काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज सबैभन्दा धेरै बनेपा नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् ।

आज थपिएका नयाँ संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १३ जना पुरुष र १४ जना महिला, धुलिखेल नगरपालिकाबाट ५ जना पुरुष र ३ जना महिला, पनौती नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना पुरुष र १ जना महिला, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष र तेमाल गाउँपालिकाबाट १ जना महिला रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ३५ सय ७५ पुगेको छ । त्यस्तै जिल्लामा अहिले ४ सय ४९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । जसमध्ये ४ सय ३१ जना होम आईसोलेसनमा र १८ जना अस्पताल आईसोलेसनमा उपचाररत छन् ।

त्यस्तै काभ्रेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बनेपा नगरपालिकाका ६१ वर्षीय पुरुषको उपचारको क्रममा बैशाख १८ गते धुलिखेल अस्पतालमा मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए । उनका अनुसार मृतकमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ललितपुर जिल्लाका ६० वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतलमा आज मृत्यु भएको कार्यालयको जानकारी छ ।


तपाईको प्रतिक्रिया