ज्योती श्रेष्ठ (धुलिखेल) – आज मे ३ अर्थात, विश्व प्रेस स्वतन्त्रता दिवस । ’स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।

नेपालमा पनि पत्रकारको हक हित र सुरक्षाका लागि यो दिवस मनाउने गरिन्छ । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन । रिर्पोटरर्स विथवाउट बोर्डरले सार्वजनिक गरेको सन् २०२१को तथ्याङक अनुसार प्रेस स्वतन्त्रताको सूचिमा नेपाल १ सय छैठौँ स्थानमा रहेको छ । सन् २०१८,२०१९ र २०२० को तथ्याङकमा पनि नेपालको स्थानमा १ सय छैँठोमा नै रहेको छ ।

विगतको तुलनामा विश्व प्रेस स्वतन्त्रताको सूचिबाट तथ्याङकगत रुपमा नेपालको प्रेस स्वतन्त्रतामा केही सुधार भएको देखिएपनि व्यवहारिक रुपमा भने हुन नसकेको सञ्चारविज्ञहरु बताउँछन् । यसमा सुधार गर्न धेरै पक्षहरु बाँकी रहेका छन् । जसमध्येको पहिलो पक्ष हो, पत्रकारको रोजगारीको सुनश्चितता, पत्रकार आफै बाँच्न पाउने अधिकार, पत्रकारको पेशागत सुरक्षा लगायत अन्य धेरै क्षेत्रमा सुधार गर्नुपर्ने देखिन्छ ।

त्यसो त नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट हेर्दा ५ सय १७ जना पत्रकार पीडित भएको नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् । यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेखअनुसार यस वर्ष छ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन् ।

मुलुकभर प्रेस स्वतन्त्रताको अवस्थालाई हेर्दा चिन्ताजनक पाइएको छ । तुलनात्मक रुपमा काभ्रेलाई हेर्दा प्रेस स्वतन्त्रताका गतिविधिमा सुधार आएको सञ्चारकर्मीहरुले बताएका छन् । विगतको तुलनामा प्रेस स्वतन्त्रता विरोधी घटनाहरुमा कमी आएको नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । उनका अनुसार मुलुकमा राजनितिक द्वन्दहरु कम भएका कारण पनि अघिल्ला वर्षभन्दा जिल्लामा प्रेस स्वतन्त्रता विरोधी घटनाहरु कमी भएको पाइएको छ ।

कहिलेकाहीँ पत्रकार एवं संस्था अनुकुल नहुदाँ प्रेस स्वतन्त्रता विरोधी घटनाहरु हुन सक्ने उनले बताए । यसलाई रोक्नको लागि सर्वप्रथम पत्रकार स्वय्म, पत्रकार महासंघ, पत्रकार महासंघसँग सम्बन्धित संघसंस्था जिम्मेवारी हुनुपर्नेमा उनले जोड दिए । ‘विगत प्रेस स्वतन्त्रता विरोधी जुन घटनाहरु भए, जसले प्रेस स्वतन्त्रता विरोधी घटनाहरु घटाउने प्रयास गरे, उनीहरुलाई कानुुनी बाटो खोज्नुको साथै कानुनी उपचार पनि खोजिएको छ’ उनले भने, ‘घटनाबाट पीडीत पत्रकारहरुलाई न्याय दिलाउन प्रयासरत छौँ ।’

हिजोको दिनको तुलनामा अहिले पत्रकारले स्वतन्त्र ढंगबाट सूचना तथा सम्प्रेषण गर्न पाइरहेको नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले बताए । तर पनि कहीँ कतै संविधानले सुनिश्चत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको दुरुपयोग भएको पाईएको उनले बताए । यस्ता विकृती तथा विसंगतीको रोकथामका लागि पत्रकार महासंघ लागि पर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको अवस्थामा प्रेस स्वतन्त्रतासँगै स्वतन्त्र पूर्ण समाचारका लागि खटिने पत्रकार एवं श्रमजिवी पत्रकारहरुको रोजीरोटीको सुरक्षा साथै उनीहरुको बाँच्न पाउने अधिकारको पक्षमा बढि अवकालत गर्नुपर्नेमा उनले जोड दिए । ‘पत्रकार आफैले कति स्वतन्त्रपूर्ण लेख्न पाइरहेको ? , कति स्वतन्त्रपूर्ण बाँच्न पाइरहेको छ ?, पत्रकारिता पेशाबाटै आफ्नो जिवीकोपार्जन गर्न पाइरहेको छ कि छैन भन्ने अहिलेको मूल मुद्दा रहेका छन्,’ अध्यक्ष तिमल्सिनाले भने, ‘यसमा सहजीकरणका लागि पत्रकार महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।’

 

 

 


तपाईको प्रतिक्रिया