काभ्रे (धुलिखेल) – घर चोरी गरी फरार रहेका ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धुलिखेल नगरपालिका वडा नं ७ स्थित सुर्य प्रसाद देवजुको घरमा डेरा गरी बस्ने जिल्ला समन्वय समितिको कर्मचारी होम बहादुर राउत र रन्जन रेग्मीको कोठा चोरी गरी फरार रहेका ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार फाल्गुण १८ गते अपरीचित व्यक्तिहरुले घरको कोठामा लगाएको ताल्चा फोरी चोरी गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ । उक्त घटनाको जानकारी प्राप्त भए लगत्तै प्रहरीले अनुसन्धान टोली खटाइ फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार अनुसन्धान टोलीले घटनास्थलमा रहेको भौतिक सबुत प्रमाण लगाएत उपलब्ध प्राविधिक उपकरणहरु, घटनास्थल र सिसि टिभि फुटेज, उनीहरुको हुलिया र प्रयोग गरिएको मोटरसाईकलको आधारमा निरन्तर खोज तलास गर्ने क्रममा फक्राउ गरिएको हो ।

चोरी गरी फरार रहेकामध्ये सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ४ का २७ वर्षीय हेम बहादुर तामाङलाई महानगरीय प्रहरी बृत बौद्धको वडा एरियामा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै अर्का प्रतिवादी ईन्द्रावती गाउँपालिका वडा नं ४ का कर्म तामाङलाई चैत्र १२ गते भक्तपुर जिल्लाको मध्यपूर ठिमी गठ्ठाघरबाट लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा अर्का प्रतिवादी ईन्द्रावती गाउँपालिका वडा नं ५ का बेल बहादुर नकर्मीलाई चैत्र १६ गते सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं.०४ स्थित नवलपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।

उक्त घटनामा संलग्न फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया