काभ्रे (धुलिखेल) – जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकाको बहुप्रतिक्षित काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको खानेपानीको परिक्षण सुरु भएको छ । करिब एक महिनाअघि पनौती शारदादेबीस्थानमा रहेको आयोजनाको मूख्य ट्याङ्कीमा खानेपानी खसालिएपछि विभिन्न स्थानमा रहेका खानेपानीका रिर्जभवायर ट्याङकीमा पानी खसाल्ने काम अघि बढाइएको हो ।

पनौती–९ शारदादेवीस्थानमा रहेको ट्याङ्की, पनौतीको कपालकोट, बनेपाको धनेश्वर, बनेपाको शशीपानी ट्याङकीमा पानी खसालिएको आयोजनाका आयोजना व्यवस्थापक प्रतिज्ञा मानन्धरले जानकारी दिइन् । उनका अनुसार पनौतीको शारदादेवीस्थानमा रहेको खानेपानीको मुख्य प्रशोधन केन्द्रमा खानेपानी फिल्टरको लागि फिल्डर मिडिया जडानको काम भईरहेको छ ।

यस्तै बाँसघारी, कुप्सडाँडा, बनेपाको ठकुरीगाउँ, पनौतीको चामखर र सल्लेमा रहेको खानेपानीको ट्याङकीमा पानी परिक्षणको काम भईरहेको छ । खानेपानी आयोजनाका लागि सन् २०१० अक्टोवर २६ मा नेपाल सरकार र एशियाली विकास बैङ्कबीच ऋण सम्झौता भएको थियो ।

व्यवस्थापक मानन्धरका अनुसार आयोजनाको लागि लाग्ने कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषवाट ऋण लिइएको छ । बाँकी १५ प्रतिशत रकम तीनवटै नगरपालिका र स्थानीय उपभोक्ताहरुवाट व्यहोरिने बताईएको छ । उक्त आयोजनाबाट सन् २०२४ सम्म बनेपा, धुलिखेल र पनौती नगरपालिका एक लाख ४० हजार जनासङ्ख्या लाभान्वित हुनेछन् ।


तपाईको प्रतिक्रिया