काभ्रे (पनौती) – कोरोना महामारीको दोस्रो लहर तिब्र गतिमा फैलालिएसँगै जिल्लाका संक्रमण जोखिम क्षेत्रमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्र अन्र्तगत पनौतीमा प्रहरी चौकी पनौतीले निषेधाज्ञाको पालना भए नभएको अनुगमन गरेको छ ।

आजबाट जारी गरिएको निषेधाज्ञाको अनुगमन गर्दै अनावश्यक सञ्चालन गरिएका २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरी चौकी पनौतीका प्रहरी नायब निरीक्षक सन्तोष बानिँयाले बताए । उनका अनुसार अनावश्यक सञ्चालन गरिएका ७ वटा ट्रिपर, १२ वटा मोटरसाइकल र १ वटा निसान गाडीलाई दिनभर होल्ड गरेर राखिएको थियो ।

‘निमार्ण सामाग्री ढुवानीका साधन ट्रिपर सञ्चालनको लागि राती ९बजेबाट बिहान ५ बजेसम्मको समय तोकिएको छ,’ उनले भने, ‘तोकिएको समयभन्दा अन्य समयमा सञ्चालनमा आएका ७ वटा ट्रिपरलाई होल्डमा राखिएको र राती ९ बजेपछि मात्र छोडिनेछ ।’ त्यस्तै अनावश्यक रुपमा हिँडडुल गर्ने सर्वसाधरणलाई कोरोना संक्रमाणको जोखिमबारे सचेत गराएर सम्झाईबुझाई गरी पठाइएको उनले बताए ।

कोभिड–१९(कोरोना भाइरस) रोकथामको लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी चौकीले पनौती बसपार्कमा हेल्प डेस्क पनि सञ्चालनमा ल्याएको छ । सर्वसाधरणलाई कोरोना संक्रमणको जोखिमबारे सचेत गराउँदै निःशुल्क मास्क, सेनिटाइजर, ग्लोभ्स र पानी वितरण गरिएको प्रहरी नायब निरीक्षक बानिँयाले बताए । उनका अनुसार कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको पाइएको छ । उक्त कार्यक्रमपश्चात सर्वसाधरण सचेत भएको पाइएको उनले बताए ।

 

 


तपाईको प्रतिक्रिया