काभ्रे (धुलिखेल) – अबिरल वर्षाले क्षति गराएको छिमेकी जिल्लालाई सिन्धुपाल्चोकलाई काभ्रेका दुई स्थानीय तहले सहयोग गर्ने भएका छन् । काभ्रेको मण्डनदेउपुर र पनौती नगरपालिकाले सिन्धुपाल्चोकका बाढी र पहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकाका बाढी र पहिरो पीडितलाई सहयोग गर्न मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबा असार ४ गते मेलम्ची नगरपालिका पुगि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उप–प्रमुख भगवती नेपाललाई नगरपालिकाको विपद कोषमा रहने गरि मन्डनदेउपुर नगरपालिकाको तर्फबाट रु ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

मेलम्ची नगरपालिकाको मेलम्ची बजार , हेलम्बु गाउपालिका र पाच पोखरी थाङ्पाल गाउपालिकाका क्षेत्रहरूमा बाढी र पहिरोले पुर्याएको जनधनको क्षति प्रती साथ दिन प्रमुख वाइबा सिन्धुपाल्चोक पुगेका थिए । बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका बाँकी दुई वटा गाउँपालिकालाई पनि ३÷३ लाख हस्तान्तरण गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

त्यस्तै काभ्रेको पनौती नगरपालिकाले पनि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिए । पनौती नगरपालिकाले मेलम्ची नगरपालिकालाई दश लाख राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो ।

यहि असार १ गते मेलम्ची र इन्द्रावती खोलामा आएको भिषण बाढीका कारण मेलम्ची नगरपालिकाको वडा नम्बर ६, १०, र ११ मा ठुलो क्षति पुगेको छ । साथै मेलम्ची र इन्द्रावती खोला आसपासमा बाढीबाट बिस्थापित तथा संकटमा परेका परिवारहरुलाई पुनः स्थापना गर्न पनौती नगरकार्यपालिकाले दश लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।


तपाईको प्रतिक्रिया