काभ्रे (बनेपा) – साहित्यकार सूर्यप्रसाद लाकोजूको घाम फुल्ने याम कवितासङ्ग्रह सार्वजनिक भएको छ । उक्त कवितासङ्ग्रहमा विविध विषयका ५८ ओटा कविताहरू सङ्कलित रहेका छन् ।

लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आएका लाकोजूको विधागत दृष्टिले यो पाचौँ कवितासङ्ग्रह हो । यस अघि उनका स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम गरी चारओटा कवितासङ्हका कृति प्रकाशन भएका छन् ।

घामकविका रूपमा चिनारी बनाएका कवि लाकोजूको यस कवितासङ्ग्रहमा देशभक्तिको भावना बोकेका कविताहरू छन् । वर्तमान राजनीतिको विषयमा पनि कविता बोलेको छ । कविताहरूले समाजका विकृति, विसंगतिहरूलाई निर्मूृल पार्नुपर्ने विचार पनि उठाएको छ । प्रेम, प्रणयका विषय पनि कविताहरूमा उठाइएको छ । यसका साथै कवितासङ्ग्रहमा मानवीय संवेगहरू, प्रवृत्तिहरूको चिरफर गर्ने काम भएका छन् । बुबा कविताबाट प्रारम्भ भएको घाम फुल्ने याम आमा कवितामा गएर टुङ्गिएको छ ।

घामकवि लाकोजूको पितृभक्ति पनि कविता भएर उभिएको छ । साथै आफ्ना अग्रज तथा अभिभावकहरूप्रति श्रद्धा, आत्मिक प्रेममाथिको विश्वास, देशका सपुत र सहिदप्रति सम्मान, प्रकृतिप्रेम, संस्कृतिप्रेम आदि पनि कवितामा प्रभावी बनेर आएका छन् । दुई दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान जस्ता विधामा कलम चलाउँदै आएका छन् ।

 

 


तपाईको प्रतिक्रिया