै नभएपछि सभा समारोहमा मात्रै प्रयोग हुने फूल बिक्री भएन’, अर्यालले भने, ‘बारीमा सुकाएर फाल्नुको विकल्प रहेन।’ बिक्री गर्न पाएको भए उनले ४० लाखको फूल बिक्री गर्थे। व्यावसायिक रूपमा गरिएको फूलखेतीले बजार पाउन नसकेपछि उनी निराश छन्। उनले गत वर्ष पनि घाटा व्यहोरे। यो वर्ष ३० लाखको बिक्री गर्ने लक्ष्य थियो उनको।

करिब डेढ लाखको मात्रै बिक्री गरेपछि लकडाउन सुरु भयो। अत्यावश्यक सेवामा परेका खाद्यवस्तु, तरकारी बिक्री भए। तर फूलखेती गर्ने किसानको लगानीसमेत डुबेको छ। फूलखेतीबाट लगातार दोस्रो वर्ष पनि घाटा भएपछि कमलप्रसादकी श्रीमती कृष्ण अर्यालले राज्यले फूलखेती गर्ने किसानका लागि केही नगरेको गुनासो गरिन्। ‘अन्य कृषि व्यवसायलाई अनुदान या बजारको लागि सरकार नै लाग्छ’, उनले भनिन्, ‘उत्पादन गरेपछि भएको नोक्सानीमा राज्यले केही गरिदिएन।’

फूल प्रतिगोटा सानो र ठूलो हेरी १२ देखि २० रुपैयाँसम्म बिक्री हुन्छ। बिक्री गर्न नपाएपछि किसानको लगानी डुबेको हो। पुष्प व्यवसायअन्तर्गत चारवटा क्षेत्र हुन्छ। माला, सजावटमा प्रयोग गर्ने कट फ्लावर उत्पादक, कट फ्लावर बिक्रेता, बिरुवा उत्पादन तथा बिक्री वितरण र गार्डेनिङ पर्छन्। बन्दले सबैभन्दा बढी प्रभाव उत्पादकलाई पारेको छ। लगानी, बिउबिजनको खर्चसमेत धानेनन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


तपाईको प्रतिक्रिया