काभ्रे (धुलिखेल) – कम्युनिस्ट स्थापना दिवसको अवसरमा प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले मानव कल्याण समाजको ‘सेवा घर’लाई सहयोग गरेका छन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन तथा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनको जन्मदिनको अवसरमा सांसद लम्सालले सेवा घरलाई सहयोग गरेका हुन् ।

उक्त अवसरमा सरसफाइका विभिन्न सामाग्री र खाना पकाउने भाँडाकुँडाहरू सहयोग गरिएको थियो । सेवा घरलाई सामाग्री हस्तान्तरण गर्दै सांसद लम्सालले मानव कल्याण समाजको उद्देश्य र कम्युनिस्ट पार्टीको उद्देश्यमा समान रहेको बताए । ‘कुनै पनि मान्छेको लागि गाँस, बास र कपासको व्यवस्था गर्ने कार्य राज्यको दायित्व भित्र पर्दछ,’उनले भने, ‘यो संस्थाले कर्मलाई धर्म ठानेर धेरै राम्रो गरेको छ । राज्यले गर्न नसकेकोले समाजको चेतनशील मान्छेहरुले समाजको लागि यति धेरै राम्रो काम गरेको छ ।’

समाजको हरेक क्षेत्रको विकासका लागि सहयोग र पहल गर्दै आएका लम्सालले आगामी दिनमा उक्त सेवा घरको लागि पनि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । सडकमा अलपत्र अवस्थामा रहेका मानिसहरूलाई उद्धार गर्दै सेवा दिँदै आएको सो घरमा लम्साल सहित युवा सङ्घका केन्द्रीय सचिव भेषराज शाह, जिल्ला अध्यक्ष प्रताप लामा, अनेरास्ववियूका अध्यक्ष वदन भण्डारी लगायतका नेताहरू विभिन्न सामाग्रीहरू लिएर पुगेका थिए ।

 


तपाईको प्रतिक्रिया