काभ्रे (धुलिखेल) – जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ७ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ४ जना संक्रमित काभ्रे जिल्लाको र बाँकी अन्य जिल्लाका संक्रमित रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार मण्डनदेउपुर नगरपालिकाका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बैशाख २० गते उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । मृतकमा बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै बनेपा नगरपालिकाका ४२ वर्षीय पुरुषको पनि शिर मेमोरियल अस्पतलमा उपचारको क्रममा बैशाख २० गते मृत्यु भएको उनले बताए । मृतकमा बैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट बनेपा नगरपालिकाकी ६२ वर्षीय महिलाको उपचारको क्रममा आज शिर मेमोरियल अस्पतालमा मृत्यु भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार मृतकमा बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै पनौती नगरपालिकाकी ८० वर्षीय महिलाको उपचारको क्रममा आज धुलिखेल अस्पतालमा मृत्यु भएको कार्यालय प्रमुख डा.झाले जानकारी दिए । उनका अनुसार मृतकमा आज संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेका ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोरोना संक्रमणबाट महोत्तरी जलेश्वरकी ५० वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा  मृत्यु भएको थियो । त्यस्तै भक्तपुर जिल्लाका ६७ वर्षीय पुरुषको धुलिखेल अस्पतलमा उपचारको क्रममा बैशाख २० गते मृत्यु भएको थियो । भक्तपुर जिल्लाकै ६२ वर्षीय महिलाको कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयको जानकारी छ ।

 


तपाईको प्रतिक्रिया